+
+
Shares

भारतीय सत्ताविरुद्ध सञ्जालबाट सडकमा पुगेका ‘कक्रोच’

‘जहाँ सिस्टम सडेको छ, त्यहाँ सडेका कुराहरू खान कक्रोच आउनैपर्छ । हामी त्यही सडेको सिस्टममा भएका सडेगलेका कुरा खान आएका हौँ ।’

कञ्चन कौशल काफ्ले कञ्चन, कौशल काफ्ले
२०८३ जेठ २३ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेरोजगार युवालाई ‘कक्रोच’ भनिएपछि सुरु भएको कक्रोच जनता पार्टीले भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेको छ।
  • अमेरिकाबाट फर्किएका संस्थापक अभिजित दीपकेको नेतृत्वमा नयाँ दिल्लीको जन्तरमन्तरमा भएको आन्दोलनमा हजारौं विद्यार्थी र युवाहरू सहभागी भएका छन्।
  • प्रश्नपत्र चुहावटविरुद्धको सो प्रदर्शनलाई अभियन्ता सोनाम वाङचुक, अभिनेता प्रकाश राज र विभिन्न राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्।

२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) को सुरुवात एउटा व्यंग्यबाट भएको हो ।

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाइका दौरान बेरोजगार युवाहरूलाई ‘कक्रोच’ तथा ‘परजीवी’ जस्ता भन्दै टिप्पणी गरेका थिए ।

त्यसको सांकेतिक विरोधस्वरूप अमेरिकामा अध्ययनरत् रहेका अभिजित दीपकेले मे १६ मा ‘एक्स’मा एउटा गुगल फर्म पोस्ट गरे, जसको नाम दिए– कक्रोच जनता पार्टी (सीजेपी) । उनले त्यो नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(बीजेपी) जस्तै सुनिनेगरी बनाएका थिए ।

गुगल फर्ममार्फत उनले सीजेपीमा आबद्ध हुन चाहने युवाका लागि आह्वान गरेका थिए । जुन प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणी आएको दोस्रो दिन मात्रै थियो ।

प्रधानन्यायाधीश सूर्यकान्त

दीपकेको आह्वान एकाएक वनमा डढेलो फैलिएजस्तै भयो, चार दिनभित्रै सीजेपीका एक लाख ६० हजारभन्दा बढी सदस्य र इन्स्टाग्राममा २० लाख फलोअर्स भए । सामान्य परिहासमा सुरु गरिएको सामाजिक सञ्जालको सीजेपी  अभियानले विस्तारै प्रतिरोधको रूप लिनथाल्यो ।

अमेरिकामा अध्ययन गरिरहेका दीपकेले यसै हप्ता भारत फर्कने घोषणा गरे । यहीबेला भारतमा ‘नीट’ परीक्षाको पेपर लिक भएको घटना चर्को रूपमा उठिरहेको थियो । सीजेपीले त्यही प्रशंगलाई आधार बनाएर सामाजिक सञ्जालबाट सडकमा उत्रिने घोषणा गर्‍यो । केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दीपके अमेरिकाबाट स्वदेश फर्किएर सडकमा उत्रिने घोषणा गरे । उनले सडक प्रदर्शनको दिन जुन ६(आज) लाई तय गरेका थिए ।

उता जुन ५(हिजो) सम्म शिक्षा मन्त्री प्रधानले राजीनामा नदिए लद्दाखका शिक्षा तथा वातावरण अभियन्ता सोनाम वाङचुकले समेत सीजेपीको प्रदर्शनमा सहभागी हुने घोषणा गरे । तर, शिक्षा मन्त्री प्रधानले राजीनामा दिए ।

पूर्वघोषणा अनुसार आज बिहान साढे सात बजे दीपके नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा दिपके ओर्लिए । उनका हातमा बाबासाहेब भीम राव अम्बेडकरको आत्मकथाको किताब थियो । अम्बेडकर भारतीय संविधान निर्माता हुन् ।

दीपकेले उक्त पुस्तक मिडियासामु उचाले । दिल्ली विमानस्थलको व्यस्त र होहल्लापूर्ण वातावरणकै बीच दीपकेलाई स्वागत गर्दा असामान्य दृश्य देखिए ।

