News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जितेको छ।
- फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको थियो जहाँ भारतले २५६ रनको लक्ष्य दिएको थियो।
- जसप्रित बुमराहले ४ विकेट लिए भने सन्जु सामसनले ८९ रन बनाएर भारतको जितमा महत्वपूर्ण भूमिका खेलेको छ।
२४ फागुन, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।
भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
भारत लगातार दोस्रो अनि तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो । न्युजिल्यान्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भयो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो ।
ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
भारतका जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रनको क्यामिओ खेले ।
न्युजिल्यान्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए ।
भारतले यस विश्वकपमा सुपर ८ मा दक्षिण अफ्रिकासँग एकमात्र हार बेहोरेको थियो ।
सन्जु सामसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले भारतका लागि ५ खेल मात्र खेलेका थिए ।
भारतका पछिल्ला तीन महत्त्वपूर्ण खेलमा शानदार प्रदर्शन गरेका उनले तीन अर्धशतकसहित ३२१ रन बनाए ।
प्रतिक्रिया 4