News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।
- सम्मेलनले बाल तथा युवा साहित्यलाई प्राथमिकता दिँदै नौबुँदे कोलोराडो घोषणापत्र जारी गर्नुका साथै ऐतिहासिक रूपमा एक सय पुस्तक विमोचन गरेको छ ।
- विभिन्न देशका चर्चित साहित्यकार र पत्रकार सहभागी सम्मेलनमा पहिलोपटक एक सय चालिसभन्दा बढी स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।
अमेरिकामा पहिलोपटक नेपाली साहित्यका विविध आयामबारे खुला छलफल, बहस र चर्चा भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा तीन दिने सम्मेलन सम्पन्न भयो ।
२३, २४, २५ मे २०२६ मा भएको सम्मेलनमा नेपाली साहित्यका चर्चित अनुहार देखिए । डा.नवराज लम्साल, डा.ज्याकलिन केरबेक, सुधीर शर्मा, निलम कार्की निहारिका, संगीता स्वेच्छा, होमनाथ सुवेदी, बसन्त बस्नेत, डा. ज्ञानेन्द्र गदाल, बबिता बस्नेत, टीकाराम यात्री, महेश पौड्याल, पुरु सुवेदी, नन्दकृष्ण जोशी, तारा अधिकारी लगायत ।
साहित्यकार, पत्रकार र लेखकबीचको त्रिकोणात्मक व्यक्तित्वहरूको साझा उद्देश्य थियो, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली साहित्यको वृहत्तर प्रवर्द्धन गर्ने । र, त्यसका लागि सशक्त कार्यक्रम बन्यो, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ।
आयोजक संस्थाका लागि यो नवौँ सम्मेलन हो, तर बदलिदो विश्व परिवेशको सन्दर्भअनुसार व्यवस्थित मञ्च, लोकप्रिय लेखक, वजनदार वक्ता र वर्तमान साहित्यका लागि नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनको प्रस्थान बिन्दु नै बन्यो । जसको केन्द्रमा रहे, पदम विश्वकर्मा ।
धेरैजसो साहित्यकार, पत्रकार र लेखकसँग साझै सम्पर्क गरेर उनले सम्मेलनमा सहभागिताका लागि आह्वान गरेका थिए । अनेसास बोर्ड अफ ट्रष्टीका सभापतिसमेत रहेका विश्वकर्माले अनेसासको इतिहासमा दुईपटक अध्यक्ष बनेर इतिहास पनि लेखाएका छन् ।
उनले विदेशमा जुर्मुराउँदो नेपाली साहित्यलाई वृहत्तर बनाउने, विभिन्न देशमा फैलाउने, युवा साहित्यकारलाई प्रोत्साहन गर्ने काम गरिरहेका छन् । निरन्तर नेपाली साहित्यकारमार्फत अन्तर्राष्ट्रिय मञ्चमा रचना, सिर्जना र श्रष्टाहरूको सहभागिता बढाइरहेका छन् । यही योगदानका कारण विश्वकर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानले एक लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार २०८० बाट सम्मान पनि गरेको छ । अहिलेसम्म चार कृति प्रकाशित गरेका विश्वकर्मा ‘पाताल’, ‘तमसुक’, ‘क्वारेन्टाइन’ उपन्यासका लेखक हुन् ।

विश्वकर्माको 10 वर्ष पहिलेदेखि नै अमेरिकामा एउटा भव्य सम्मेलन आयोजना गर्ने धोको थियो । वर्षौदेखि सोचिरहेको र कल्पिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौँ संस्करणको रुपरेखा कोलोराडोमा उतारे । अमेरिका, एसिया, युरोप, अष्ट्रेलियाका विभिन्न सम्मेलन हेरेका उनले कोलोराडो सम्मेलन नेपाली साहित्यकर्मी र सहभागीले सँधै सम्झनामा राखिरहने एउटा विशेष कार्यक्रम बनाए ।
