+
+
Shares

अस्पतालमा अत्यासलाग्दो भिड, टिकट काट्ने लाइनमै बेहोस हुन्छन् बिरामी

‘राम्रो इलाज हुन्छ भनेर आएको,’ उनले भावुक हुँदै भने, ‘तर हामीजस्ता निमुखाको पीडा कसैले सुन्दा रहेनछन् ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ जेठ १८ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चार दिनको सार्वजनिक बिदापछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार ओपीडी सेवा लिन आएका बिरामीहरूले घण्टौंसम्म सास्ती खेपेका छन् ।
  • अस्पतालमा कोटा प्रणाली र टिकट काउन्टरको ढिलासुस्तीका कारण बिरामीहरू खानेपानी र बस्ने ठाउँविना नै टन्टलापुर गर्मीमा घण्टौं लाइन बस्न बाध्य भएका छन् ।
  • अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बिरामीको चापलाई गुणस्तरीय सेवाप्रतिको विश्वास भन्दै अनलाइन टिकट प्रणालीलाई सरल बनाउन काम भइरहेको बताउनुभयो ।

१८ जेठ, काठमाडौं । २९ वर्षका छोटु मोहम्मद श्रीमतीको काखमा टाउको राखेर अस्पतालको बेन्चमा लम्पसार परेका छन् । शरीरका हातखुट्टा अस्वाभाविक रूपमा सुन्निएका छन् । पेट फुलेको छ । आँखा पूरै पहेँलो देखिन्छ । बोल्न खोज्दा स्वर निस्कँदैन, निस्किए पनि थरथराउँछ ।

सोमबार दिउँसो १२ बजे महारागञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुग्दा ओपीडी टिकट काउन्टर परिसरमा भेटिएका छोटुको अनुहारमा रोगको पीडा मात्र होइन, उपचार नपाएको असहायपन पनि स्पष्ट देखिन्थ्यो ।

आँखाभरि आँसु पार्दै उनले बिस्तारै भने, ‘उभिन सक्दिनँ । यति गार्‍हो हुँदा पनि अहिलेसम्म डाक्टरलाई देखाउन पाइनँ ।’

सर्लाहीबाट उपचारको आशामा काठमाडौं आएका छोटु र उनकी श्रीमती नहिमा खातुनका लागि राजधानीको ठूलो अस्पताल भरोसाको केन्द्र बन्नुपर्ने थियो । तर उनीहरूको पहिलो अनुभव भने अन्योल र निराशामा परिणत भयो ।

आइतबार साँझ उनीहरू टिचिङ पुगेका थिए । शरीरको अवस्था बिग्रँदै गएको थियो । कसैले आकस्मिक कक्षमा जान सुझाव दियो । उनीहरू त्यहीँ पुगे ।

तर त्यहाँबाट उनीहरूले अपेक्षा गरेको उपचार पाएनन् ।

छोटुका अनुसार चिकित्सकले उनलाई भोलिपल्ट ओपीडीमा देखाउन भन्दै फर्काइदिए । अपरिचित शहरमा कहाँ जाने ? कसलाई सोध्ने ? के गर्ने ? केही थाहा थिएन ।

‘शरीर पूरै दुखेको छ । पिसाब पनि पहेँलो आउँछ । मर्न लागेजस्तो भइरहेको छ,’ उनले पीडा सुनाए, ‘आकस्मिकमा भर्ना हुन एम्बुलेन्समा आउनुपर्ने रहेछ । हामी त हिँडेरै आएका थियौँ, त्यसैले डाक्टरलाई देखाउन पाइनँ ।’

त्यसपछि उनीहरूले अस्पताल नजिकैको होटलमा रात बिताए ।

बिहान करिब ७ बजे उनीहरू फेरि अस्पताल पुगे । ओपीडीको लाइनमा उभिए । छोटु कमजोर भएकाले उभिनै सकेनन् । श्रीमती (नहिमा) नेपाली भाषा राम्रोसँग बुझ्दिनन् । धेरै सोधपुछ र भौंतारिएपछि बिहान ९ बजेतिर टिकट काटे । तर त्यसपछि सुरु भयो अर्को प्रतीक्षा ।

