News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले पोखरा एभेन्जर्सबाट पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
- पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले राखेपको अप्रुभलका कारण पारिश्रमिक ढिलाई भएको बताए।
- त्रिपाठीले जिम्मीसहित सबै खेलाडीको पारिश्रमिक दुई हप्ताभित्र दिने प्रतिवद्धता जनाए।
२५ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । जसमा कमेन्ट गर्दै जिम्मीले लेखेका छन्, ‘कुल, पे योअर प्लेयर्स’ अर्थात् खेलाडीलाई पैसा देऊ ।
यसबारेमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अप्रुभलका कारण ढिलाई भएको बताए । उनले जिम्मीसँग कुनै विवाद नरहेको र आगामी दुई हप्ताभित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाए ।
‘राखेपका कारण ढिलाई भएको हो । उहाँसहित कुनै पनि खेलाडीको पारिश्रमिक दिन पाएका छैनौं’ उनले अनलाइनखबरसँग भने, ‘अब प्रक्रिया पूरा गरेर दुई हप्ताभित्र दिन्छौं ।’
‘हामीलाई कुनै पनि खेलाडीको पारिश्रमिक दिन समस्या छैन । तर नेपालको प्रकियागत कुराले ढिलाइ भएको पक्का हो,’ त्रिपाठीले थपे ।
उनले नेपालको प्रक्रियाले गर्दा झमेला भएको बताए । ‘सुरुमा राष्ट्र बैंकको अनुमति नचाहिने भनिएपनि हामीले करोबार गर्ने ग्लोबल आइएम बैंकले अनुमति चाहिन्छ भनेपछि समस्या भयो । त्यसपछि हामी राष्ट्रिय खेलकुद परिषदमा गयौँ तर राखेपले मुद्दाको विषय लिएर अनुमति दिन ढिलाइ गरेको छ । बीचमा निर्वाचनको कारणले कार्यालय बन्द भयो । हामी छिटै पारिश्रािक दिने प्रक्रियामा छौ ।’
जिम्मी नीशमसँग मंगलबार पोखरा एभेन्जर्सको अफिसियलले कुरा गर्दै चाँडै पारिश्रमिक दिने जानकारी गराएको र यसमा उनी सहमत बनेको पनि त्रिपाठीले जानकारी दिए ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताले राखेपबाट छिट्टै नै प्रक्रिया पूरा हुने बताए । ‘किस्ता किस्तामा आउँदा प्रक्रियामा ढिलाई भएको हो । अब प्रक्रिया अघि बढेर जान्छ’ उनी भन्छन् ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म भएको थियो ।
प्रतिक्रिया 4