यो सजिलो थिएन । जति चुनौतिपूर्ण थियो, त्यत्तिकै आवश्यकता पनि । विदेशमा रहेका नेपालीहरूमध्ये कतिले गरे, कसरी गरे, त्यसको हिसाबकिताब त्यति लामो थिएन । अब आफैँले किन नगर्ने ? अहिले नै किन नगर्ने ? यही प्रश्नको हुटहुटीबाट उनले नेपालकै झल्को दिने आफ्नै परिवेश र आँगन कोलोराडोमा नेपाली लेखक, साहित्यकार तथा पत्रकारका लागि एउटा भव्य साहित्यिक मञ्च स्थापित गरे ।
यसको सुरुवात पहिल्यै भयो, तर सार्थकता बल्ल पायो । यसका लागि महिनौँदेखि विश्वकर्मासहित अनेसासका पदाधिकारीहरूको दौडधुप चल्यो । नेपाल र अमेरिकासँगै विश्वभरका लेखक तथा साहित्यकारसँग तारन्तार वार्तालाप चल्यो । एकातिर अमेरिकामा नयाँ आप्रवासन नीति अनि अर्कातिर विश्वभर रहेका नेपाली साहित्यकार जोड्ने हुटहुटी ।
सम्मेलन जति भव्य थियो, त्यो भन्दा ठूला थिए, आशंका, अमेरिका यात्राका अत्यासलाग्ने समाचार, आर्थिक व्यवस्थापनको समस्या र अन्तर्राष्ट्रिय नीति नियमको परिपालना । अन्ततः आशंकाहरू हराए, विश्वासले अड्डा जमायो । अनि सयौँ देशका नेपाली साहित्यकारलाई कोलोराडो भित्र्यायो ।
दर्जन सेसनमा सयौँ वक्ता तथा श्रष्टाहरूले आफ्ना विचार राखे । रचना वाचन गरे । साहित्यिक सवालहरू ब्यूँताए । र, एउटा अविष्मरणीय सम्मेलनका रूपमा सम्झना साटे । सम्मेलन सकिएपछि अनेसासका पदाधिकारी फूर्सदिला बनेका छन् । सबै जना आफ्नो नियमित कर्ममा फर्केका छन् । केही नयाँ नेतृत्वका लागि चुनावमै होमिएका छन् । यस्तैमा अनेसासको सर्वोच्च निकाय बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा कोलोराडोकै क्वीन्सीमा भेटिए । कफीको चुस्की लिँदै भेटमा उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका भित्री पर्दा उघारे । जहाँ चिन्ता, चाँसो, चुनौति, चर्चा र चाहनाको मिश्रण भेटियो।
प्रस्तुत छः, पछिल्लो समय अमेरिकाको कोलोराडोमै बस्ने पत्रकार विष्णु विवेक र सुधिर भण्डारीले उनै पदम विश्वकर्मासँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
आयोजक संस्था र परिकल्पना कारका रूपमा कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कस्तो रह्यो ?
हामीले जुन अपेक्षा, योजना र व्यवस्थापनअनुसार तयारी गरेका थियौँ, त्योअनुसार नेपालबाट पनि महत्वपूर्ण व्यक्ति, वक्ता, साहित्यकार र लेखकहरूको उत्साहजनक सहभागिताले सम्मेलन भव्य रूपमा सम्पन्न भएको प्रतिक्रिया पाएका छौँ । केही चुनौति अवश्य थियो, सबैको सहभागिता हुन्छ कि हुँदैन ? हामीले बोलाएका लेखक, पत्रकार र साहित्यकार आउँछन् कि आउँदैनन् ? एकातिर अमेरिका–इरान युद्ध अनि अर्कातिर अमेरिकाको नयाँ आप्रवासन नीति तथा कडाइ । यही कारण महंगो ‘एयर फेयर’, झन्झटिलो अमेरिका यात्रा लगायतका कारणले पनि सम्मेलन चुनौतिपूर्ण बनेको थियो । तर नेपालसँगै १६० देशका नेपाली लेखक, साहित्यकार र श्रष्टाहरूले उत्साहपूर्वक सहभागिता जनाउनुभयो । विभिन्न सेसनहरू भए । अंग्रेजी भाषाका सेसनहरू पनि चलाइयो । समग्रमा हामीले सोचेभन्दा भव्य र उत्साहजनक सहभागिताले सम्मेलन सम्पन्न भयो ।
सम्मेलनमा सहभागी भएका वक्ता, मोडरेटर र अतिथिहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?
