News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि देशभरका २५ वटा केन्द्रमार्फत स्वर्णप्राशन पाइलट कार्यक्रम सञ्चालन गरिरहेको छ।
मानव सभ्यताको विकाससँगै एउटा प्रश्न सधैं जीवित रह्यो, भावी पुस्तालाई कसरी स्वस्थ, सक्षम र बुद्धिमान बनाउने ?
यही प्रश्नको उत्तर खोज्ने क्रममा संसारका विभिन्न सभ्यताहरूले आफ्ना स्वास्थ्य परम्परा, संस्कार र उपचार पद्धतिहरू विकास गरे । आयुर्वेदले आज होइन, हजारौं वर्षअघि नै बालस्वास्थ्यलाई छुट्टै चिकित्सा विधाका रूपमा स्वीकार गरिसकेको थियो ।
हाल विज्ञहरूले जीवनको प्रारम्भिक पाँच वर्षलाई बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेका छन् ।
आयुर्वेदका अष्टाङ्गमध्ये ‘कुमारभृत्य’ अर्थात् बालरोग विज्ञानलाई विशेष महत्व दिइएको पाइन्छ । यही शाखाअन्तर्गत वर्णित एक महत्वपूर्ण अभ्यास हो, स्वर्णप्राशन ।
स्वर्णप्राशन आयुर्वेदमा पुरानो औषधि भए पनि हालै मात्र नेपाल सरकारले यसलाई पाइलट कार्यक्रमका रूपमा सञ्चालन गरिरहेको छ ।
भारतमा भने स्वर्णप्राशनको ठूलो वर्चस्व छ । त्यहाँ आयुर्वेदिक अस्पताल, शिक्षण संस्था तथा आयुष मन्त्रालयअन्तर्गतका निकायहरूले नियमित रूपमा स्वर्णप्राशन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर नेपालमा भने समयमै फस्टाउन सकेन ।
यिनै सेरोफेरोमा हामीले कीर्तिपुरस्थित आयुर्वेदिक शिक्षण अस्पतालका आयुर्वेद बालरोग तथा कुमारभृत्य विभागका एसोसिएट प्रोफेसर एवं क्याम्पस प्रमुख डा. शिव मङ्गल प्रसादसँग कुरा गरेका थियौं ।
सोही कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ:

सरल भाषामा के हो स्वर्ण बिन्दु प्राशन ?
स्वर्णप्राशन बालबालिकालाई दिइने विशेष आयुर्वेदिक औषधीय थोपा हो । ‘स्वर्ण’ भनेको सुन र ‘प्राशन’ भनेको सेवन गराउनु । धेरै आयुर्वेदिक संस्था र अस्पतालहरूले बालबालिकालाई थोपाको रूपमा दिइने भएकाले ‘स्वर्ण बिन्दु प्राशन’ पनि भनिन्छ । यसमा मुख्य रूपमा स्वर्णभस्म प्रयोग गरिन्छ । स्वर्ण भस्मसँगै ब्राह्मी, शुद्ध मह र घिउ मिसाइन्छ ।
ब्राह्मीलाई मस्तिष्कको कार्यक्षमता र स्मरणशक्तिसँग सम्बन्धित जडीबुटी मानिन्छ । मह र घिउ पोषणयुक्त पदार्थ हुन् । यी सबैलाई निश्चित अनुपातमा मिलाएर तयार पारिएको मिश्रण बालबालिकालाई थोपाका रूपमा सेवन गराइन्छ ।
आयुर्वेदिक मान्यताअनुसार यसले बालबालिकाको शारीरिक वृद्धि, मानसिक विकास, स्मरणशक्ति, बुझ्ने क्षमता तथा रोग प्रतिरोधात्मक क्षमतामा सकारात्मक प्रभाव पार्छ ।
यसको परम्परा कसरी सुरु भयो ?
