+
+
Shares

वीपी प्रतिष्ठानमा बिरामीको थेगिनसक्नु चाप

सरकारले निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु र सातामा दुईदिन अर्थात शनिबार र आइतबार सार्वजनिक बिदा दिएको कारणले वीपी प्रतिष्ठानमा अस्पतालमा विरामीको चाप बढेको छ ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ जेठ २१ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप अत्यधिक बढेको छ ।
  • दैनिक बिरामीको सङ्ख्या ३,००० बाट बढेर ४,५०० पुगेकाले स्वास्थ्य परीक्षण र शल्यक्रियाका लागि बिरामीले लामो समय कुर्नुपर्ने भएको छ ।
  • बिरामीको चाप व्यवस्थापन गर्न प्रतिष्ठानले बीमा तथा अन्य टिकट काउण्टरको सङ्ख्या थपेर ओपिडी सेवा साँझ ५ बजेसम्म विस्तार गरेको छ ।

२१ जेठ, सुनसरी । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि पूर्वका ठूला अस्पतालमा रिफर भएर आउने विरामीहरूको अत्यधिक चाप थेग्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परेको छ ।

वीपी प्रतिष्ठान विरामीको चाप पहिलेदेखि नै थियो । तर पछिल्लो समयमा झापा विर्तामोडको विएमसी, विराटनगरको नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज धाउने विरामीहरू पनि धमाधम वीपी प्रतिष्ठानमै उपचार गर्न आउन थालेपछि चाप बढेको हो ।

अस्पताल प्रशासन प्रमुख अशोक साहकाअनुसार दुईसाता अघिसम्म वीपी प्रतिष्ठानमा दैनिक सरदर २ हजार ५ सय जनादेखि ३ हजार जनासम्म उपचारकालागि आउने गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘तर पछिल्लो एकसाता याता झापा र मोरङका अस्पतालमा जाने गरेका विमित विरामीहरू पनि वीपी प्रतिष्ठानमै आउन थालेपछि नसोचेको चाप बढेको छ ।’

उनकाअनुसार वीपी प्रतिष्ठानमा उपचार गर्न दैनिक आउने विरामीहरूको संख्या ३ हजार बाट बढेर ४ हजार २ सय देखि ४ हजार ५ सय जना पुगेको छ । उनले भने, ‘यो संख्या बढेर दैनिक ५ हजार भन्दा बढी पुग्ने अनुमान हामीले गरेका छौं र सोही अनुसार तयारीमा जुटेका छौं ।’

सरकारले निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु र सातामा दुईदिन अर्थात शनिबार र आइतबार सार्वजनिक विदा दिएको कारणले वीपी प्रतिष्ठानमा अस्पतालमा विरामीको चाप बढेको छ ।

चाप बढ्दा सबैभन्दा बढी सास्ती विरामीले नै खेप्नु पर्ने भएको छ । स्वास्थ्य विमाको काउण्टर र विमा नगरेका विरामीले सतप्रतिशत उपचार शुल्क तिर्ने काउण्टरहरूमा घण्टौं लामो लाइन लाग्नु पर्ने, बल्लतल्ल पुर्जी काटेपछि आफ्नो रोग अनुसारको ओपिडीमा पुगेपछि पनि चिकित्सकको टेवलसम्म पुग्न फेरि घण्टौं पालो कुर्नु पर्ने अवस्था छ ।

चिकित्सकलाई भेटेर समस्या बताएपछि रोग पहिचान गर्न चिकित्सकले पुर्जीमा लेखिदिएको परीक्षणहरूको शुल्क तिर्न फेरि विमा काउण्टर र खुल्ला काउण्टरमा पनि लाम लाग्नु पर्ने, विल तिरेको कागज लिएर चिकित्सकको प्रेस्किप्सनअनुसा रगत, दिसा पिसाब दिने प्रयोगशालाहरू क्लिनिकल बायोकेमेस्ट्री ल्याव, प्याथोलोजी), इम्युनोलोजी र सेरोलोजी, रेडियोलोजी (एक्सरे, अल्ट्रासाउण्ड, सिटि स्क्यान) विभागमा पनि विरामीको उस्तै सास्ती खेप्नु परेको छ ।

सामान्यतया वीपी प्रतिष्ठानमा अधिकांस ल्याबको रिपोर्ट ३ घण्टामा दिन सकिने बताइएपनि अत्यधिक चापका कारण रिपोर्ट लिन भने भोलिपल्ट जानुपर्ने अवस्था छ ।

रिपोर्ट लिनलाई बिहान ६ बजै नै लाम लागेको छ भने बेलैमा पाउन सकिन्छ तर विहानको ८/९ बजे पुगेमा कम्तिमा दुई घण्टा पालो बस्नै पर्छ ।

झापाको विर्तामोडस्थित विएमसी अस्पतालमा उपचार गर्दै आएका गरामनीका यसोदा अधिकारीले वीपी प्रतिष्ठानको ओपिडीमा पुग्न र डाक्टर भेट्न कम्तिमा तीन दिनको समय छुट्याउनु परेको बताइन् ।

