0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बालबालिकाको खेल्ने अधिकार कागजमै सीमित त छैन ?

मलाई लाग्छ, यहाँ समस्या चाहना वा प्रतिबद्धताको होइन, सिकाइको प्रकृतिबारे साझा बुझाइको हो ।

रति शर्मा रति शर्मा
२०८३ जेठ २८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका नीतिहरूमा खेलमा आधारित सिकाइ समेटिए पनि व्यवहारमा अभिभावक र विद्यालयले खेल र पढाइलाई फरक रूपमा बुझ्ने गरेका छन् ।
  • बालबालिकाको चौतर्फी विकासका लागि खेललाई सिकाइको मुख्य आधार मानी विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोण बदल्न आवश्यक देखिन्छ ।

‘बालबालिकाहरू खेल्दै जाँदा सिक्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, खेलमा बच्चाहरूले कसरी सिक्ने भनेर सिक्छन् ।’ –ओ. फ्रेड डोनाल्डसन

११ जुन अन्तर्राष्ट्रिय खेल दिवस हो । संयुक्त राष्ट्रसंघले सन् २०२४ देखि औपचारिक मान्यता दिएको यस दिवसले विश्वभरका बालबालिकाको खेल्ने अधिकार र खेलको महत्त्वलाई स्मरण गराउँछ । खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, बालबालिकाको समग्र विकास, सिकाइ र स्वस्थ बाल्यकालको आधार हो भन्ने सन्देश यस दिवसले दिन्छ ।

हरेक वर्ष यो दिवस आउँदा प्रारम्भिक बालविकास र शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिको रूपमा म आफैँलाई एउटा प्रश्न सोध्छु– के हाम्रा बालबालिकाले साँच्चै खेल्न पाइरहेका छन् ?

नेपालका नीति, पाठ्यक्रम र प्रारम्भिक बालविकाससम्बन्धी मार्गदर्शनहरू हेर्दा उत्तर सकारात्मक देखिन्छ । खेलमा आधारित सिकाइ, बालकेन्द्रित शिक्षण, अनुभवबाट सिकाइ जस्ता शब्दहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन् । तर विद्यालय, शिक्षक र अभिभावकहरूसँगको दैनिक सहकार्यमा कहिलेकाहीँ लाग्छ– हामीले खेलको महत्त्वलाई कागजमा त स्वीकार गरेका छौँ, तर व्यवहारमा अझै पूर्णरूपमा अपनाउन सकेका छैनौँ ।

विद्यालय सञ्चालनको अनुभवले मलाई एउटा कुरा बारम्बार महसुस गराएको छ । हरेक अभिभावक आफ्नो बालबालिकाको राम्रो भविष्य चाहन्छन्। शिक्षकहरू पनि बालबालिकाले राम्रो सिकुन् भन्ने चाहन्छन् । विद्यालयको उद्देश्य पनि त्यही हो । तर कहिलेकाहीँ राम्रो भविष्यको खोजीमा हामी बालबालिकाको वर्तमान आवश्यकतालाई कम महत्त्व दिन्छौँ ।

केही समयअघि एक अभिभावकसँग कुरा हुँदै थियो । उहाँले भन्नुभयो, ‘मेरो बच्चा दिनभर खेल्छ, पढाइ कहिले गर्छ ?’

उहाँको प्रश्नमा माया थियो, चासो थियो र भविष्यप्रतिको चिन्ता पनि थियो । तर यही प्रश्नले हाम्रो समाजमा अझै रहेको एउटा सोचलाई पनि देखाउँछ । हामीमध्ये धेरैले खेल र पढाइलाई दुई फरक कुरा ठानिरहेका छौँ । खेललाई रमाइलो र पढाइलाई सिकाइको रूपमा बुझिरहेका छौँ ।

तर प्रारम्भिक बाल्यावस्थामा वास्तविकता फरक छ । बालबालिकाका लागि खेल नै सिकाइ हो ।

जब बालबालिका साथीहरूसँग भूमिका निर्वाह गरेर खेल्छन्, उनीहरूले भाषा सिकिरहेका हुन्छन् । जब उनीहरू ब्लक मिलाउँछन्, उनीहरूले आकार, सन्तुलन र गणितीय सोच विकास गरिरहेका हुन्छन् । जब उनीहरू समूहमा खेल्छन्, पालो पर्खन, सहकार्य गर्न र समस्या समाधान गर्न सिकिरहेका हुन्छन् ।

यिनै सीपहरू भविष्यको जीवनमा आवश्यक पर्ने महत्वपूर्ण आधारहरू हुन् ।

तर आजको परिवेश हेर्दा प्रारम्भिक शिक्षाप्रति अभिभावक र विद्यालय दुवैका अपेक्षाहरू परिवर्तन हुँदै गएका छन् । विश्वसँग जोडिने चाहना, अन्तर्राष्ट्रिय भाषाको महत्त्व र भविष्यप्रतिको चिन्ताले गर्दा धेरै अभिभावकहरू आफ्ना बालबालिकाले सानै उमेरदेखि अक्षर चिन्न, लेख्न र भाषा प्रयोग गर्न सिकुन् भन्ने अपेक्षा राख्नुहुन्छ । यो स्वाभाविक पनि हो । विद्यालयहरू पनि यिनै अपेक्षाहरूलाई सम्बोधन गर्ने प्रयासमा हुन्छन् । यही क्रममा कहिलेकाहीँ खेल, कथा, गीत, अभिनय र अनुभवबाट हुने सिकाइको महत्त्व पर्याप्त रूपमा देखिन वा बुझिन नसक्ने अवस्था आउन सक्छ ।