अभिजित दीपके

ठीक त्यतिबेला वरिपरि जम्मा भएका पापाराजीले उनलाई ‘काला हिट’ भन्दै जिस्काइरहेका थिए ।

‘काला हिट’ गोदरेज कम्पनीले लामखुट्टे, झिँगा र अन्य उड्ने कीराहरूलाई तुरुन्तै मार्नका लागि विशेष रूपमा तयार पारेको ‘एरोसोल इन्सेक्टिसाइड’ हो । यही सन्दर्भलाई जोडेर पापाराजीहरूले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेलाई ‘काला हिट’ उपनाम दिएका हुन् ।

त्यसपछि उनी प्रदर्शनको अनुमति माग्न सिधै संसद्मार्ग प्रहरी थानामा गए । जाँदैगर्दा उनलाई भारत सरकारले अनुमति दिनेमा शंका थियो । तर, उनको आशंकाबीच प्रहरीले अनुमति दियो । र, प्रदर्शनकारी जन्तरमन्तरमा जम्मा हुनथाले ।

यता विमानस्थलमा दीपके पुग्नुअगावै राजधानीभर सुरक्षा कडा पारिसकिएको थियो । सबैतिर सुरक्षाकर्मी देखिन्थे । जन्तर–मन्तरको वरिपरि ब्यारिकेडहरू राखिएका थिए । एक हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ थिए ।

Youth-led satire: Cockroach Janta Party protests exam system failures

प्रदर्शनस्थलमा जति धेरै सुरक्षाकर्मी थिए, उति नै सक्रियता दीपकेको घरमा पनि देखाइएको थियो । महाराष्ट्रको छत्रपति सम्भाजीनगरमा रहेको दीपकेको घरमा पनि निगरानी कडा पारिएको थियो । सँगसँगै जिल्ला प्रहरी उप–आयुक्त पंकज अतुलकरले थप जनशक्ति आवश्यक परे खटाउन आफूहरू अलर्टमा रहेको बताइरहेका थिए । ‘यदि थप जनशक्ति चाहियो भने समीक्षापछि गर्नेछौँ,’ सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै उनले बोलेका थिए ।

दीपकेको घरमा प्रहरी खटाइँदा उनका आमाबुबा भने बाहिर थिए । यसलाई लिएर प्रदर्शनकारीबीच विभिन्न शंका–उपशंका जागिरहेको थियो । आफू एयरपोर्टमा झर्नासाथ पक्राउ पर्नसक्ने भन्दै दीपकेले दिएको अभिव्यक्तिका कारण पनि यस्ता सन्देहहरूले ठाउँ पाइरहेका थिए ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधान

यद्यपि, त्यस्तो केही भएन । जन्तरमन्तरमा बिहानदेखि नै प्रदर्शनकारीहरू भेला भए । त्रिपुराबाट माधवी विश्वास त बिहान ६ बजे नै पुगिसकेकी थिइन् । त्रिपुरा भारतको दूर क्षेत्रमा पर्छ । त्यसैले आफूसँग पैसा नभएपनि चन्दा सङ्कलन गरेरै उनी दिल्ली आइपुगेकी थिइन् ।

‘मेरा पनि त्रिपुरामा समर्थकहरू हुनुहुन्छ । तर, त्यहाँबाट हामी सबैजना आउन आर्थिक रूपमा कठिन भएकाले पनि सकिँदैनथ्यो । त्यसैले सबैले सहयोग गरेर मलाई नै पठाउनुभयो,’ उनले बीबीसी हिन्दीलाई भनेकी छिन् ।

विश्वास आन्दोलनमा आउनुको मुख्य कारण थियो– भारतको शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने एजेन्डा । किनकि उनको छोराले अर्को वर्ष ‘नीट’ परीक्षा दिँदैछन् । र, यो आन्दोलन त्यस्तै परीक्षाहरूको पारदर्शितामाथि उठेको असन्तोष थियो ।

