News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर अभियान शुरु गरेको छ।
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य सेवा पुर्याउने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि विभिन्न सार्वजनिक स्थानमा निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर सञ्चालन सुरु गरेको हो ।
महानगरपालिकाका अनुसार मानसिक स्वास्थ्य प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ सँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो । यस अभियानले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक परामर्श तथा आवश्यक सेवामा पहुँच विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
‘स्पीड काउन्सिलिङ’ मोडलमा आधारित शिविरमार्फत सेवाग्राहीले १५ मिनेटसम्म व्यक्तिगत तथा गोप्य परामर्श लिन सक्नेछन् ।
मानसिक तनाव, चिन्ता, डिप्रेसन, पारिवारिक समस्या वा अन्य मनोसामाजिक चुनौती सामना गरिरहेका व्यक्तिहरूले विशेषज्ञबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्ने महानगरले जनाएको छ ।
महानगरका अधिकारीहरूका अनुसार अभियानको उद्देश्य परामर्श सेवा प्रदान गर्नु मात्र नभई मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकोच, भ्रम र लाञ्छनालाई कम गर्नु पनि हो ।
त्यसका लागि विशेष टोलीहरूले समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, घरदैलोमा मानसिक स्वास्थ्य शिक्षा दिने तथा परिवारसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
महानगरका अनुसार मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न हिस्सा बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो ।
शिविर तालिका
(जुन १३) — भगवान पाउ पार्क (बिहान ८–११ बजे), कमलपोखरी (दिउँसो ४–७ बजे)
(जुन १४) — हनुमान मन्दिर, खरिबोट (दिउँसो ४–७ बजे)
(जुन १५) — बौद्ध स्तूप (दिउँसो ४–७ बजे)
(जुन १७) — ठहिटी–नानी, इटुम्बहाल (बिहान ११–दिउँसो २ बजे)
(जुन १८) — गहना पोखरी (दिउँसो ४–७ बजे)
(जुन १९) — चिबाहाल दम्तोल (बिहान ९–१२ बजे)
(जुन २०) — हाँडीगाउँ डबली (दिउँसो २–६ बजे)
(जुन २१) — काठमाडौं दरबार स्क्वायर (दिउँसो ४–७ बजे)
प्रतिक्रिया 4