सम्मेलनको मुख्य आकर्षण भनेकै कार्यक्रमका वक्ताहरू हुनुहुन्थ्यो । जो यसअघिका कुनै पनि सम्मेलनमा यति ठूलो संख्यामा आउनु भएको थिएन । धेरै राम्रा र उत्कृष्ट वक्ताहरूको गरिमामय उपस्थिति भयो । मैले यो छोटो समयमा सबैको नाम लिन सकिन तर हामीले बोलाएका धेरै जना वक्ता र अतिथिहरू आउनुभयो । केही आउन सक्नुभएन । सम्मेलन सकिएपछि उहाँहरूले नै सम्मेलन भव्य भयो, अब यसलाई हरेक वर्ष निरन्तरता दिनुपर्छ भन्नुभएको छ । यो हाम्रो संस्था अनेसासका सबै सदस्यका लागि खुसी र उपलब्धिको विषय हो ।
अमेरिका–इरान युद्धले हवाइ भाडा महंगो थियो । ट्रम्प प्रशासनका कारण अमेरिका यात्रा निकै कडा र झन्झटिलो बन्यो । यसकारण सम्मेलन खर्चिलो पनि हुने नै भयो । आर्थिक पाटो र व्यवस्थापन चाँहि कसरी मिलाउनुभयो ?
यो सम्मेलन गएको जुलाई महिनामा कोलोराडोमा आयोजना गर्ने निर्णय गरेका हौँ । अनि गएको सेप्टेम्बर महिनादेखि औपचारिक तयारी सुरु गरेका थियौँ । सुरुवाती चरणमा हामीले अनेसासकै केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी र च्याप्टरहरूबाट तयारी तीव्र रुपमा अगाडि बढायौँ । सर्वज्ञ वाग्लेको अध्यक्षतामा रहेको अनेसास केन्द्रीय कार्यसमिति र किरण अधिकारी नेतृत्वको अनेसास कोलोराडो च्याप्टरले यो सम्मेलन व्यवस्थापन र समापनमा विशेष जिम्मेवारी पूरा गरेको छ ।

त्यसपछि हामीले सम्मेलनमा वक्ता, मोडरेटर तथा अतिथिका रुपमा चर्चित सबैजसो लेखक तथा साहित्यकारहरूलाई औपचारिक रुपमा निमन्त्रणा पठायौँ । उहाँहरूमध्ये धेरैको भिसा प्रक्रिया सहज भएन । जसको भिसा प्रक्रिया सहज बन्यो, उहाँहरूले आउने पक्कापक्की गरेपछि सम्मेलनमा चासो दिएर सहभागिता जनाउने साहित्यकारहरूको संख्या बढ्यो । इरानसँगको युद्ध, त्यसले निम्त्याएको हवाई यात्राको चुनौति र महंगो टिकट अनि अमेरिका यात्राका समस्याले सुरुवातमा अलिकति तनाव दिएको थियो । तर अन्तिममा सबै जना आइदिनुभयो । कार्यक्रममा उत्साहजनक सहभागिता जनाउनुभयो । यसले हामी आयोजकको चिन्ता, तनाव र व्यवस्थापनको दौडधुप उपलब्धिमा परिणत भयो ।
यो सम्मेलन विगतका सम्मेलनभन्दा के कारणले पृथक रह्यो ?
