News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको तीव्र विकासले मानवका लागि खतरा निम्त्याउन सक्ने भन्दै किल स्विच आवश्यक रहेको बताए।
कृत्रिम बौद्धिकता अर्थात एआईको तीव्र विस्तारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत झस्काएको छ । त्यसैले यो प्रविधिको सीमारहित विकास र विस्तार रोक्न अनि उन्नत एआई प्रणालीलाई नियन्त्रण गर्नका लागि किल स्विच आवश्यक रहेको ट्रम्पले बताएका छन् ।
फक्स न्यूज नेटवर्कमा प्रशारित एक अन्तर्वार्तामा ट्रम्पले एआइको विकास अभूतपूर्व गतिमा भइरहेका कारण यसले भविष्यमा मानवका लागि खतरा निम्त्याउन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नसकिने बताएका छन्।
एआईले बैंकिङजस्ता क्षेत्रलाई अझ सुरक्षित र प्रभावकारी बनाउनमा भूमिका खेल्नसक्ने भए पनि योसँग गम्भीर जोखिमहरू पनि जोडिएको उनको भनाइ छ । बैंकिङ प्रणालीको स्थिरतामा एआईले असर पार्न सक्ने पूर्ण सम्भावना रहेको ट्रम्पको ठहर छ ।
उनले एआईको विकासमा कडा सरकारी निगरानी आवश्यक रहेकोमा जोड दिँदै किल स्विचजस्ता उपायबारे विचार गर्नुपर्ने ट्रम्पले बताए । किल स्विच भनेको कुनै सिस्टमलाई आपतकालीन अवस्थामा तुरुन्त बन्द गर्ने सुरक्षा व्यवस्था हो ।
एआईको सन्दर्भमा यो यस्तो संयन्त्र हो जसले कुनै पनि एआई प्रणाली अनियन्त्रित वा खतरनाक बनेमा त्यसलाई तुरुन्त रोक्न प्रयोग गरिन्छ । यद्यपि किल स्विच सिस्टम कसरी सञ्चालन हुने र यसको नियन्त्रण कसको हातमा रहने भन्नेबारे चाहिँ ट्रम्पले केही पनि उल्लेख गरेका छैनन् ।
एआई कम्पनी एन्थ्रोपिकले विकास गरेको नयाँ एआई मोडेल क्लाउड माइथोसका विषयमा साइबर सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरिरहेको समयमा ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । उक्त एआई मोडेलले साइबर आक्रमणलाई अझ जटिल र शक्तिशाली बनाउन सक्ने विज्ञहरूको चिन्ता छ ।
तर यसबारे प्रतिक्रिया दिँदै एन्थ्रोपिकले आफ्नो उक्त एआई मोडेल क्लाउड माइथोसको प्रिभ्यू आम प्रयोगकर्ताका लागि व्यापक रूपमा उपलब्ध नगराइने स्पष्ट पारेको छ । साथै कम्पनीले यसलाई सीमित रूपमा विभिन्न साझेदार संस्थासँग प्रयोग गर्दै सफ्टवेयरका कमजोरी पहिचान गर्न उपयोग गरिरहेको जनाएको छ ।
अमेरिकी सरकारले पनि एन्थ्रोपिकलाई आपूर्ति श्रृंखला जोखिमको श्रेणीमा राखेको छ र संघीय निकायहरूलाई कम्पनीका उपकरण प्रयोग गर्नमा रोक लगाइएको छ ।
एजेन्सी
प्रतिक्रिया 4