News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत मेडिकल हाउस अफिसर र निमित्त उपकुलपतिबीच चारबुँदे सहमति भएसँगै उनीहरू काममा फर्केका छन् ।
- हाउस अफिसरहरूले आधारभूत तलब कम भएको भन्दै गत २५ जेठदेखि उपकुलपति कार्यालय परिसरमा धर्ना दिएर आन्दोलन गर्दै आएका थिए ।
- प्रतिष्ठानमा पदाधिकारी नियुक्त र कार्यकारिणी समिति गठन भएपछि पहिलो बैठकमै माग सम्बोधनका लागि सिफारिस गर्ने सहमति भएको छ ।
२८ जेठ, सुनसरी । आन्दोलनरत मेडिकल हाउस अफिसर समूह र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिबीच बिहीबार चारबुँदे सहमति भएको छ । सहमति भएसँगै हाउस अफिसरहरू काममा फर्केका छन् ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बूकाअनुसार माग सम्बोधन गर्न प्रतिष्ठानमा पदाधिकारी नियुक्त भई कार्यकारिणी समिति (कास) को गठन भएपछि पहिलो बैठकमा पेस गर्न सिफारिस गर्ने सहमति भएको छ ।
उनले भने, ‘अहिले बीपी प्रतिष्ठान पदाधिकारीविहीन छ । कास पनि गठन भएको छैन । उहाँहरूको माग सम्बोधन गर्न पूर्णकालीन पदाधिकारी र कासको अधिकार क्षेत्रमा पर्ने भएकाले जुन बेला पदाधिकारी नियुक्त हुन्छन् र कास गठन हुन्छ, त्यसै बेला सिफारिस गर्ने सहमति भयो ।’
मेडिकल अफिसरहरूले आफूहरूलाई आधारभूत तलब ३४ हजार ५ सय रुपैयाँ मात्र दिएको र उक्त रकम वर्तमान आर्थिक अवस्था, कार्यबोझ तथा पेशागत जिम्मेवारीसँग कुनै पनि रूपमा मेल नखाने भन्दै आन्दोलित भएका थिए ।
हाउस अफिसरहरूले २५ जेठदेखि उपकुलपति परिसरमा धर्ना दिँदै आएका थिए । सहमति अनुसार नेपाल सरकारबाट राष्ट्र सेवक कर्मचारीहरूलाई उपलब्ध गराउन २०८२ साउनदेखि लागु हुने गरी बढेको ३ हजार रुपैयाँ भत्ता रकम प्रतिष्ठानको सम्पूर्ण शिक्षक, कर्मचारीहरूलाई समेत हालसम्म उपलब्ध नगराइएकोले सबैलाई उपलब्ध गराउँदा हाउस अफिसरहरूलाई पनि उक्त रकम उपलब्ध गराउने गरी आवश्यक निर्णय गर्न सिफारिस गर्ने सहमति भएको छ ।
दुई पक्षीय सहमतिमा निमित्त उपकुलपति डा. लिम्बू, विभागीय प्रमुखका तर्फबाट सर्जरी विभाग प्रमुख प्राडा शैलेश अधिकारी, स्त्री तथा प्रसूति विभागका एसोसिएट प्रोफेसर डा. सूर्यप्रसाद रिमाल, हाउस अफिसरहरू डा. पुजन पोखरेल, डा. प्रागेस महतो, डा. विवेक मिश्र र निर्देशक यादवले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4