मेरो सम्झनामा रहेसम्म मैले अनेसासको तेस्रो सम्मेलनदेखि नियमित सहभागिता जनाउँदै आएको हुँ । हरेक दुई वर्षमा गरिने सम्मेलन भव्य हुन्छ । र, विभिन्न च्याप्टरले महिला सम्मेलन र च्याप्टर सम्मेलन पनि गर्दै आएका छन् । तर तीभन्दा यो सम्मेलन धेरै हदसम्म पृथक र बहुआयामिक रहन पुग्यो । जहाँ पहिलोपटक १६० भन्दा बढी देशमा रहेका नेपाली साहित्यकारले सहभागिता जनाउनुभयो ।
यो सम्मेलनमा अंग्रेजी भाषाका मात्रै तीन वटा सेसनहरू सञ्चालन भए । यो पहिलोपटक सम्भव भएको हो । डा.ज्याकलिन केरबेकले ‘कि नोट स्पीकर’ का रूपमा विश्व साहित्यको वर्तमान अवस्था र नेपाली साहित्यका बारेमा आफ्नो धारणा राख्नुभयो । त्यसपछि उहाँले संगीता स्वेच्छासँग विश्व साहित्यका विविध आयामबारे आफ्ना लेखाइ र भोगाइ सुनाउनुभयो । अनेसासका सबै पूर्वअध्यक्षसँग छुट्टै सेसन भयो ।
यो आफैँमा एउटा इतिहासको वर्तमान विमर्श थियो । आकर्षक सेसनका रुपमा ‘आख्यानमा इतिहास र इतिहासमा आख्यान’ रह्यो । यो सेसनमा चर्चित लेखक, वक्ता तथा पत्रकारका रूपमा सुधीर शर्मा, नारायण श्रेष्ठ, निलम कार्की निहारिका र बसन्त बस्नेत हुनुहुन्थ्यो । यो धेरैले रुचाउनु भएका कारण रोचक सेसन पनि बन्यो ।
यस्तै नेपाली साहित्यमा ‘काव्यिक परम्परा र समकालीन अभिव्यक्ति’ सेसनमा डा. नवराज लम्साल, लालगोपाल सुवेदी, सुदीपभद्र खनाल, सन्ध्या पहारीसँग टीकाराम यात्रीले रोचक छलफल गर्नुभयो । यस्तै ‘नेपाली साहित्यमा महिलाहरूको संघर्षदेखि सशक्तिकरणसम्म’ सेसनमा उर्मिला निर्दोषी, भारती गौतम, रश्मि भट्ट, डा.पुष्पा शर्मा, तारा अधिकारी, लक्ष्मी श्रेष्ठ लगायतसँग बबिता बस्नेतले महत्वपूर्ण छलफल चलाउनुभयो । यस्तै नेपाली डायस्पोरामा मिडिया र पत्रकारको भूमिकाका विषयमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को विशेष अगुवाइमा दिनेश कार्कीले महत्वपूर्ण सेसन सहजीकरण गर्नुभयो ।
नेपाली साहित्यमा सिद्धान्त चिन्तन सेसनमा नारायण अधिकारी, पुरु सुवेदी, पशुपति घिमिरेबीच एउटा विशेष सेसन भयो । यी सेसनहरूसँगै पहिलोपटक यो सम्मेलनमा एक सय वटा पुस्तक विमोचन तथा सार्वजनिक गरियो । यो आफैँमा एउटा कीर्तिमान हो । उपलब्धि पनि हो ।
यो सम्मेलनमा पहिलोपटक १४० जनाभन्दा धेरैले आफ्ना रचना वाचन गर्नुभयो । वक्ताहरूको सहभागिता, नेपाली साहित्यको विधागत छलफल तथा बहस र पुस्तकहरूको विमोचन, चर्चा, परिचर्चा, लेखक तथा पाठकहरूको जमघटका हिसाबले यो सम्मेलन नेपाली डायस्पोराकै इतिहासमा सबैभन्दा ठूलो, व्यवस्थित र ऐतिहासिक हो ।
विगतमा अनेसासभित्रकै सदस्य, जिम्मेवार पदाधिकारीमा सीमित सम्मेलन यसपटक वृहत्तर भयो । समग्रमा कोलोराडो सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्यको डिपार्चर हो भन्न सकिन्छ । सम्मेलनमा सहभागी दुई जना मदन पुरस्कार विजेता डा.नवराज लम्साल र निलम कार्की निहारिकाले पनि यो सम्मेलनबाट नेपाली साहित्यको अन्तर्राष्ट्रिय यात्राले सद्भाव र सार्थकता पाएको अभिव्यक्ति दिनुभएको छ ।
अनेसासको नवौँ सम्मेलनले नौँ बुँदे कोलोराडो घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा मुख्य बुँदाहरू के–के छन् ? कसरी कार्यान्वयन गर्नुहुन्छ ?