पालो कुर्दाकुर्दै समय बित्दै गयो । ११ बजे ओपीडी सेवा बन्द भयो । तर छोटुको पालो आएन ।

दिउँसो १२ बज्दासम्म उनीहरूले खाना समेत खाएका थिएनन् ।

श्रीमतीको काखमा टाउको राखेर सुतेका छोटु बारम्बार एउटै कुरा दोहोर्‍याइरहेका थिए– पहिला डाक्टरलाई देखाउन पाएको भए हुन्थ्यो ।

उनी अस्पतालको भिडतर्फ हेर्थे र फेरि आँखा बन्द गर्थे । उनी आफ्नो रोगभन्दा बढी उपचारको प्रतीक्षासँग लडिरहेका छन् ।

छोटुको जीवन केही महिनाअघिसम्म सामान्य थियो । उनी भारतमा कपडा सिलाइको काम गर्थे । त्यही कामले परिवारको गुजारा चलिरहेको थियो ।

दुई महिनाअघि अचानक स्वास्थ्यमा समस्या देखिन थाल्यो । शरीर कमजोर हुँदै गयो । आँखा पहेँलो देखिन थाले । काम गर्न सक्ने अवस्था रहेन ।

उनी गाउँ फर्किए । वीरगञ्जको एक अस्पतालमा केही समय उपचार गराए । स्वास्थ्यमा सुधार आएन । बरु दिनप्रतिदिन शरीर गल्दै गयो ।

छिमेकीहरूले अन्तिम आशाका रूपमा काठमाडौं जान सल्लाह दिए ।

त्यही आशा बोकेर छोटु आइतबार बिहानै घरबाट काठमाडौं निस्किएका थिए । तर राजधानी आइपुग्दा उनले सोचेको जस्तो सहज उपचार प्रक्रिया भेटिएन ।

‘राम्रो इलाज हुन्छ भनेर आएको,’ उनले भावुक हुँदै भने, ‘तर हामीजस्ता निमुखाको पीडा कसैले सुन्दा रहेनछन् ।’

०००

सोमबार बिहान करिब ११ बजे अनलाइनखबरकर्मी टिचिङमा पुग्दा ओपीडी टिकट परिसरमा बिरामीको लामो लाइन देखिन्थ्यो । अस्पतालको मुख्य भवनबाहिरदेखि नै लाइन फैलिएको थियो । कोही हातमा पुराना रिपोर्ट बोकेर उभिएका थिए ।

घण्टौं लाइनमा उभिँदा खुट्टा गलिसकेका उनीहरू चिसो भुइँमै टुसुक्क बसेर पालो कुरिरहेका थिए । कतिपय भित्तामा अडेस लागेका थिए ।

उपचारका लागि अस्पताल आइपुगेका उनीहरूका लागि टिकट लिनु नै अर्को परीक्षा जस्तै बनेको थियो । अत्यधिक गर्मीले अवस्था झन् कष्टकर बनेको थियो ।

लाइनमा बसेका अधिकांश बिरामी र आफन्तको गुनासो एउटै थियो– टोकन प्रणाली सञ्चालनमा नहुँदा अनावश्यक रूपमा घण्टौं लाइन बस्नुपरेको छ ।

ओपीडी सेवा लिन आएका बिरामीहरू टिकट काउन्टरको ढिलासुस्ती, अत्यधिक भिड, बस्ने व्यवस्था नहुनु र सरसफाइको कमजोर अवस्थाका कारण सास्ती खेप्न बाध्य छन् ।

बिरामीको चाप बढ्दै जाँदा सेवा व्यवस्थापन भने थप अस्तव्यस्त बन्दै गएको गुनासो उनीहरूको छ ।

‘बिरामी भएर अस्पताल आएको, उपचारभन्दा पहिले लाइनले नै थला पार्ने भयो,’ बिरामी राधिका ढकालले आक्रोस पोखिन्, ‘ अस्पताल जस्तो संवेदनशील ठाउँ चार दिन बन्द हुन्छ । बिहानदेखि लाइनमा बसेका छौं, अहिलेसम्म उपचार पाएका छैनौं ।’

१४ जेठदेखि १७ जेठसम्म सार्वजानिक बिदा हुँदा अस्पतालमा ओपीडी खुलेन । त्यसको भार सोमबार एकैपल्ट देखियो ।

नुवाकोटकी ढकाल बिहान ९ बजेदेखि लाइनमा बसिन् । तर दिँउसो एक बज्दासम्म पनि उपचार प्रक्रिया नबढेको भन्दै आक्रोशित भइन् । उनलाई शरीर दुख्ने समस्या छ ।

‘काउन्टर खुलेको केही समयमै हाडजोर्नी विभागको कोटा सकियो भनियो,’ ढकालले समस्या सुनाइन्, ‘ बिरामी डाक्टरलाई देखाएपछि मन शान्त हुन्छ भनेर आउँछन् । तर टिकटै छैन भन्ने जवाफ पाइन्छ ।’

बिहानी सत्रमा डाक्टरलाई देखाउन नपाएपछि उनी दिँउसो देखाउन कुरिन् । तर बस्ने ठाँउ भएन । लाइनमा नबस्दा अर्कोले पालो मिच्ने डर भयो।

‘दुई घण्टाभन्दा बढी भयो लाइनमा बसेको । उपचार गर्न आएको मान्छे खुट्टाको रोग थपेर फर्किनुपर्ने अवस्था भयो,’ ढकालले गुनासो पोखिन् ।

स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकारले कर्मचारीलाई थप गरेर वा प्रोत्साहन भत्ता उपलब्ध गराए भएपनि सेवा खुलाउनुपर्ने उनको धारणा छ ।

‘चार दिन बन्द भएपछि थप काउन्टर खोल्नुपर्‍थ्यो, थप कर्मचारी राख्नुपर्‍थ्यो । बिरामीको चाप अनुमान गर्न सकिन्थ्यो । तर कुनै तयारी देखिएन । जताजतै भद्रगोल मात्रै छ,’ ढकाल भन्छिन् ।

रापिलो गर्मी र भिडभाडले एक बिरामी आलसतालस बनिन् । चिट्चिट् पसिना आएको देखेपछि अर्का बिरामीले पानी दिए । एक बोतल पानी टाउकोबाट शरीरमा खन्याइन् ।

त्यसपछि ओपीडीको भिडबाट ती बिरामी निस्किइन । ‘यस्तो भिडभाड र गर्मीले बेहोस जस्तै भएँ,’ ती बिरामीले भनिन्, ‘ कहिले सुधार होला सरकारी अस्पतालको स्वास्थ्य सेवा ।’

त्यही परिसरकै भिडमा भेटिइन्– उदयपुरबाट उपचारका लागि आएकी गंगामाया राई । अस्पतालको अव्यवस्थित सेवाप्रति गुनासो पोख्दै भनिन्, ‘बिहानै खाली पेटमा चेकअप गर्नुपर्छ भनेर अस्पताल आइयो । साढे ११ बजेदेखि लाइनमा बसेको छु । तर काउन्टर अझै खुलेको छैन ।’

टिकट लिनै सेवाग्राहीले घण्टौं कुर्नुपर्ने हुन्छ । त्यसपछि डाक्टर भेट्ने, एक्स–रे गर्ने, रगत परीक्षण गर्ने लगायतका सेवाका लागि फेरि छुट्टाछुट्टै लाइन बस्नुपर्ने बाध्यता छ ।

‘जताजतै लाइन बाहेक केही छैन । डाक्टरलाई देखाउन नै रातपर्छ जस्तो छ । रिपोर्ट कहिँले आउने ?,’ राईले गुनासो गरिन्, ‘ नयाँ सरकार आएपछि स्वास्थ्य सेवा सुधार हुन्छ लागेको थियो । तर झन् सास्ती पो थपियो ।’

राईले अस्पतालमा तत्काल टोकन प्रणाली लागु गर्नुपर्ने माग पनि गरिन् । ‘टोकन सिस्टम भएको भए बिरामीले यसरी लाइनमा बस्नुपर्दैनथ्यो । आफ्नो पालो कहिले आउँछ भन्ने थाहा हुन्थ्यो,’ राई भन्छिन्, ‘ लाइनकै सास्ती भयो ।’