स्वर्णप्राशन हजारौं वर्ष पुरानो आयुर्वेदिक अभ्यास हो । यसको उल्लेख विशेषगरी काश्यप संहितामा पाइन्छ, जुन आयुर्वेदको बालरोग विज्ञान अर्थात् कुमारभृत्यसँग सम्बन्धित महत्वपूर्ण ग्रन्थ हो ।
आयुर्वेदले बालबालिकालाई केवल सानो आकारको वयस्कका रूपमा हेर्दैन । बाल्यावस्थालाई जीवनको छुट्टै र अत्यन्त संवेदनशील चरण मानेर त्यसअनुसार चिकित्सा र स्वास्थ्य व्यवस्थापनको सिद्धान्त विकास गरेको छ ।
स्वर्णप्राशनलाई बालबालिकाको बौद्धिक विकास, स्मरणशक्ति, ग्रहण क्षमता, रोग प्रतिरोधात्मक शक्ति तथा समग्र स्वास्थ्यसँग जोडिएको अभ्यासका रूपमा वर्णन गरिएको छ ।
हाम्रो समाजमा पनि बालबालिकासँग सम्बन्धित विभिन्न संस्कार र स्वास्थ्य अभ्यासहरू थिए । जन्मघुटी, घोटी चटाउने, विभिन्न जडीबुटीको प्रयोग गर्ने परम्परा त्यसैको हिस्सा हुन् । समयसँगै यस्ता धेरै अभ्यास हराउँदै गए । अहिले हामी तीमध्ये वैज्ञानिक आधार खोज्न सकिने अभ्यासहरूलाई पुनः अध्ययन गर्ने प्रयास गरिरहेका छौं । नेपालको पनि यसमा विशेष योगदान छ ।
अहिले किन यसको अभ्यास भइरहेको छ ?
हजारौं वर्ष पुरानो अभ्यास भए पनि स्वर्णप्राशन सरकारी कार्यक्रमका रूपमा ढिलो गरी सुरु हुनुका केही कारण छन् । मुख्यतः आयुर्वेद क्षेत्रमा बालरोग विशेषज्ञ तथा आवश्यक जनशक्ति सीमित थियो ।
यसका लागि आवश्यक संस्थागत संरचना, पूर्वाधार, अनुसन्धान र नीतिगत प्राथमिकता पनि पर्याप्त थिएन ।
पछिल्ला वर्षहरूमा आयुर्वेद सेवाप्रति जनचासो बढ्दै गयो, आयुर्वेदिक अस्पताल तथा सेवा केन्द्र विस्तार भए र बालस्वास्थ्यमा आयुर्वेदको सम्भावित योगदानबारे पनि व्यापक छलफल हुन थाल्यो । यही कारणले सरकारले अहिले यसलाई पाइलट कार्यक्रमका रूपमा अघि बढाएको हो ।
हाल नेपाल सरकारले देशभर २५ वटा केन्द्रमार्फत स्वर्णप्राशन कार्यक्रम सञ्चालन गरिरहेको छ । हाम्रो संस्थामा पनि यो कार्यक्रम गत वर्षदेखि सुरु भएको हो । सुरुमा ५३ जना, दोस्रो महिनामा यो संख्या १८२ पुग्यो, त्यसपछि पनि सहभागिता निरन्तर बढ्दै गयो । पछिल्लो कार्यक्रममा २५५ भन्दा बढी बालबालिका सहभागी भए । अहिले त कतिपय अभिभावकले पालो नपाएर फर्किनुपर्ने अवस्था समेत देखिएको छ ।
यसले अभिभावकहरूमा स्वर्णप्राशनप्रति बढ्दो विश्वास र चासो रहेको देखाउँछ । अहिले यो कार्यक्रम पाइलट चरणमा छ । यसबाट प्राप्त अनुभव, तथ्यांक र अनुसन्धानका आधारमा भविष्यमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउने लक्ष्य छ ।
अभिभावकले कसरी थाहा पाउने ?
देशभरका २५ वटा सरकारी आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेको छ । यसमा आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा केही विशेष आयुर्वेदिक संस्थाहरू समावेश छन् ।
स्वर्णप्राशन हरेक दिन दिइने कार्यक्रम होइन । आयुर्वेदमा विशेष महत्व दिइने पुष्य नक्षत्रको दिन महिनामा एक पटक यो कार्यक्रम सञ्चालन गरिन्छ । त्यसैले, यसको मिति प्रत्येक महिना फरक–फरक हुन सक्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वर्षभरिका लागि स्वर्णप्राशनको तालिका तयार गरेर सम्बन्धित संस्थाहरूलाई उपलब्ध गराउँछ ।
अभिभावकहरूले कार्यक्रमबारे जानकारी लिन सम्बन्धित आयुर्वेद अस्पताल वा स्वास्थ्य केन्द्रको फेसबुक पेज, सूचना बोर्ड तथा कार्यालयमा सम्पर्क गर्न सक्छन् ।
हाम्रो अनुभवमा धेरै अभिभावकहरू इन्टरनेट, सामाजिक सञ्जाल वा अरू अभिभावकबाट जानकारी पाएर कार्यक्रमसम्म पुग्नुभएको छ ।
स्वर्णप्राशनमा वास्तवमै सुन प्रयोग हुन्छ ?
स्वर्णप्राशनको मुख्य घटक स्वर्ण भष्मको कुरा गरौं । आयुर्वेदमा प्रयोग हुने स्वर्ण भष्म सामान्य रूपमा लगाइने सुन होइन । यसलाई विशेष शोधन (शुद्धीकरण) र मारण (औषधीय रूपान्तरण) प्रक्रियामार्फत तयार गरिन्छ । त्यसपछि ब्राह्मी, मह, घिउ लगायत बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने अन्य औषधीय पदार्थसँग निश्चित अनुपातमा मिसाएर स्वर्णप्राशन तयार गरिन्छ ।
ब्राह्मीलाई स्मरणशक्ति र एकाग्रता बढाउने जडीबुटीका रूपमा चिनिन्छ भने मह र घिउलाई पोषक तथा औषधिको प्रभाव शरीरका सूक्ष्म तन्तुसम्म पुर्याउने माध्यम मानिन्छ । यी सबैको संयोजनबाट तयार हुने स्वर्णप्राशनलाई आयुर्वेदमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि उपयोगी मानिएको छ ।
यहाँ एउटा जिज्ञासा स्वाभाविक रूपमा उठ्छ—सुन यति महँगो पदार्थ हुँदा यस्तो कार्यक्रम कसरी सम्भव भइरहेको छ ? वास्तवमा स्वर्णप्राशनमा सुनको प्रयोग अत्यन्त सूक्ष्म मात्रामा हुन्छ ।
औषधीय प्रयोजनका लागि तयार गरिएको स्वर्ण भष्मको मात्रा धेरै कम हुने भएकाले थोरै परिमाणले पनि धेरै बालबालिकालाई सेवा दिन सकिन्छ । यद्यपि, स्वर्ण भष्मको उत्पादन प्रक्रिया जटिल र खर्चिलो भएकाले यसको लागत सस्तो भने हुँदैन । हाल नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत स्वर्ण भष्म उपलब्ध गराइँदै आएको छ ।
आयुर्वेदिक दृष्टिकोणले सुनलाई केवल बहुमूल्य धातु वा गहनाको रूपमा मात्र हेरिँदैन । यसलाई शरीरको रोग प्रतिरोधात्मक क्षमता, स्मरणशक्ति, मानसिक विकास र समग्र स्वास्थ्य सुदृढीकरणमा सहयोग पुर्याउने औषधीय धातुका रूपमा वर्णन गरिएको छ ।
स्वर्णप्राशनलाई पुष्य नक्षत्रसँग किन जोडिन्छ ?
आयुर्वेदिक परम्परामा पुष्य नक्षत्रलाई पोषण र विकाससँग सम्बन्धित शुभ समय मानिन्छ । त्यसैले, स्वर्णप्राशनलाई पुष्य नक्षत्रमा गराउने परम्परा विकसित भएको हो ।
प्रत्येक महिनामा एकपटक आउने पुष्य नक्षत्रका दिन स्वर्णप्राशन गराइन्छ । व्यवहारिक कठिनाइका कारण सबैलाई ठ्याक्कै त्यही समयमा सेवा दिन सम्भव नहुन सक्छ, तर परम्परागत रूपमा यही समयलाई प्राथमिकता दिइन्छ ।
भारतका धेरै संस्थाहरूले पनि ‘स्वर्णप्राशन संस्कार’लाई पुष्य नक्षत्रसँग जोडेर सञ्चालन गर्ने गरेका छन् ।
के यो अरु देशमा पनि प्रयोगमा छ ?
