+

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल

२०८२ फागुन  २५ गते १९:३८ २०८२ फागुन २५ गते १९:३८

दुई देशको विवादका कारण खेलाडीको खेल खेल्ने अधिकार नै खोसिने अवस्था सिर्जना भएको छ ।

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल

२५ फागुन, काठमाडौं । सन् १९६९ को उत्तरार्धमा चर्चित फुटबलर पेले तत्कालीन समयको सबैभन्दा चर्चित फुटबल क्लब सान्तोस एफसीबाट खेल्थे । उक्त समयमा सान्तोस एफसीले विश्वभर मैत्रीपूर्ण खेल खेल्दै आएको थियो ।

विश्वभर डुल्ने क्रममा पेले सम्मिेलित टोली नाइजेरिया पुग्यो । सो समयमा नाइजेरियमा गृहयुद्ध चलिरहेको थियो । पेलेले खेल्ने भएपछि उक्त खेलका लागि नाइजेरियाले ४८ घन्टा युद्धविराम गर्ने सहमति गर्‍यो । जसका कारण गृहयुद्धले तनावग्रस्त क्षेत्रमा पेलेले मैत्रीपूर्ण खेल खेल्न पाए, दर्शकले शान्तिपूर्वक खेल हेरे ।

सन् १९७१ मा जापानमा भएको विश्व टेबल टेनिस च्याम्पियनसिपका क्रममा अमेरिकी खेलाडी ग्लेन कोवान गल्तीले चिनियाँ टोलीको बसमा पुगे । जसमा चिनियाँ खेलाडीले ग्लेनलाई मैत्री व्यवहार गरे । त्यसपछि चीन सरकारले अमेरिकी टेबल टेनिस टोलीलाई बेइजिङ भ्रमणको निम्तो दियो ।

निम्तो स्वीकार्दै अमेरिकी टोली चीन पुग्यो । अमेरिकीहरूले आयोजकसँग प्रदर्शनी खेले । ग्रेटवालको भ्रमण गरे, चिनियाँ विद्यार्थीहरू र कारखानाका कामदारहरूसँग कुराकानी गर्ने अवसर पाए ।

शीतयुद्धका कारण दशकौँसम्म संवादविहीन अमेरिका र चीनबीचको सम्बन्ध सुधारको सुरुआतमा यो घटनाले पनि बल पुग्यो । त्यसको अर्काे वर्ष अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरे र अमेरिका–चीन सम्बन्ध सामान्यीकरणतर्फ पुग्न सफल भयो ।

आइवरी कोस्टमा सन् २००२ देखि गृहयुद्ध चलिरहेको थियो । दक्षिण र उत्तरका नाममा भएको युद्धका कारण त्यहाँका मानिसहरु त्रासमा बाँचिरहेका थिए । आइवरी कोस्ट इतिहासमा पहिलोपटक सन् २००६ मा भएको फिफा विश्वकपमा छनोट भयो । देशभर उत्सव छायो । आइवरी कोस्टलाई पहिलोपटक विश्वकपमा पुर्‍याएका डिडिए ड्रोग्बाले टेलिभिजनको क्यामेरासामु घुँडा टेकेर राष्ट्रलाई अपिल गरे– हामी उत्तर–दक्षिण सबै मिलेर खेल्न सक्छौं, युद्ध अन्त्य गरौं । उक्त भिडियो देशभर फैलियो । त्यसपछि दुवै पक्ष वार्तामा बसे र युद्धविराम भयो ।

केही वर्षअघिसम्म भारत–पाकिस्तानबीच विवाद भइरहदा पनि यी दुई टोली मित्रवत रुपमा क्रिकेटको मैदानमा उत्रिन्थे । भारत–पाकिस्तान एकआपसमा अरु टोली जसरी नै हात मिलाउथे, अंकमाल गर्थे ।

पाकिस्तान त सन् २०२३ मा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न भारत पुगेको थियो । भारतले भने पछिल्लो पटक सन् २००८ मा पाकिस्तान पुगेर खेल्यो । त्यसयता दुवै टोलीबीचको खेल तटस्थ मैदानमा त हुन्छ नै, खेलका क्रममा खेलाडीहरुले ह्यान्डशेक समेत गर्दैनन् । जुन खेल भावना विपरीत हो ।