अनेसासको नवौँ सम्मेलन । नौँ वटा सेसन । नौँ वटा पूर्वअध्यक्षहरूको सहभागिता । नौँ जना महिला साहित्यकारलाई नवरत्न पुरस्कार वितरण । र, नौँ बुँदे घोषणापत्र । यी सबै हाम्रा लागि फरक र ऐतिहासिक हुन् ।
हामीले विगतका सम्मेलनहरूका घोषणापत्र पनि अध्ययन र छलफल गर्दै आएका छौँ । त्यही अनुसार कार्यान्वयन गरिरहेका छौँ । अब यसपटक बाल साहित्य र युवा साहित्यकाहरूलाई बढी महत्व र प्राथमिकता दिएर घोषणापत्र जारी गरेका छौँ । बाल साहित्यका लागि पुरस्कार घोषणा गर्ने, संसारभरका बाल साहित्यकारका रचनाहरू आह्वान गर्ने, त्यसलाई प्रकाशित गर्ने र पुरस्कृत गर्ने योजना बनाएका छौँ ।
पछिल्लो समय युवा साहित्यकारको आगमन बढ्दो छ । धेरै युवा लेखकहरूले राम्रो पुस्तकहरू लेख्नु भएको छ । कति जनाले लेख्दै हुनुहुन्छ । उहाँहरूको लेखनलाई अझै परस्कृत गरेर पुस्तक प्रकाशित गर्न अनेसासले सहयोग गर्छ ।

पुस्तकको पाण्डुलिपी अध्ययन गरेर सम्पादन गर्न विज्ञ लेखक उपलब्ध गराउने, बजेट अभाव छ भने राम्रो लेखनलाई पुस्तककै रुपमा प्रकाशित गर्ने, उत्कृष्ट लेखिरहेका युवाहरूलाई विभिन्न मञ्च तथा साहित्यिक सम्मेलनहरूमा सहभागि गराउने योजना छ ।
अहिले संसारभर आधुनिक प्रविधि र युवा प्रतिभाहरूको समय भएकाले पनि हामी नेपाली साहित्यमा आएका युवाहरूलाई खुला हृदयले स्वागत गरेर विश्वका ठूला साहित्यिक मञ्चहरूमा उभ्याउने सहयोग गर्छौँ । अन्तर्राष्ट्रिय साहित्य, लेखन र संस्थाहरूसँग अझ धेरै सहकार्य गर्ने, नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसार गर्ने काममा अघि बढ्छौँ ।
महिला साहित्यकारहरूका लागि पनि विशेष पुरस्कार स्थापना र वितरण गर्न यसै वर्षबाट सुरु गरेका छौँ । हरेक वर्ष अनेसास दर्पण पुस्तक प्रकाशित गर्छौँ । र, सबैभन्दा महत्वपूर्ण कुरा नवौँ सम्मेलनजस्तै दशौँ सम्मेलन पनि भव्य, ऐतिहासिक र नेपाली साहित्यको इतिहासमा अहिलेसम्मकै उत्कृष्ट सम्मेलन गर्ने जिम्मेवारी छ । अनेसासको नयाँ नेतृत्व पनि आउने भएकाले दशौँ सम्मेलनमा घोषणापत्रमा लेखिएका धेरै कुरा पूरा हुन्छन् भन्ने आशा छ । जुन तपाई हामीसँगै विश्वभर रहेका नेपाली साहित्यका पारखीले देख्न पाउनुहुनेछ ।
सम्मेलन सफल पार्नका लागि संस्थागत सहकार्य पनि महत्वपूर्ण हुन्छ । कुन–कुन संस्थासँग कसरी सहकार्य गर्नुभयो ?
