प्रिय प्रेमिका !
मन देखिको माया तिमीलाई
विषय त्यति गम्भीर त छैन तर पनि सोचनीय भने अवश्य छ । विश्वकप सुरु भइसकेको अवस्था छ प्रिय । र, तिमीलाई थाहा नै छ म कति क्रेजी छु फुटबलका लागि भनेर । त्यसमाथि मेस्सी र रोनाल्डोको यो अन्तिम विश्वकप हो भन्ने थाहा पाएपछि त म कति व्यग्र भएर यसको प्रतीक्षामा थिएँ त्यो मलाई मात्र थाहा छ ।
तिमीलाई मनमनै लागेको पनि होला– मैले कस्तो केटासँग माया गाँसेको रहेछु भनेर । कहिले एनपीएल भन्या छ, कहिले आईपीएल भन्या छ । क्रिकेट त छोडेन छोडेन हुँदाहुँदा अब फुटबल पनि नहेरी छोड्ने भएन भनेर ।
के गर्नु पियारी ! मानिसहरू जीवनलाई जोडाइ घटाइको भाउमा तौलिएर बहस गर्न मरिहत्ते गर्छन् तर हामी खेल प्रेमीहरू अलि पृथक छौं । खेलको हारजितमा रमाउछौं र कर्ममा ध्यान दिन्छौं ।
जाबो विश्वकप हुँदैमा भेट्न नहुने, बोल्नै नहुने कारण के रहेछ भनेर पनि सोची बसेकी हौली । खेलप्रेमीहरू यस्तै एकोहोरो हुन्छन् । जे कुरा पनि पूरा का पूरा स्पर्श लिएर गर्छन् । लगभग प्राय खेलहरू मध्यरातमा छन्, हेर्दाहेर्दै बिहान पनि हुन सक्छ । अब अनिदो आँखा बोकेर अफिस जाने कुरा पनि भएन । ९ बजे नै पुग्नु पर्नी बाध्यता जो छ आजकल ।बिहान एकछिन रातको निद्रा पुर्याउनै पर्यो । नत्र अफिसमा गएर सेवा प्रवाह राम्रोसँग गर्न सकिन्न ।
विश्वकप छ भनेर सरकारसँग छुट्टी माग्ने कुरा पनि त भएन । फेरि तलब नै दिएन भनेर हामी कसरी पालिने ? त्यही भएर मेरो अफिस भन्दा बाहेकको ज्यादा समय तिमीसँग बित्छ र तिमीसँग छुट्टी माग्न सजिलो पनि छ । सायद दिन्छ्यौ भन्ने आशा समेत मनमा राख्या छु ।
फेरि तिम्रो मनमा अर्को प्रश्न पनि त जन्मिँदो हो- सरकारले शनिबार, आइतबार त छुट्टी दिएकै छ नि त्यो दिन भेट्दा वा कुरा गर्दा नहुने हो र ? भनेर । तर प्रिय ! सधैं घरमा एक्लै वा परिवारसँग मात्र कति हेर्नु ? विदा हुँदा त साथीभाइसँग हेर्नुको मज्जा छुट्टै हुन्छ । त्यसमाथि फरक-फरक कोणबाट हुने आपसी विश्लेषणले खेलप्रतिको चाखलाई अझ मलजल गर्छ । मनमा कुनै खेलाडीको प्रदर्शनलाई लिएर रहेको उल्झन फुकाउन मद्दत पुग्छ।
मलाई थाहा छ तिमी धेरै ज्ञानी छ्यौ । यो अनुमति मैले सहर्ष पाउँछु भन्नेमा म विश्वस्त पनि छु । ३९ दिन जति नबोल्दैमा हाम्रो माया आधा हुने पनि त हैन । झन् प्रगाढ बनेर जानेछ । हामी एकआपसमा नबोलेपछि तिमी पनि त मलाई खोज्दै जानीनजानी वा करलाग्दी भए पनि विश्वकप जरुर हेर्नेछौ । अनि मेस्सी, रोनाल्डो र एम्बाप्पेहरूमा मलाई खोज्नेछौ । चित्त बुझाउनेछौ । ‘मेरो प्रेमीलाई न चुरोट न रक्सीको लत छ जाबो फुटबलको लत भएर के भो त ? संसारले हेरिरहेको खेल मेरो प्रेमीले पनि हेर्दा के भयो त ? ’ आशा छ, तिमीले यसरी नै आफूलाई सान्त्वनाको लेप लगाउनेछौ र कृतज्ञ हुनेछौ मप्रति, मेरो बुझाइप्रति ।
फेसबुकभरि जताततै आफूलाई मन पर्ने टिमको टिसर्ट लाएर फोटो हाल्नेको जमात तिमीले देखेकी नै हौली । मैले पनि अर्जेन्टिनाको टिसर्ट लाएर हाल्ने नै छु, तिमीले लभ रियाक्ट गर्ने नै छौ । त्यो भन्दा पनि पर कुनै दिन हामी विवाहित भएर दुईबाट तीन भएको क्षण हामी पूरै परिवारले नै अर्जेन्टिनाको टिसर्ट लाएर फोटो नि हाल्नेछौं । त्यो दिनको व्यग्र प्रतीक्षा गर प्रिय ।