ओपीडी टिकटको लाइनमा दुई घण्टादेखि उभिरहेका कृष्णप्रसाद नेपालको उही गुनासो थियो । नेपाल सोमबार बिहान श्रीमतीको उपचारका लागि टिचिङ पुगेका थिए ।

टाउको दुख्ने र रिंगटा लाग्ने समस्याले पीडित श्रीमतीलाई उपचारभन्दा पहिले टिकट लिनै तीन घण्टाभन्दा बढी समय लाइनमा बिताउनुपरेको गुनासो गरे ।

‘तीन घण्टादेखि उभिनु परेको छ । गर्मी उस्तै छ । बस्ने ठाँउ छैन । खानेपानी छैन,’ सरकारलाई प्रश्न गर्दै नेपाल भन्छन्, ‘ अझै जनताले कति सास्ती भोग्नुपर्छ ?’

सेवाग्राहीको चापलाई ध्यानमा राखेर टिकट वितरण प्रणाली सुधार गर्नुपर्ने नेपालको भनाइ छ ।

‘जनशक्ति थप गरेर भए पनि सेवा दिनुपर्ने हुन्थ्यो । बिरामी भोकै घण्टौंदेखि लाइनमा बसेका छन्,’ नेपाल भन्छन्, ‘ उपचार खोज्दै आएका बिरामीलाई थप पीडा दिने होइन, सहज सेवा दिने वातावरण बनाउनुपर्छ ।’

दैनिक ३ हजार बढी बिरामी उपचारका लागि पुग्ने टिचिङ अस्पताल विपन्न, गरिब वर्गका लागि आशा र भरोसाको केन्द्र हो ।

तर विकट तथा दुर्गम भेगबाट जुन अपेक्षा अनुसारको सेवाका साथ अस्पताल पुग्छन्, उनीहरूले पाइला–पाइलामा सास्ती भोग्नुपर्छ ।

सर्वसाधारणलाई बाहिर पर्याप्त बस्ने ठाउँ छैन । अस्पतालमा घण्टौं लाइन बस्दा र रिपोर्ट लिन यताउति दौडिँदा-दौडिँदै व्यथा झन् बढ्ने खतरा छ ।

अव्यवस्थित भिडभाडका कारण छिटो र सहज सेवा–सुविधा पाउन नपाएकामा अधिकांश सेवाग्राही दिक्क देखिन्थे ।

ती मध्ये एक थिइन् – नवलपुरबाट उपचारका लागि आएकी संगीता पोखरेल ।

घुँडा दुख्ने समस्याको जाँच गराउन आएकी पोखरेलले अस्पतालको अव्यवस्था र ढिलासुस्तीको बारेमा कटाक्ष गरिन् ।

‘अस्पतालको नियम हो वा बेथिति हो, बुझ्न सकिनँ,’ पोखरेलले भनिन्, ‘ लाइन बसेको घण्टौंपछि आजको टिकट सकियो भनिन्छ । यो त बिरामीमाथि नै ज्यादती नै भयो ।’

अस्पतालको शौचालय अवस्थाप्रति पनि उनले गुनासो गरिन् । ‘शौचालय जान सकिने छैन । ढोकामा चुकुल छैन । फोहोर उस्तै छ,’ उनले भनिन्, ‘अस्पताल बिरामी निको हुने ठाउँ हो । तर झन् स्वास्थ्य समस्या थपिने जस्तो देखियो ।’

दुई दिनको बिदाको निर्णयले स्वास्थ्यकर्मीलाई राहत दिए पनि सेवा लिन आएका बिरामीहरूका लागि भने सास्ती बढेको देखिन्छ ।

सोमबार दिउँसो अस्पतालको ओपीडी वरिपरि देखिने दृश्यले भनिरहेको थियो– स्वास्थ्य सेवामा दुई दिनको बिदाले बिरामीको पीडा झन् बढाइरहेको छ ।