अनेसासमा तीन वटा निकाय छन् । सबैभन्दा माथि बोर्ड अफ ट्रष्टी छ । त्यसपछि केन्द्रीय कार्यसमिति र विभिन्न देशमा, देशभित्रका मुख्य सहरहरूमा च्याप्टरहरू छन् । यो सम्मेलन सफल पार्न तीन वटै निकायले उत्कृष्ट काम गरेका छन् ।
नवौँ सम्मेलनमा केन्द्रीय कार्यसमिति र कोलोराडो च्याप्टरले सबैभन्दा महत्वपूर्ण काम गरेपछि कार्यक्रम सफल भएको हो । यो सम्मेलनलाई सफल पार्न पाँच सदस्यीय उच्चस्तरीय विशेष टिम गठन भएको थियो । बोर्ड अफ ट्रष्टीबाट म आफैँ थिएँ । त्यसपछि अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, तारा अधिकारी र कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारी । केन्द्रीय कार्यसमितिले पाँच सदस्यीय यो उच्चस्तरीय टिमलाई विशेषाधिकार दिएको थियो । सोहीकारण पनि आवश्यक सम्पूर्ण निर्णयहरू विशेष टिमले गरेर सम्मेलन सफल पारेको हो ।
कोलोराडोमा सक्रिय रूपमा सम्मेलन व्यवस्थापन गर्न विभिन्न विभागहरू सम्हाल्न सम्मेलनका नौँ सारथीहरू भनेर नौँ जना संयोजक तोक्यौँ । जसको संयोजन च्याप्टरका अध्यक्ष किरण अधिकारीले गर्नुभयो । सम्मेलनका नौँ जना सारथीहरूले कोलोराडोभित्र र बाहिर रहेका धेरै जसो संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसँग सहयोग तथा सहभागिताका लागि सहकार्य अगाडि बढाउनुभयो ।
खासगरि एनआरएनए अमेरिका, नेजा, एएनए, बीडीए, रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल लगायत संस्थाहरूको भूमिका महत्वपूर्ण छ । कोलोराडोमै रहेका धेरै संघ संस्था, व्यवसायी, समाजसेवी, अग्रणी व्यक्तिहरूले पनि खुला हृद्यले सम्मेलन सफल पार्न आर्थिक, भौतिक, नैतिक र सांस्कृतिक सहयोग गर्नुभयो । नेपाल च्याप्टरका साथीहरूले पनि धेरै सहयोग गर्नुभयो ।
महत्वपूर्ण कुरा सबै च्याप्टरका साथीहरू आफ्नै सम्मेलन सम्झेर कोलोराडो आउनुभयो । तीन दिनसम्म बसेर, कोलोराडो घुमेर, कार्यक्रम व्यवस्थापन हेरेर, विभिन्न सेसनमा भाग लिएर उत्साहका साथ फर्किनुभयो । सम्मेलनमा आएका च्याप्टरका धेरै साथीहरूले यो कार्यक्रमलाई नमूना मानेर अझ भनौँ उदाहरण बनाएर अनुकरणीय सम्झेर यस्तै कार्यक्रमहरू आयोजना गर्न सक्छौँ भनेर भन्नुभएको छ ।
यो सम्मेलनले मुख्य के कुरा सिकायो ? अब दशौँ सम्मेलन कहाँ हुन्छ ?