उनीहरुको भेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र एसियन क्रिकेट काउन्सिल (एसीसी)का प्रतियोगितामा मात्र हुँदै आएको छ । दुई देशको राजनीतिक विवादका कारण खेलाडीहरु मित्रवत् प्रतिस्पर्धाको सट्टा बदला लिने भावनामा परिणत भएका छन् । उनीहरुले मैदानमा खेल भावनासमेत देखाउन छोडेका छन् ।

गत कात्तिकमा भएको एसिया कपमा भारत र पाकिस्तानी खेलाडी मैदानमै शत्रु ठाने जसरी विपक्षीविरुद्ध अनुचित गतिविधि गरे । पाकिस्तानी खेलाडी साहिबजादा फरहानले अर्धशतक बनाएपछि बन्दुक चलाएको जस्तो इशारा गर्दा हरिस रउफले फिल्डिङ गर्दा विमान खसालेको जस्तो संकेत गरेका थिए ।

भारतीय कप्तान सूर्यकुमार यादवले पुरस्कार वितरण समारोह र पत्रकार सम्मेलनमा ‘आजको जित हाम्रो सशस्त्र बललाई समर्पित छ’ भनेर अभिव्यक्ति भएका थिए । तीनै जना आईसीसीको कारवाहीमा परे ।

राजनीतिक तवरबाट सानो विवाद हुँदा बितिक्कै दुई देशबीच खेल नहुनु दुखद् भएको पूर्वक्रिकेटर तथा अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङ बताउँछन् । ‘राजनीतिक विवाद नयाँ होइन । क्रिकेटमा पाकिस्तान भारत र भारत पाकिस्तान नजाने अवस्था छ,’ उनी भन्छन्, ‘खेलको भावना हुन्छ । खेल खेल्दा जुन प्रोटोकल हुन्छ । खेलाडीहरुबीच हात नमिलाउने कुरा राम्रो देखिँदैन ।’

खेललाई सरकारले अलग राखेर हेनुपर्नेमा गुरुङले जोड दिए । ‘खेललाई हारजित मात्रै नभई दुई देशको सम्बन्ध सुधार गर्ने दृष्टिकोण छ विगतमा । सानो खटपट आउने वित्तिकै खेल नै नखेल्ने गर्नुहुँदैन,’ उनी भन्छन्, ‘खेललाई सरकारले अलग राखेर हेर्नुपर्छ ।’

दुई देशका विवादका कारण बंगलादेशले श्रीलंका र भारतमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाएन । पाकिस्तानले पनि भारतसँग नखेल्ने अडान लिएको थियो । एसियाली फुटबल महासंघले मध्य पूर्वमा तय गरिएको महादेशीय क्लब च्याम्पियनशिप प्लेअफ स्थगित गर्‍यो ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणका कारण महासंघले खेलहरु स्थगित गर्न बाध्य भएको हो । फिफा विश्वकप–२०२६ आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ ।

बढ्दो सुरक्षा चिन्ता र हालैका अन्तर्राष्ट्रिय तनावका कारण इरान प्रतियोगितामा सहभागी हुने–हुने नहुने अन्योल छ । अमेरिका–इरान इजरायलको विवादकै कारण नेपालमा हुने भनिएको आइसीसी विश्वकप लिग–२ का खेलहरु समेत अनिश्चितकालका लागि स्थगित गरिएको छ । केही समयअघिसम्म खेलका कारण चलिरहेका धेरै युद्धहरु रोकिने मोडतर्फ पुगे । तर, पछिल्लो समय भने देशहरुबिच विवाद आउँदा वित्तिकै चपेडामा पर्ने पहिलो चिज नै खेलकुद हुन पुगेको छ ।

परराष्ट्रविद् डाक्टर निश्चलनाथ पाण्डेले खेलकुदलाई कन्फिडेन्स बिल्डिङ मेजर्सको एउटा महत्वपुर्ण अंगको रुपमा लिइने गरेको बताउँछन् । उनी भन्छन्, ‘दक्षिण अफ्रिकामा रंगभेद भएका कारण धेरै बर्ष बहिष्कारमा परेको, सन् १(८) को मस्को ओलम्पिक्समा अफगानिस्तानलाई आक्रमण गरेको कारण देखाइ अमेरिकाले बहिष्कार गरेका घटना छन् । तर खेलकुदलाई कन्फिडेन्स बिल्डिङ मेजर्सको एउटा महत्वपुर्ण अंगको रुपमा लिइन्छ ।’

खेल मध्यपूर्वमा तनाव युद्ध
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय