+
+
Shares

ट्रम्पले सेयर गरे कमेडियनलाई फोहोरको डब्बामा फ्याँकेको एआई भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमेडियन स्टिफन कोलबर्टलाई फोहोरको डब्बामा फ्याँकेको एआई भिडियो सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ।
  • कोलबर्टले ११ वर्षपछि सीबीएसको ‘द लेट शो’ बाट बिदा लिएका छन् र शो बन्द हुनुमा राजनीतिक दबाबको आशंका गरिएको छ।
  • ‘द लेट शो’ फ्रेन्चाइजको अन्त्यसँगै अमेरिकामा लेट-नाइट टीभीको स्वरूप सामाजिक सञ्जालतर्फ सरेको देखिएको छ।

९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक कमेडियनलाई फोहोरको डब्बामा फ्याँकेको एउटा एआई जेनरेटेड भिडियो सेयर गरेका छन्। यस कदमले सामाजिक सञ्जालमा नयाँ विवाद निम्त्याएको छ।

ती प्रख्यात अमेरिकी कमेडियन स्टिफन कोलबर्ट र ट्रम्पबीच लामो समयदेखि दुश्मनी चल्दै आएको छ। कोलबर्टले आफ्नो शोमा लगातार ट्रम्प, उनका नीतिहरू र ‘मागा’ आन्दोलनको खिल्ली उडाउँदै आएका थिए भने ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पटक-पटक कोलबर्टलाई निसानामा पार्दै आएका थिए।

कोलबर्टले शुक्रबार करिब ११ वर्षपछि सीबीएसको ‘द लेट शो’ बाट बिदा लिएका छन्। यो शो बन्द भएलगत्तै ट्रम्पले एआईद्वारा निर्मित भिडियो सेयर गरे।

उक्त भिडियोमा ट्रम्पले कमेडियन कोलबर्टलाई घसार्दै फोहोरको डब्बामा फ्याँकेको र त्यसपछि आफ्नो चर्चित डान्स स्टेप्स देखाएको देखिन्छ। यस क्रममा भिडियोको ब्याकग्राउन्डमा ‘वाईएमसीए’ गीत बजिरहेको छ।

राजनीतिक दबाबको आशंका

‘द लेट शो’ बन्द भएको विषयमा सीबीएसले यसलाई हटाउने निर्णय पूर्ण रूपमा आर्थिक कारणले मात्र लिइएको स्पष्ट पारेको छ। तर, आलोचकहरूले भने यसको पछाडि ह्वाइट हाउसको राजनीतिक दबाब हुन सक्ने आरोप लगाएका छन्।

कोलबर्ट आफैँले पनि शो बन्द हुनुमा ट्रम्पलाई सिधै जिम्मेवार ठहराएका छैनन्, तर धेरै कमेडियन र उनका समर्थकहरूले भने यस्तै सङ्केत गरेका छन्।

शोको अन्तिम शृङ्खला (फिनाले) भन्दा एक दिनअघि प्रख्यात रक स्टार ब्रुस स्प्रिंगस्टिनले कोलबर्टलाई भनेका थिए, ‘तिमी अमेरिकाको यस्तो पहिलो व्यक्ति हौ, जसले राष्ट्रपतिले ठट्टा (मजाक) सहन नसकेकै कारण आफ्नो जागिर गुमाउनु पर्‍यो।’

कोलबर्टको बहिर्गमनसँगै ‘द लेट शो’ फ्रेन्चाइजको एउटा लामो युग समाप्त भएको छ। यस शोको सुरुवात सन् १९९३ मा डेविड लेटरम्यानले गरेका थिए।

अब यसलाई अमेरिकामा लेट-नाइट टीभीको बदलिँदो स्वरूपको सङ्केतका रूपमा हेरिएको छ, जहाँ दर्शकहरू परम्परागत टीभीको सट्टा सामाजिक सञ्जाल र अनलाइन क्लिपहरू बढी रुचाउन थालेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?