हामीले विगतका सम्मेलन गर्दा केही अनुभवहरू थिए । त्यो अनुभवले पनि यो नवौँ सम्मेलन भव्य बनाउन सक्यौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्य सम्मेलनलाई एउटा उचाई दिन सफल भयौँ । वक्ता, विषय र साहित्य क्षेत्रका व्यक्तित्वलाई हामीले जुन सम्मान दिएर बोलायौँ । छलफल चलायौँ । लेखक, साहित्यकार र पत्रकारबीच जुन तहको जमघट बनेको छ । यो आफैँमा एउटा विशेष सहकार्य हो । यसलाई ऐतिहासिक कदमका रूपमा लिएका छौँ । अब यही स्तरको सम्मेलनलाई निरन्तरता दिन सकिन्छ कि सकिदैन भन्ने चिन्ता पनि छ । अनेसासको आगामी नेतृत्वलाई यसको विशेष जिम्मेवारीबोध हुन जरुरी छ ।
युरोप, अमेरिका र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय सम्मेलन गर्न सजिलो छैन । सम्मेलन गर्दा भिसाको समस्या, पाहुनाहरूको खर्चको समस्या, व्यवस्थापनको कुरादेखि सबैसँग उत्कृष्ट सहकार्य गरेर तालमेल मिलाउन धेरै चुनौति हुन्छ । हामीले यही सम्मेलन गर्दा पनि कति कमीकमजोरी भए । कति त्रुटि हुन गयो । धेरै राम्रो गर्न खोज्दा पनि कही न कही कमजोरी भयो होला ।

हामीले सकेको उत्कृष्ट व्यवस्थापन गर्ने कोसिस गर्यौं । तर सबै ठाउँमा सकिएन । अब यो सम्मेलनबाट सिकेको कुरा अर्को सम्मेलनमा लागू गर्छौ । अब दशौँ सम्मेलन यो भन्दा उत्कृष्ट गर्नुपर्छ भन्ने सन्देश गएको छ । तर यो केन्द्रीय कार्यसमितिले सम्मेलन सफल पारेर आफ्नो जिम्मेवारी पूरा गरेर बिदा हुँदैछ । अब हरेक दुई वर्षमा नयाँ नेतृत्व आउने भएकाले पनि अनेसासको जुलाई महिनामा हुने निर्वाचनबाट नेतृत्वमा जो आउनुहुन्छ, उहाँहरूले दशौँ सम्मेलन तय गर्नुहुन्छ । त्यसका लागि केही समय पर्खिनुपर्ला ।
अन्त्यमा, थप केही भन्नु छ ?
अनेसासको सदस्यदेखि अध्यक्ष भइसकेर पनि अहिले बोर्ड अफ ट्रष्टीको सभापति हुनुको नाताले कोलोराडोमा एउटा विशेष, भव्य र व्यवस्थित रुपमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने धोको वर्षौंदेखि थियो । त्यो पूरा भएको छ । कोलोराडोबासीकै नाताले त्यो सौभाग्य पूरा गर्ने अवसर पाउँदा खुसी लागेको छ ।
सम्मेलन आयोजना गर्न साथ सहयोग दिने सबै संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, आर्थिक सहयोग गर्ने व्यवसायी, समाजसेवीलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोगबिना यति भव्य सम्मेलन गर्न सम्भव थिएन । यो सम्मेलन आयोजना गर्न रातदिन नभनी खटिनुहुने कोलोराडोबासी अनेसासका केन्द्रीय महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी र कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारी लगायत विभिन्न विभागका संयोजक तथा साथीहरूलाई विशेष धन्यवाद ।
सम्मेलनमा सहभागी वक्ता, मोडरेटर, अतिथि र स्वयंसेवकहरूलाई हृद्यदेखि धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहभागिता, साथ र सहयोगले सम्मेलनलाई साच्चै उत्कृष्ट रूपमा सम्पन्न गर्न सहयोग गरेको छ । विभिन्न देशबाट हाम्रो निमन्त्रणा स्वीकार गरेर कलरफूल कोलोराडोमा आएर सम्मेलनमा सहभागी हुनु भएका सबै सहभागीप्रति आभारी छौँ ।
सम्मेलनको सुरुवातदेखि समापनसम्म नेपालका सबै मिडियामा प्राथमिकताका साथ समाचार सम्प्रेषण तथा प्रकाशित गर्नुहुने पत्रकार तथा मिडियाका साथीहरूप्रति कृतज्ञ छौँ । सम्मेलनका क्रममा केही मानवीय त्रुटि वा कमजोरी भए होलान्, त्यसप्रति माफी चाहन्छौँ । आगामी सम्मेलनमा अहिलेका कमजोरी सच्याउँदै अझै उत्कृष्ट र व्यवस्थित सम्मेलन गर्नेछौँ ।
प्रतिक्रिया 4