0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बादलमाथिको बस्ती : हेलम्बुको नयाँ गन्तव्य छ्यादी घ्याङ

हेलम्बुमा अझै धेरै सुन्दर गन्तव्यहरू छन्, जसलाई सही ढंगले विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन सकिन्छ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ २८ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेलम्बु गाउँपालिकाले समुद्र सतहबाट ४२०० मिटर उचाइमा रहेको नयाँ पर्यटकीय क्षेत्र छ्यादी घ्याङको फेदीमा २०८३ जेठ २४ मा कार्यपालिका बैठक राखेको छ ।
  • बैठकले आन्तरिक पर्यटन प्रवर्द्धन, हिमनदी संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणलाई मुख्य नाराका साथ यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने निर्णय गरेको छ ।

हेलम्बुको नयाँ पर्यटकीय गन्तव्य छ्यादी घ्याङको अवलोकन भ्रमणका लागि काठमाडौंको बौद्धबाट हामी मेलम्ची हुँदै हेलम्बुतर्फ लाग्यौं । यात्राको यो हिस्सा मात्र होइन, प्रकृतिको अनुपम सौन्दर्य र शान्तिको खोजी थियो ।

हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पुगेर स्थानीय स्वादिष्ट खानाले पेट भर्‍यौं र त्यसपछि हेलम्बु हिमालयन ग्रेट ट्रेल हुँदै पदयात्रा सुरु गर्‍यौं । ट्रेलको केही भाग त बनिसकेको रहेछ, जसले यात्रालाई अझ सहज बनाएको थियो ।

 

केही समयपछि बाटो उकालो जङ्गलतर्फ लाग्यो । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र घना जङ्गलले ढाकिएको छ । बाटोमा विभिन्न प्रजातिका रङ्गीचङ्गी फूलहरूले स्वागत गरे । गुराँसका विभिन्न प्रजाति पनि देखिन्थे । यो समयमा गुराँसहरू फुलेर झरिसके पनि केही सेतो गुराँसका फूलहरू अझै बाँकी थिए, जसले बाटोलाई अझ मनमोहक बनाएको थियो।

फूलहरूमा भिरमौरीहरू झुम्मिएर मह सङ्कलन गरिरहेको दृश्य अत्यन्त रोचक थियो। विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको चिरबिर आवाजले वनलाई जीवन्त बनाएको थियो । शान्त वातावरण, चराहरूको संगीत र हराभरा जङ्गलले थकानलाई बिर्साउने औषधिको काम गर्‍यो। मनभित्र आनन्दको लहर उठिरहेको थियो।

लगभग ७ घण्टाको पदयात्रापछि हामी ठारेपाटी पुग्यौं। ठारेपाटीमा बास बस्नका लागि राम्रा होटलहरू उपलब्ध छन्। यो ठाउँबाट प्रसिद्ध गोसाईकुण्ड जान पनि सकिन्छ। ठारेपाटीबाट थप करिब २ घण्टाको यात्रापछि हामी छ्यादी घ्याङ पुग्यौं।

समुद्र सतहबाट ४२०० मिटर उचाइमा रहेको छ्यादी घ्याङ हेलम्बुको नयाँ पर्यटकीय गन्तव्य हो । आन्तरिक पर्यटन प्रवर्द्धन, हिमनदी संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणलाई मुख्य नाराका साथ हेलम्बु गाउँपालिकाले यहाँ ऐतिहासिक कार्यपालिका बैठक आयोजना गरेको थियो । २०८३ जेठ २४ गते छ्यादी घ्याङको फेदीमा सम्पन्न उक्त बैठकले यो क्षेत्रलाई पर्यटन विकासको नयाँ गन्तव्यको रूपमा चिनाउने प्रयास गरेको छ ।

छ्यादी घ्याङको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, घना जङ्गल र शान्त वातावरणले यो ठाउँलाई पदयात्रीहरूका लागि आदर्श बनाएको छ। हिमनदीहरू नजिकै रहेको यो क्षेत्र जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न पनि उत्तम छ ।

यो यात्राले हामीलाई एउटा कुरा स्पष्टसँग बतायो— हेलम्बुमा अझै धेरै सुन्दर गन्तव्यहरू छन्, जसलाई सही ढङ्गले विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन सकिन्छ।

छ्यादी घ्याङ जस्ता ठाउँहरूले नेपालको पर्यटनलाई नयाँ उचाइ दिन सक्छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।

Chhyadi Ghang
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?