News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खेलकुद क्षेत्रका अधिकांश प्रत्यक्ष उम्मेदवार पराजित भएका छन्।
- पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता र विराजभक्त श्रेष्ठ रास्वपाबाट विजयी भएका छन् भने तेजुलाल चौधरी पराजित भएका छन्।
- खेलकुद विज्ञ मनिष झा र डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् भने ज्ञानेन्द्र मल्ल समानुपातिक सूचीमा छन्।
२४ फागुन, काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका खेलकुद क्षेत्रका सबै उम्मेदवार पराजित भएका छन् ।
खेलकुदसँग प्रत्यक्ष जोडिएका उम्मेदवारहरू सीमित संख्यामा भएपनि धेरैजसोले चुनाव जित्न सकेनन् । यद्यपी युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू दुई जना विजयी हुँदा एक जना पराजित भए । यसैगरी खेलकुद विज्ञ, खेलकुद संघका पदाधिकारी केहीले पनि जित हासिल गरे ।
नेपाल क्रिकेट संघ क्यानका वर्तमान अध्यक्ष चतुर बहादुर चन्द, नेपाली राष्ट्रिय पुरुष बास्केटबल टिमका सदस्य अजय कुशवाहा र क्रिकेटमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिना सबै पराजित भए । चन्द बैतडीमा, कुशवाह बारामा तथा तिमल्सिना राजधानी काठमाडौंमै पराजित भए ।
तीनैजना पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका क्यान अध्यक्ष चन्द एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा दोस्रो स्थानमा रहे । रास्वापका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी बन्दा निकटतम रहेका चन्दले १८ हजार १९४ मत प्राप्त गरे ।
यस्तै नेपाली कांग्रेसबाटै काठमाडौं ४ मा प्रतिस्पर्धामा उत्रिएका सचिन रास्वपाका पुकार बम भन्दा पछि पर्दै दोस्रोमा रहे । सचिन ८ हजार ८२४ मतसहित दोस्रो भए । यस क्षेत्रमा रास्वापका पुकार बमले २९ हजार १४२ मत प्राप्त गर्दै विजयी भए ।
बारा ४ मा कुशवाह पाँचौ स्थानमा रहे । उनले जम्मा २ हजार ६६ मत प्राप्त गरे । यस क्षेत्रमा विजयी रास्वपाका रहबर अन्सारीले ४१ हजार २०० मत प्राप्त गरे ।

पूर्व खेलकुदमन्त्रीहरूको मिश्रित नतिजा
यसअघि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पूर्व मन्त्रीहरूको भने निर्वाचनमा मिश्रित नतिजा आएको छ ।
चुनावी सरकारको खेलकुद मन्त्री बनेका जेन्सी मन्त्रीको रुपमा परिचित बब्लु गुप्ता विजयी भएका छन् । उनले निर्वाचन लड्न मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी सिरहा १ बाट निर्वाचित भए ।
उनले ४१ हजार ३२२ मतसहित विजेता बन्दा पुराना पार्टीमा पुराना नेताहरूलाई पछि पारे । गुप्ताको निकटतम नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत प्राप्त गरे ।
यस्तै पूर्व खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पनि काठमाडौं ८ बाट चुनाव जिते । श्रेष्ठ र गुप्ता दुवैले रास्वपाबाट निर्वाचन जितेका हुन् ।
विराजभक्त श्रेष्ठले फराकिलो अन्तरले जित हात पार्ने क्रममा २४ हजार ५९२ मत पाए । दवस्रो भएका नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र प्राप्त गरे ।
श्रेष्ठ र गुप्ताको बीचमा मन्त्री रहेका नेपाली कांग्रेसका तेजुलाल चौधरी भने पराजित भए । सप्तरी ४ मा दोस्रो स्थानमा रहे । उनी रास्वपाका सीताराम शाह भन्दा पछि रहे । शाहले ३६ हजार ४१२ मत ल्याएर विजेता बन्दा दोस्रो भएका चौधरीले १३ हजार १०३ मत पाए ।

अब खेलकुद विज्ञ पनि संसदमा
यस्तै रास्वपाबाट निर्वाचित मनिष झा, डा. अच्युतम लामिछाने पनि खेलकुद क्षेत्रसँग नजिक छन् । मनिष झा नेपाल हक्की संघका उपाध्यक्ष हुन् । रास्वपाका झाले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै जितेका हुन् । उनले ४३ हजार ९८८ मत प्राप्त गर्दा निकटतम निधीले १६ हजार ६५२ मत प्राप्त गरेका थिए ।
नुवाकोटमा नेपाली कांग्रेसका जंगदिशनरसिंह केसीलाई पराजित गर्दै निर्वाचित भएका अच्युतम लामिछाने तेक्वान्दोका खेलाडी हुँदै खेलकुद विज्ञका रुपमा छन् । उनले ३२ हजार ५४ मत प्राप्त गर्दा उनका निकटतम केसीले १५ हजार ५०३ मत प्राप्त गरे ।
अच्युतम लामिछाने खेल विज्ञान तथा शारीरिक शिक्षामा स्नातक, स्नात्तकोतर र विधावारीधि समेत गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत नेपाल खेल विज्ञान एकेडेमीमा खेल विज्ञको रुपमा समेत काम गरेको अनुभव छ । लामिछाने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री पनि हुन् ।

यसैगरी नेकपाबाट चुनाव जितेका युवराज दुलाल (शरद) पनि खेलकुदसँग नजिक छन् । उनी बागमती प्रदेशको प्रदेश सभा सदस्य हुँदा सामाजिक विकास बनेका मन्त्री थिए । त्यसबेला सामाजिक विकास मन्त्रालयले नै खेलकुद हेर्ने गर्थ्यो । पछि मात्र युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाइएको हो । उनी सिन्धुपाल्चोक २ बाट २१ हजार ६९८ मत ल्याएर निर्वाचित भए । उनका निकटतम नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गरेका थिए ।
प्रत्यक्षमा बाहेक समानुपातिक सूचीमा दलहरूले बुझाएको सूचीमा पनि खेलकुदकर्मीहरू छन् । जसमा चर्चामा रहेको पात्र हुन् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल । उनलाई रास्वपाले नै समानुपातिक सूचीमा पुरुष आदिवासी जनजातीतर्फ राखेको छ । यस बाहेक फुटबल खेलाडी पवन शाही पनि रास्वपाको समानुपातिक सूचीमा छन् ।
समानुपातिकमा रहेका क्रिकेटर ज्ञानेन्द्र मल्ल स्टारका रुपमा रहेपनि खेलकुदसँग जोडिएका र निकट रहेका अन्य व्यक्तित्वहरू खासै स्टार नभएकोले पनि त्यति चर्चा भएको देखिँदैन ।
प्रतिक्रिया 4