यसरी शनिबारको प्रदर्शनमा १६ वर्षका स्कुले विद्यार्थीहरू पनि थिए, साथमा अभिभावक पनि । प्रदर्शनकारीहरू धेरैले कक्रोचको कागजी मास्क लगाएका थिए । उनीहरूको हातमा फूल थियो । र, त्यही आन्दोलनमा जोडिन बिहान ११ बजेतिर पुगे– संयोजक दीपके ।

दीपकेलाई देखेपछि भिड झनै उत्साहित भयो । भिडलाई सम्बोधन गर्दै उनले एक महिनादेखि शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आएको कुरा बताए । प्रधानलाई ‘निर्लज्ज’को संज्ञा दिँदै माग सम्बोधन गर्नुको साटो सीजेपी अकाउन्ट ह्याक गर्ने र पोस्ट हटाउन लागेको आरोप लगाए ।

‘तपाईंहरू हाम्रा पोस्ट मेट्न सक्नुहोला, तर हामीलाई यो ठाउँबाट नामेट पार्न सक्नुहुन्न । यो देशका युवाहरू बिकेका छैनन्, छात्र/छात्राहरू बिकेका छैनन्,’ सम्बोधनका क्रममा उनले भने ।

दीपकेले भाषणमा एउटा व्यक्तिगत कुरा पनि साझा गरे । उनलाई दिल्ली विमानस्थलमा फ्लाइट अवतरण हुनुअगावै यो आफ्नो स्वतन्त्रताको अन्तिम क्षण हुनसक्ने लागेको रहेछ । ‘म यसका लागि आफ्नो स्वतन्त्रता बलिदान गर्न पूर्ण रूपमा तयार थिएँ,’ उनले भने ।

दिउँसो एक बजेतिर पर्यावरण अभियन्ता वाङचुक पनि दिल्ली विमानस्थलबाट जन्तर–मन्तरतिर लागे । करिब एक घण्टापछि हातमा गुलाफको फूल लिएर उनी प्रदर्शनकस्थल पुगे । दीपकेले प्रदर्शनकारीहरूलाई शान्तिको प्रतीकस्वरूप फूल बोक्न अपिल गरेका कारण वाङचुकले पनि त्यसको पालना गरेका थिए ।

भारतीय सत्ताले आन्दोलन दबाउन जेपनि गर्नसक्ने आशंका गरेका वाङचुकले यसको विकल्प पनि नसोचेका होइनन् । प्रदर्शनको मिति नजिकिँदै गर्दा उनले भनेका थिए, ‘यदि दीपकेलाई पक्राउ गरियो भने म छ हप्ता अनसन बस्नेछु ।’

तर, दीपकेको झैँ उनको हकमा पनि त्यस्तो केही अप्रिय व्यवहार भएन ।

प्रदर्शनको क्रममा दिल्ली विश्वविद्यालयका ‘एसएफआई’का विद्यार्थी सिर्जनले पनि आफ्नो अनुभव सुनाए । उनका अनुसार, पहिलो पटक ‘सीयूईटी’ दिँदा अङ्ग्रेजी पेपरका लागि एक घण्टा ४५ मिनेटको ठाउँमा केवल १० मिनेट दिइएको थियो । यसले गर्दा राम्रो कलेजमा भर्ना हुन पाएनन् । परिवारले एक वर्ष ‘ड्रप अफोर्ड’ गरिदियो । यद्यपि, दोस्रोपटक परीक्षा दिँदा भने सफल भएका उनी हाल हंशराज कलेजमा छन् ।

‘तर धेरै परिवारले मैलेजस्तो त्यो एक वर्ष अफोर्ड गर्न सक्दैनन् । ती साथीहरूलाई दिल्ली विश्वविद्यालयमा भर्ना हुने मौका कहिल्यै मिल्दैन,’ उनले भनेका छन्, ‘यो सरकारको लापरबाही हो । शिक्षामन्त्रीले गरेको अन्याय हो ।’

त्यस्तै, बिहारबाट आएका एक प्रदर्शनकारीले भनेका छन्, ‘त्यहाँ कुनै पनि परीक्षा राम्रोसँग हुँदैनन् । यसको विरोधमा विद्यार्थी/शिक्षक सडकमा बसे पुलिसले पिट्छ । हामीलाई यस्तो गर्ने शिक्षामन्त्री लामो समयदेखि पदमै छन् । अब त अति भयो, उनले राजीनामा दिनैपर्छ ।’

प्रदर्शनमा ‘वी आस्क्ड फर मेक इन इन्डिया, यू गेभ अस लिक इन इन्डिया’ लेखिएको प्लेकार्ड बोकेका थिए । समयक्रममा आन्दोलनले राजनीतिक समर्थन पनि पाउन थाल्यो । सामाजिक सञ्जालमा मात्रै छाउँदा सांसदसमेतको समर्थन पाएको सीजेपीले सडकमा पनि साथ पायो । एनसीपी (एसपी) का महासचिवदेखि विधायक रोहित पवारले सीजेपीको आन्दोलनलाई समर्थन घोषणा गरे ।

रोहित पवारले भने, ‘युवाहरूको अभूतपूर्व सहभागिताले देशका युवाहरूमा सरकारका नीतिहरू र प्रमुख परीक्षाहरूको कुव्यवस्थाप्रति सल्किरहेको असन्तोष देखाउँछ ।’

त्यस्तै, शिवसेनाका प्रमुख उद्धव ठाकरेले पनि सीजेपीको आन्दोलनलाई पूर्ण समर्थन जनाएका छन् । शिवसेना नेता सञ्जय राउतले ‘एक्स’ मार्फत ठाकरेको आधिकारिक वक्तव्य सार्वजनिक गर्दै युवाहरूको यो विद्रोहलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

‘दिल्लीको जन्तर मन्तरमा ‘कक्रोच’हरूको आन्दोलन सुरु भएको छ, जसलाई हामी देशको भाग्यविधाता र भविष्य भन्छौँ,’ ठाकरेले भनेका छन्, ‘तिनै हजारौँ युवाहरू आफ्नो पीडा र भविष्यको चिन्ता बोकेर यो प्रचण्ड गर्मीमा सडकमा उत्रिएका छन् ।’

आन्दोलनमै उत्रिएका वाङचुक मात्र नभई अभिनेता प्रकाश राज र प्रसिद्ध युट्युबर ध्रुव राठीजस्ता स्थापित व्यक्तित्वहरूले पनि प्रदर्शनमा ऐकेबद्धता जनाएका छन् ।

Actor Prakash Raj predicts 120 seats for Congress in Karnataka
अभिनेता प्रकाश राज

आन्दोलन सुरु हुनुअघि ध्रुव राठीले पनि प्रदर्शनकारीहरूलाई सुरक्षित रहन विभिन्न सुझाव दिएका थिए । उनै ध्रुवले यसअघि पनि सीजेपीसँग शिक्षामन्त्रीको राजीनामा माग्न आग्रह गरेका थिए, जुन शनिबारको प्रदर्शनकै मुल मुद्दा बन्यो ।

यसरी सडक आन्दोलनमै उत्रिएको सीजेपीसँग २२ मिलियन मानिस सोसल मिडियामा जोडिएका छन् । तर सोसल मिडियाको संख्या र सडकको उपस्थितिबीच खाडल छ । यो प्रश्न जन्तर मन्तरमा पनि उठ्यो । आन्दोलनमा आएका साइकोलोजी ग्राजुएट आदित्य अब यो आन्दोलन निर्णायक हुनुपर्ने बताउँछन् ।

युट्युबर ध्रुव राठी

उनले ललनटपसँग भनेका, ‘सोसल मिडियामा ट्वीट गर्दै आएका हौँ– बायकट दिस एन्ड द्याट भन्दै । तर ग्राउन्डमा वास्तवमा के हुन्छ, आज त्यो हेर्न आएका हौँ । अब यो आन्दोलन निर्णायक तहमा पुग्नुपर्छ ।’

तर, त्रिपुरा, बिहार, हरियाणा, मुम्बईबाट आएका मानिसहरूको उपस्थितिले यो आन्दोलन सञ्जालबाट सडकमा पोखिन थालेको संकेत देखाइसकेको छ । आदित्यले यसैलाई संकेत गर्दै अब आन्दोलनबाट परिवर्तन सुनिश्चित गराउनेपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।

आधारभूत तहमा हेर्दा पनि, युवाहरूको माग जम्मा एकथान मन्त्रीको राजीनामामा मात्र सीमित छैन । त्यसैले आन्दोलनमा युवादेखि वृद्धसम्म आएका थिए । जन्तर–मन्तरमा एक वृद्ध प्रदर्शनकारीले कक्रोचको परिभाषा दिँदै आक्रोश पोखेका छन्, ‘जहाँ सिस्टम सडेको छ, त्यहाँ सडेका कुराहरू खान कक्रोच आउनैपर्छ । हामी त्यही सडेको सिस्टममा भएका सडेगलेका कुरा खान आएका हौँ ।’

यसले यो आन्दोलन नवयुवाहरूमा मात्र सीमित नरहेको देखाउँछ । सरकारसँग असन्तुष्ट एक ८० वर्षीय ज्येष्ठ नागरिक पनि सहभागी भएपछि एकाएक उनी सामाजिक सञ्जालमा चर्चित पनि बने । दीपकेको नेतृत्वमा युवा प्रदर्शनकारीहरू भेला भइरहेका बेला ती ज्येष्ठ नगारिक पनि युवाहरूकै माझमा उभिएको भिडियो र तस्वीरहरू ‘एक्स’ मा भाइरल भइरहेका छन् ।

यसरी भारतमा असन्तुष्टि बढ्नुको पछाडि लामो पृष्ठभूमि छ । १२ वर्षमा भारतमा झन्डै ९४ हजार सरकारी विद्यालय बन्द भए । निजी विद्यालयको शुल्क बढ्दै गएको अवस्था छ । धर्मेन्द्र प्रधान शिक्षामन्त्री रहँदा ७० भन्दा बढी प्रश्नपत्र लिक भइसकेका छन् । नीट, एसएससी, जीडी, यूपीएसआई, यूपी लेखपाल, सीबीएसई, सीयूईटी जस्ता परीक्षा प्रणालीमाथि नै प्रश्न उठिरहेका छन् ।

यसबाहेक जन्तर–मन्तरमा पोखिएका नाराहरूले भारतमा देखिने जातीय राजनीतिमाथि पनि प्रहार गरेको छ । सीजेपी संस्थापक दीपकेले भारतको वर्तमान राजनीति ‘हिन्दू–मुस्लिम फुटाऊ र राज गर’मा आधारित रहेको कुरातर्फ संकेत गरेका थिए । प्रदर्शनकै क्रममा पनि ‘हिन्दु–मुस्लिम राजनीति बन्द गर’ जस्ता नारा सुनिएका थिए ।

हिन्दू–मुस्लिम र मन्दिर–मस्जिदको विवादमा नपरी भविष्यमुखी राजनीति हुनुपर्ने मनस्थिति युवाहरूमा देखियो । धार्मिक विभाजनबाट थकित युवापुस्ता अब वास्तविक मुद्दाहरूमा प्रवेश हुन चाहेको स्पष्ट संकेत यसले गरेको छ ।

यसरी विभिन्न विषयमा असन्तुष्टि पोख्दै गर्दा आन्दोलन लगभग शान्तिपूर्ण नै थियो । बीचमा एकपटक थोरै तनाव पनि भएको थियो । प्रदर्शनकारी र विपक्षीबीच झन्डै झडपको स्थिति बनेपछि सीजेपी प्रदर्शनकारीहरूविरुद्ध नारा लगाइरहेका केही व्यक्तिहरूलाई प्रहरीले हिरासतमै लिनुपर्‍यो ।

दुई समूहबीच सम्भावित टकरावलाई रोक्न ६ जनालाई नियन्त्रणमा लिएपछि प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रह्यो ।

तर, प्रदर्शन भड्किए तनाव हुनसक्ने डर संयोजक दीपकेमा देखिएको थियो । त्यसैले उनले बारम्बार आफ्नै समर्थकहरूलाई भनिरहेका थिए, ‘आफ्नो मोबाइलले रेकर्ड गरिरहनुस्, जसले गर्दा कसैले झूटो आरोप लगाउन नपाओस् ।’

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?