उनले भनिन्, ‘म दुई दिन अघि आएको एक दिन त पुर्जी काट्नै लाग्यो । चार बजे ओपिडी पुगियो । डाक्टरले रगत परीक्षण गर्नु भन्यो । पहिलो दिन रगत परीक्षण गर्न भ्याइएन । भोलिपल्ट बिल काउण्टरमा लाम लागेर ल्यावमा रगतमो नमूना दिएँ । त्यसको रिपोर्ट अब भोलिपल्ट मात्र पाइने भयो । त्यो रिपोर्ट डाक्टरलाई देखाउन फेरि अर्को दिन पर्खिनु पर्ने भयो । उपचार खर्च भन्दा होटलमा बसेको खर्च बढी आउला जस्तो छ ।’

चाप बढेसँगै अल्ट्रासाउण्ड र शल्यक्रिया गर्नुपर्ने विरामीको पनि पालो पछाडि धकेलिएको छ । अरु बेला कम्तिमा दुईसातामा अल्ट्रासाउण्ड र शल्यक्रियाको पालो आउने विरामीले अब एक महिनादेखि डेढ महिनासम्मको पालो कुर्नु पर्ने भएको छ ।

चिकित्सकलाई पनि सास्ती

विरामीको चाप बढेपछि वीपी प्रतिष्ठानका चिकित्सकहरूले थप सास्ती र चुनौतीको सामना गर्नुपरेको छ । बिहानको समयमा चिकित्सा शास्त्रका विद्यार्थी पढाउनुपर्ने, दिउसो विरामीको उपचारका लागि ओपिडीमा बस्नु पर्ने र वैज्ञानिक शोध अनुसन्धान पनि गर्नुपर्ने दायित्व छ ।

तर, विरामीको चाप बढेपछि अरु बेला सरदर एकजना विरामीलाई न्युनतम पाँच मिनेट समय दिने गरेकोमा पछिल्लो सातादेखि मुस्किलले ३ देखि ५ मिनेट मात्र समय दिने अवस्थामा चिकित्सकहरु छन् ।

जबकी विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मान्यताअनुसार एक जना विरामीलाई चिकित्सकले ओपिडीमा दिनु पर्ने समय भनेको कम्तिमा १० देखि १५ मिनेट हो ।

ओपिडीमा चिकित्सकले लिने समय अवधिभरमा विरामीको समस्याको इतिहास सुन्ने र बुझ्ने, शारीरिक परीक्षण गर्ने, विरामीको सवालको जवाफ दिने, रोग वा समस्या निदानकालागि आवश्यक परामर्श दिने र औषधि लेखिदिएर प्रयोग गर्ने बारे बुझाउनु पर्छ ।

तर ५ मिनेट भन्दा कम समयमा चिकित्सकले औषधिको प्रेस्किप्सन बाहेक अरु लेखिदिन नसक्ने अवस्था हुँदा हुँदै पनि चाप थेग्न चुनौतीको सामना गर्नु परेको मेडिसिन विभागका एक वरिष्ठ चिकित्सकले बताए । ती चिकित्सकले भने, ‘चाप धेरै छ । विरामीको चापको अनुपातअनुसार चिकित्सक कम छौं । आएका सबैलाई हेर्नै पर्छ । तर हेर्न समय छैन । यो तरिकाले उपचार सेवाको गुणस्तर भने खस्किन्छ । प्रभावकारी हुँदैन ।’

वीपी प्रतिष्ठानको अस्पताल सेवा तर्फको विरामीको चाप व्यबस्थापन गर्न यसअघि डिजिटल अनलाइन दर्ता प्रणाली पनि अपनाएको थियो ।

रिपोर्ट पनि डिजिटल अनलाइनबाटै प्राप्त गर्न सकिने प्रणाली पनि अपनाएको थियो । तर ओपिडीमा चिकित्सक भेट्न, रगत, दिसा पिसाबको नमूना दिन, रेडियोलोजीमा गर्नुपर्ने एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान र अप्रेश्न थिएटरमा शल्यक्रिया अनलाइनमार्फत गर्न नसकिने भएकाले विरामीको चाप व्यवस्थापन जनशक्ति बढाउनुको विकल्प नरहेको चिकितसकहरूले बताएका छन् ।

काउण्टर र ओपिडी समय बढाइयो

सोचे भन्दा बढी बिरामी आउन थालेपछि वीपी प्रतिष्ठानले बुधबारदेखि बिमाको काउण्टर र अन्य काउण्टरक सँगै ओपिडी समय पनि बढाएको छ । मुख्य काउण्टर दुईवटा रहेकोमा ३ वटा थपेर ५ वटा बनाइएको निमित्त कुलपति डा. इन्द्र लिम्बूले बताए ।

उनकाअनुसार ४ वटा मात्र रहेको विमाको काउण्टरमा ३ वटा थपेर ७ वटा बनाइएको छ । विमाको स्क्यानिङ काउण्टरमा थप ३ वटा थपेर ६ वटा बनाइएको छ भने अरु २ वटा काउण्टर पनि विस्तार गर्ने तयारी भइरहेको निमित्त उपकुलपति लिम्बूले बताए ।

उनले भने, ‘हाम्रो बलबुताले भ्याएसम्म विरामीको चाप व्यबस्थापन गर्न प्रयास गर्दै छौं । सिमित स्रोत साधन र जनशक्तिको भरमा विरामीको उपचार सेवा गुणस्तरीय बनाउन वीपी प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी र नर्सहरु खटिरहेका छौं । ओपीडी समय साँझ ५ बजेसम्म बनाएका छौं ।’

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?