मलाई लाग्छ, यहाँ समस्या चाहना वा प्रतिबद्धताको होइन, सिकाइको प्रकृतिबारे साझा बुझाइको हो । हामी सबै बालबालिकाले राम्रो सिकुन् भन्ने चाहन्छौँ । तर प्रारम्भिक वर्षहरूमा सिकाइका धेरै महत्वपूर्ण पक्षहरू खेलभित्रै लुकेका हुन्छन् भन्ने विषयमा अझ व्यापक संवाद र सचेतनाको आवश्यकता छ । खेललाई पढाइभन्दा अलग होइन, सिकाइको आधारका रूपमा हेर्ने संस्कृतिलाई अझ बलियो बनाउन आवश्यक देखिन्छ ।

अर्को महत्वपूर्ण विषय बाहिरी वातावरणमा हुने सिकाइ हो । आजका धेरै बालबालिकाको समय ४ पर्खालभित्र बित्छ । तर सिकाइको संसार कक्षाकोठाभन्दा धेरै ठूलो छ । माटोमा खेल्दा, बोटबिरुवा नियाल्दा, पानीसँग प्रयोग गर्दा, खुला आकाशमुनि दौडिँदा वा प्रकृतिसँग समय बिताउँदा बालबालिकाले प्राप्त गर्ने अनुभव कुनै पुस्तकले मात्र दिन सक्दैन ।

शिक्षाको क्षेत्रमा एउटा भनाइ निकै लोकप्रिय छ— केही उत्कृष्ट सिकाइहरू बाहिर नै मिल्छन् ।

साँच्चै भन्ने हो भने, बालबालिकाका लागि प्रकृति आफैँ एउटा खुला पाठशाला हो । नेपालजस्तो प्राकृतिक विविधताले भरिएको देशमा त आउटडोर लर्निङ’ का सम्भावना झन् धेरै छन् । विद्यालयको आँगन, बगैँचा, सामुदायिक खुला ठाउँ, खेतबारी वा गाउँको परिवेश आफैँमा सिकाइका स्रोत हुन सक्छन् । तर हामीले अझै पनि सिकाइलाई धेरै हदसम्म कापी, किताब र कक्षाकोठाभित्र सीमित गरिरहेका छौँ ।

त्यसो भए नीति र व्यवहारबीचको यो दूरी किन छ ?

मेरो अनुभवमा यसको मुख्य कारण सचेतनाको कमी हो । धेरै अभिभावकहरूलाई खेलबाट पनि सिकाइ हुन्छ भन्ने विषयमा पर्याप्त जानकारी पुग्न सकेको छैन । धेरै शिक्षकहरू खेलको महत्त्व बुझ्नुहुन्छ, तर खेललाई दैनिक शिक्षण प्रक्रियासँग अझ प्रभावकारी रूपमा कसरी जोड्ने भन्ने विषयमा निरन्तर सहयोग आवश्यक छ । विद्यालयहरू पनि अभिभावकको अपेक्षा र बालबालिकाको आवश्यकता बीच सन्तुलन मिलाउन संघर्ष गरिरहेका हुन्छन् । यो दूरी घटाउन हामी सबैको साझा प्रयास आवश्यक छ ।

अभिभावकहरूले खेललाई समयको बर्बादी होइन, सिकाइको माध्यमका रूपमा हेर्न आवश्यक छ । विद्यालयहरूले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिनुपर्छ । शिक्षकहरूलाई निरन्तर व्यावसायिक सहयोग आवश्यक छ । नीति निर्माताहरूले पनि कक्षाकोठामा खेलमा आधारित सिकाइ वास्तवमै भइरहेको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, हामीले विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । राम्रो विद्यालय त्यो मात्र होइन जहाँ बालबालिकाले छिट्टै लेख्न वा अंग्रेजी बोल्न सिक्छन् । राम्रो विद्यालय त्यो पनि हो जहाँ बालबालिका खुसी हुन्छन्, प्रश्न गर्न पाउँछन्, गल्ती गर्न पाउँछन्, खोज्न पाउँछन् र खेल्दै सिक्न पाउँछन् ।

अन्तर्राष्ट्रिय खेल दिवस मनाइरहँदा म सबै अभिभावक, शिक्षक, विद्यालय र सरोकारवालालाई एउटा सानो आग्रह गर्न चाहन्छु । बालबालिकालाई खेल्न दिऔँ । उनीहरूलाई माटोसँग खेल्न दिऔँ । कथा सुन्न दिऔँ । गीत गाउन दिऔँ । प्रश्न गर्न दिऔँ । दौडिन दिऔँ । प्रकृतिसँग जोडिन दिऔँ । किनकि बालबालिकाले खेलिरहेका बेला केवल रमाइलो गरिरहेका हुँदैनन् । उनीहरू सिकिरहेका हुन्छन् । उनीहरू आफ्नो भविष्य निर्माण गरिरहेका हुन्छन् ।

सायद त्यही दिन हामीले भन्न सक्नेछौँ– खेल्ने अधिकार अब कागजमा मात्र सीमित छैन, यो हरेक बालबालिकाको दैनिक जीवनमा पनि देखिन थालेको छ  ।

(रति शर्मा विद्यालय नेतृत्व, शिक्षक क्षमता विकास बालकेन्द्रित सिकाइका क्षेत्रमा कार्यरत छिन् । )

लेखक
रति शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?