भारतमा स्वर्णप्राशन नेपालभन्दा धेरै अगाडि संस्थागत रूपमा स्थापित भइसकेको छ। आयुष मन्त्रालय गठन भएपछि आयुर्वेदिक कार्यक्रमहरूलाई अझ व्यवस्थित रूपमा विस्तार गरिएको छ । भारतका धेरै आयुर्वेदिक मेडिकल कलेज, अस्पताल र अनुसन्धान संस्थाहरूमा प्रत्येक महिनाको पुष्य नक्षत्रमा स्वर्णप्राशन कार्यक्रम सञ्चालन गरिन्छ ।
कतिपय स्थानमा हजारौं बालबालिका सहभागी हुन्छन् । एआईआईएमएस भोपालको आयुष विभागले समेत नियमित रूपमा स्वर्णप्राशन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
चीन, कोरिया र जापानजस्ता देशहरूले पनि आफ्ना परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अनुसन्धानसँग जोडेर विकास गरेका छन् । नेपालमा पनि त्यस्तै सम्भावना छ । हामीसँग ज्ञान र परम्परा छ, अब त्यसलाई व्यवस्थित अनुसन्धान र नीतिगत समर्थनसँग जोड्न आवश्यक छ ।
यसले वास्तवमै फाइदा गर्छ ?
आजको युग प्रमाणमा आधारित चिकित्साको युग हो । त्यसैले, कुनै पनि अभ्यासलाई केवल परम्पराको आधारमा स्वीकार गर्न सकिँदैन । हामी पनि यही मान्यतामा विश्वास गर्छौं ।
यसै कारण अहिले स्वर्णप्राशन कार्यक्रमसँगै तथ्याङ्क संकलन र अनुसन्धानको काम भइरहेको छ । सहभागी बालबालिकाको स्वास्थ्य अवस्था, रोगको आवृत्ति, वृद्धि विकास लगायतका पक्षहरूको अध्ययन गरिरहेका छौं ।
हामी भावनाले होइन, प्रमाणले बोल्ने अवस्था सिर्जना गर्न चाहन्छौं । आगामी वर्षहरूमा नेपालबाटै स्वर्णप्राशनसम्बन्धी अनुसन्धानात्मक तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरेका छौं ।
स्वर्णप्राशनको मात्रा के हो ? कति खाने ?
आयुर्वेदमा स्वर्णप्राशन जन्मदेखि नै दिन सकिने उल्लेख पाइन्छ । व्यवहारिक रूपमा भने सामान्यतया ६ महिनापछि, जब शिशुले पूरक आहार सुरु गर्छ, त्यसपछि चिकित्सकको सल्लाहअनुसार स्वर्णप्राशन दिन थालिन्छ । केही आयुर्वेदिक केन्द्रहरूले शिशुदेखि १६ वर्षसम्मका बालबालिकालाई स्वर्णप्राशन दिने गरेका छन् । स्वर्णप्राशनको मात्रा बालबालिकाको उमेर, तौल र स्वास्थ्य अवस्थाअनुसार निर्धारण गरिन्छ ।
सामान्यतया चिकित्सकको सल्लाहअनुसार निश्चित मात्रामा दिइन्छ । नियमित सेवनले स्मरणशक्ति, एकाग्रता, रोग प्रतिरोधात्मक क्षमता तथा समग्र शारीरिक र मानसिक विकासमा सकारात्मक सहयोग पुग्ने आयुर्वेदको मान्यता छ ।
साथै, बालबालिकालाई बारम्बार हुने सामान्य संक्रमणको जोखिम कम गर्न पनि यसले मद्दत गर्न सक्ने विश्वास गरिन्छ ।
आयुर्वेदिक बलरोग विज्ञानलाई संस्थागत गर्ने प्रयास
हामीसँग ज्ञान छ, परम्परा छ, सम्भावना छ । अब त्यसलाई आधुनिक अनुसन्धान, पूर्वाधार र नीतिगत सहयोगसँग जोड्न सक्यौं भने नेपालले बालस्वास्थ्य क्षेत्रमा एउटा नयाँ मोडेल प्रस्तुत गर्न सक्छ ।
त्यो दिन आयो भने स्वर्णप्राशन केवल एउटा थोपा औषधि रहने छैन, बालस्वास्थ्य र आयुर्वेदिक अनुसन्धानको नयाँ अध्याय बन्नेछ ।
प्रतिक्रिया 4