News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीले आर्टिफिसियल इन्टेलिजेन्सलाई अमेरिकासँगको सहकार्यका लागि नयाँ क्षितिजका रूपमा व्याख्या गरेको छ ।
- चिनियाँ र अमेरिकी राष्ट्रपतिबीचको समझदारी अनुसार दुवै देशले एआई प्रविधिको क्षेत्रमा सरकारी स्तरको संवाद संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।
- चीनले एआई प्रविधिलाई राजनीतिकरण र हतियारको रूपमा प्रयोग गर्न खोजेको भन्दै चिप निर्यातमा अमेरिकी नियन्त्रणको आलोचना गरेको छ ।
१८ जेठ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’ ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई अमेरिकासँगको सहकार्यका लागि एक ‘नयाँ क्षितिज’ का रूपमा व्याख्या गरेको छ। सोमबार एक सम्पादकीय टिप्पणी प्रकाशित गर्दै पिपल्स डेलीले एआई प्रविधिलाई दुई देशबीचको द्विपक्षीय सम्बन्धमा कसरी जोड्न सकिन्छ भन्नेबारे बेइजिङको स्पष्ट धारणा सार्वजनिक गरेको हो।
यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत महिना सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भएको समझदारीको पृष्ठभूमिमा आएको हो। त्यस भ्रमणका क्रममा दुवै नेताले एआई प्रविधिबारे छलफल गर्दै यस क्षेत्रमा सरकारी स्तरको संवाद संयन्त्र स्थापना गर्ने सहमति गरेका थिए।
सम्पादकीयमा विश्वले एआई प्रविधिको क्षेत्रमा कुनै पनि प्रकारको ‘आयरन कर्टेन’ वा यस प्रविधिलाई प्रतिद्वन्द्वी शक्ति केन्द्रहरूमा विभाजन गर्ने प्रयास नचाहेको उल्लेख गरिएको छ। एआई क्षेत्रलाई पूर्ण प्राविधिक विच्छेद (टेक्नोलोजिकल डिकपुलिङ) को नयाँ मोर्चा बनाउनुको सट्टा प्रतिस्पर्धा र सहकार्य सँगसँगै अघि बढ्ने क्षेत्रका रूपमा राखिनुपर्ने तर्क चिनियाँ सञ्चारमाध्यमले गरेको छ।
दुई प्रमुख एआई शक्तिका रूपमा चीन र अमेरिकाले यसको विकास र सुशासनका लागि सँगै काम गर्नुपर्ने र मानव कल्याण तथा विश्वव्यापी विकासका लागि यो प्रविधि उपयोगी हुने कुरामा दुवै देशको साझा हित रहेको टिप्पणीमा लेखिएको छ।
वासिङ्टनको कडा नीतिप्रति बेइजिङको पुरानो आलोचनालाई एआई क्षेत्रमा पनि जोड्दै अमेरिकाका ‘केही मानिसहरू’ ले यस प्रविधिलाई निषेधको राजनीतिका रूपमा हेरेको आरोप चीनले लगाएको छ।
अमेरिकाले लगानीमा प्रतिबन्ध, चिप निर्यातमा नियन्त्रण र क्लाउड कम्प्युटिङमा रोक लगाएर एआई प्रविधिलाई राजनीतिकरण र हतियारको रूपमा प्रयोग गर्न खोजेको दाबी चिनियाँ पक्षको छ। गत मे १९ मा सार्वजनिक भएको द्विपक्षीय एआई संवाद संयन्त्रले रचनात्मक छलफलमा जोड दिएको भए पनि यस पहललाई लिएर दुवै देशका आफ्नै फरक-फरक दृष्टिकोणहरू रहेका छन्।
प्रतिक्रिया 4