अस्पताल प्रशासन भन्छ – भिड होइन, गुणस्तरीय सेवाको चाप हो

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने अस्पतालमा देखिने भिडलाई समस्या रूपमा हेर्न नहुने तर्क अगाडि सार्छन् । अस्पतालमा भएको चापलाई सेवा लिने बढ्दो विश्वासको रूपमा हेनुपर्ने उनको जिकिर छ ।

‘अस्पतालको नाम र सेवा राम्रो भएकाले बिरामीको चाप बढेको हो । यसलाई हामी व्यवस्थापनको दृष्टिले हेर्छौं,’ डा. सेढाईं भन्छन् ।

हाल टिचिङमा दैनिक तीन हजारभन्दा बढी बिरामी आउँछन् । आइतबार सार्वजानिक बिदा नहुँदा बिरामी संख्या २ हजार ३ सय देखि २ हजार ५ सयको हाराहारीमा हुन्थ्यो ।

ओपीडी टिकट काउन्टर, फार्मेसी र बिलिङ काउन्टरमा सबैभन्दा बढी भिड देखिन्छ । अहिले अस्पतलाको ओपीडी दुई सत्रमा चल्छ । बिहान ७ बजे ओपीडी काउन्टर खुल्छ । दिँउसो ११ बजे बन्द हुन्छ । त्यसपछि दिँउसो १ बजेको खोलिएको ओपीडी ५ बजे बन्द हुन्छ ।

डा. सेढाईंका अनुसार बिहानै धेरै बिरामी एकै समयमा पुग्ने भएकाले चाप एकैपटक देखिन्छ । अस्पतालले बिरामीको चाप घटाउन दुई वर्षदेखि अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याए पनि अपेक्षित प्रयोग नभएको प्रवक्ता सेढाईंले बताए ।

‘अनलाइनबाट टिकट काट्ने संख्या वृद्धि नै गर्न सकिएन । अस्पतालमा २० लाखको कारोबार क्यूआरबाट हुन्छ,’ डा. सेढाईंले भने, ‘तर अनलाइनमार्फत टिकट काट्ने कुरा बिरामीलाई पनि बुझाउन नसकिएको हो कि !’

अनलाइन प्रणालीलाई अझ सरल बनाउन आईटी टोलीसँग काम भइरहेको उनले बताए । साथै, स्वयंसेवकमार्फत बिरामीलाई अनलाइन टिकटमा प्रोत्साहित गर्न ओपीडी परिसरमै नै बुथ राख्न लागेको उनले जानकारी दिए ।

अस्पतालले केही विभागमा गुणस्तरलाई ध्यानमा राख्दै कोटा प्रणाली लागु गरेको छ । त्यसबारे बिरामीलाई स्पष्ट जानकारी नहुँदा असन्तुष्टि आउने गरेको डा. सेढाईंले बताए । अब कोटा बाँकी संख्या स्क्रिनमै देखिने प्रणाली लागु गर्ने तयारी अस्पताल प्रशासनको छ ।

‘चाप धेरै हुँदा डाक्टरले बिरामीलाई समय दिएर हेर्ने अवस्था हुँदैन । गुणस्तरलाई ध्यानमा राख्दै केही विभागमा कोटा प्रणाली लागु गरेका हौं,’ उनी भन्छन् ।

यसअघि प्रयोग गरिएको टोकन प्रणाली प्रभावकारी नभएको निष्कर्ष निकाल्दै हटाइएको उनले बताए । टोकन लिएर बिरामी नआउने भएकाले कोटा व्यवस्थापन बिग्रने समस्या देखिएपछि लाइन प्रणाली पुनः अपनाइएको डा. सेढाईंको भनाइ छ । अस्पतालले बिहानको तुलनामा दिउँसोको ओपीडी सेवा अपेक्षाकृत खाली हुने भएकाले सो समय प्रयोग गर्न बिरामीलाई आग्रह गरेको छ । दिउँसो ३ बजेपछि धेरै ओपीडीमा चाप घट्ने भएकाले सेवा लिन सजिलो हुने अस्पतालको दाबी छ ।

तस्बीर र भिडियो : चन्द्रबहादुर आले ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?