News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ ।
- भारतले लगातार दोस्रो पटक टी२० विश्वकप जित्दै उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।
- भारतले घरेलु मैदानमा पहिलोपटक टी२० विश्वकप उपाधि जित्दै तीन पटक उपाधि जित्ने पहिलो टिम बन्यो ।
२४ फागुन, काठमाडौं । भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए ।
सन्जु सामसनसहित अभिषेक शर्मा र इशान किसनको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५५ रन बनाएको थियो । शिभव दुवेले केमियो इनिङ्स खेल्दै ६ बलमा अविजित २६ रन बनाएका थिए । २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक ओभर अगावै १५९ रनमै अलआउट भयो । न्युजिल्यान्ड टिम सेफर्टले अर्धशतक (५२ रन) बनाउँदा जम्मा तीन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन । भारतमा बुमराहले ४ ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै अक्षर पटेलले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
अहमदाबादस्थित विश्वकै ठूलो नरेन्द्र मोदी स्टेडियममा १ लाख २० हजार भन्दा बढी दर्शकको अगाडि भारतले लगातार दोस्रो पटक टी२० विश्वकप जित्दै समर्थकहरुका लागि खुशीको उपहार दिएको छ ।
यस क्रममा भारतले केही कीर्तिमानहरु बनायो । जुन यसअघि कहिल्यै भएको थिएन ।
तीन पटक जित्ने पहिलो टिम
भारत टी२० विश्वकप सर्वाधिक तीन पटक जित्ने पहिलो टिम बनेको छ । सन् २००७ मा दक्षिण अफ्रिकामा सुरु भएको टी२० विश्वकपको पहिलो संस्करण नै जितेको भारतले पछिल्लो पटक भएको २०२४ को टी२० विश्वकप पनि जितेको थियो । अहिले दशौँ संस्करण जित्दै भारतले कीर्तिमान बनायो । सन् २०१४ मा पनि फाइनल पुगेको भारत त्यसबेला श्रीलंकासँग पराजित भएको थियो ।
भारतपछि इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान दुई पटक टी२० विश्वकप जितेका छन् ।
उपाधि रक्षा गर्ने पहिलो टिम
भारतले लगातार दोस्रो पटक टी२० विश्वकप जित्दै उपाधि रक्षा गर्दा अर्को कीर्तिमान बन्यो । भारले पछिल्लो पटक सन् २०२४ मा रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिज र अमरिका भएको टी२० विश्वकपको उपाधि जितेको थियो । त्यसबेला भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस पटक २०२६ मा भारतले घरेलु मैदानमा न्युजिल्यान्डलाई हराएर लगातार दोस्रो पटक उपाधि जित्यो ।
न्युजिल्यान्डमाथि टी२० विश्वकपमा पहिलो जित
भारतले यसअघि टी२० विश्वकपमा न्युजिलयान्डलाई हराउन सकेको थिएन । टी२० विश्वकपमा यि दुई टोली तीनपटक भेट हुँदा तीनै खेलमा न्युजिलयान्ड विजयी भएको थियो । तर त्यो तीनै हारको बदला भारतले एकै पटक यस संस्करणमा फाइनलमा लियो ।
सन् २००७ को पहिलो संस्करण, २०१६ र २०२५ मा न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
घरेलु मैदानमा जित्ने पहिलो टिम
अहिलेसम्म टी२० विश्वकपको करिब दुई दशक हुन लाग्दा कुनै पनि टिमले घरेलु मैदानमा उपाधि उचाल्न सकेको थिएन । तर अब भारतले सर्वाधिक उपाधिका साथै घरेलु मैदानमा टी२० विश्वकप उपाधि जित्ने पनि पहिलो टिम बनेको छ ।
यसअघि सन् २००७ मा पहिलो संस्करण जित्दा दक्षिण अफ्रिकामा विश्वकप भएको थियो । सन् २०२४ को नवौँ संस्करण वेस्ट इन्डिज र अमेरिकामा भएको थियो । यस पटक भने भारतले श्रीलंकासँग संयुक्त रुपमा विश्वकप आयोजना गर्दा घरेलु मैदानमै फाइनल खेलेर उपाधि जितेको थियो ।
तस्बीर: बीसीसीआई
प्रतिक्रिया 4