विश्वमा अशान्ति फेरि बढ्न लागेको बेलामा ४८ देशबीच खेलको माध्यमबाट हुने आपसी स्वस्थ प्रतिस्पर्धाले शान्ति र साझेदारीको जादू ल्याउने छ। आशा गरौं, जसरी खेलाडीले मैदानमा बललाई खुट्टाका चालहरूले पक्रिएर गन्तव्य रुपी पोस्ट भित्र छिराउँछन्, उसैगरी विश्वले पनि भाइचारा र बन्धुत्वको लय पक्रिनेछ । द्वन्द्व र लडाइँ बन्द गर्नेछ, तिक्तता भुल्नेछ ।
तिमीलाई थाहा छ प्रिय ! हामी नेपाली विश्वकपमा पुग्न नसके पनि यति धेरै उत्साहित किन भएका हौंला ? मलाई त लाग्छ हामी शान्तिप्रेमी हौं त्यही भएर । विश्व एकजुट होस् भन्ने कामना गरिरहन्छौ त्यही भएर । नेपाल कुनै दिन विश्वकपमा पुग्ला त्यो आशा गरौं त्यो दिन तिमी र म सँगै बसेर नेपालका लागि हुटिङ गरिरहेका हुनेछौं ।
एउटै धागोमा उनिएका ४८ वटा राष्ट्रहरू एउटा ट्रफीका लागि १०४ खेल खेल्दैछन् । हामी नेपालीजस्तै विश्वका करोडौं मानिसहरू अप्रत्यक्ष जोडिएका छौं टाढैबाट भएपनि।
यो कुरा तिमीले राम्ररी बुझेकी पनि छ्यौ । पुष्पहरू टिपेर भगवानलाई चढाएजस्तै त हो नि, हामीले टिभीमा हेरेर आफ्नो टिमले जितोस् भनेर गर्ने कामना । सबैको कामना समेटिएर गुञ्जयमान हुँदै पुग्ने नै छ मैदानसम्म । मेस्सीले हान्ने फ्रि किक र पेनाल्टीहरूमा मेरो मुटु त्यति नै धड्किने छ जति तिमीलाई प्रपोज गर्दा धड्किएको थियो ।
गोल हुन्छ वा हुन्न भन्नु र मेरो प्रपोज एसेप्ट हुन्छ वा हुन्न भन्नुमा अर्थले फरक राख्ला तर मुटुले गर्ने ‘लब-ढब’ एउटै नै हो । चोटहरू सहेरै पनि खेलाडीहरू देशका लागि मैदानमा उत्रिन्छन् जसरी हामी जोडी भएर उत्रिएका हुनेछौं आफ्नो प्रेम बचाउन अनेक संघर्षहरू गर्दै । लाग्छ प्रेम भन्नु र विश्वकप भन्नु प्राप्तिको लडाइँ न हो । चोखो माया पाउन र ट्रफी पाउन कहाँ त्यति सजिलो छ र ? समरभूमिमा योद्धा भएर उत्रनै पर्छ ।
विश्वकप भइन्जेल हामी अलिकति यी सञ्चारका माध्यमहरूबाट सूचना आदानप्रदानमा टाढै रहे पनि प्रेमको सत्य भाव झल्किरहनेछ । आफ्नो टिमले हार्दा तिम्रै आँगनीमा सुकसुकाउन आइपुग्ने नै छु वा जित्दा तिम्रै छत्रछायामा ध्वजा फरफराउन हतारिनै छु ।
तर हरहमेसा तिमीसँग भने रहनेछैन । सायद फोन नउठ्न सक्छ, सायद भिडियो कल नहुन सक्छ, के पकायौ सानु भन्दै अभौतिक रूपमा तिम्रो खान्की चाख्ने हर पनि नहुन सक्छ । तर यी सबैका निम्ति म क्षमाप्रार्थी भने रहने नै छु । करिब–करिब विवाहित जोडीका लागि मलमासजस्तै बारिनेछन् हामी प्रेमिल जोडीका लागि यी ३९ दिन ।
हामी भेट्ने ती बगैंचा र पार्कहरू शून्य शून्य होलान् । कतै ती एकआपसमा चुम्ने ओठहरूले अवहेलना पो गरिस् भनठान्लान् । घर्षण हुने मुलायम छातीहरू स्पर्शबिहीन भएर गुज्रेलान् तर पनि रातो कार्ड खाएर बाहिरिएका खेलाडीजस्तो विक्षिप्त भने हामी हुनेछैनौं ।
एक अर्काको ‘टाइम एण्ड स्पेश’लाई महत्व दिएर प्रतीक्षा गरिरहनेछौं । यो अल्पकालीन विछोडले हामीमा फेरि नयाँ आयामबाट प्रेमको ज्वार निकाल्ने साहस दिनेछ । विश्वकपले तिमी र मलाई पाठ जरुर सिकाउने छ- मेस्सीलाई देखाएर फल मिठो पाउन मेहेनत मात्र हैन धैर्य गर्न सिकाउनेछ ।
टिम वर्क देखाएर हामीलाई प्रेम एकजनाको मात्र बलिदानीले प्राप्त गर्न सकिंदैन भन्ने सिकाउनेछ । हो ! हामी सिक्दै अघि बढ्नलाई फेरि भेट्नेछौं। त्यतिन्जेल सम्मका लागि विदा दिनुहुन अनुरोध गर्न चाहन्छु ।
उही तिम्रो प्रेमी
अर्जेन्टिनाको फ्यान
प्रतिक्रिया 4