News Summary
Generated by OK AI. Editorially reviewed.- पञ्चकर्म शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाली वात, पित्त र कफलाई सन्तुलनमा ल्याउने वैज्ञानिक आयुर्वेदिक उपचार पद्धति हो।
आयुर्वेदलाई विश्वकै पुरानो प्राकृतिक चिकित्सा प्रणाली मानिन्छ । यसै आयुर्वेद भित्रको अत्यन्त महत्वपूर्ण र वैज्ञानिक मानिने उपचार पद्धति हो पञ्चकर्म । धेरै मानिसले पञ्चकर्मलाई मसाज वा स्पा उपचार जस्तो बुझ्ने गरे पनि यसको वास्तविक अर्थ त्यसभन्दा निकै गहिरो छ ।
पञ्चकर्म केवल उपचार होइन, यो शरीरलाई भित्रैदेखि सफा गर्ने, रोगको जरा हटाउने र दीर्घकालीन स्वास्थ्य कायम राख्ने पूर्ण चिकित्सा प्रक्रिया हो ।
रोग लागेपछि मात्र उपचार गर्ने होइन, रोग लाग्नै नदिने अवधारणामा आधारित आयुर्वेदिक उपचार पद्धति पञ्चकर्म अहिले नेपालमा पनि विस्तार हुँदै गएको छ ।
पञ्चकर्म भनेको के हो ? पञ्चकर्म कस–कसलाई उपयुक्त हुन्छ ? लगायतका विषयमा पञ्चकर्म विशेषज्ञ डा. निर्मल भुसालसँग गरिएको कुराकानी:
सामान्य मान्छेले बुझ्ने भाषामा बताइदिनुहोस् न पञ्चकर्म भनेको के हो ?
पञ्चकर्म आयुर्वेदको एक विशेष उपचार विधि हो । सरल भाषामा भन्नुपर्दा यो शरीरको पूर्ण सर्भिसिङ जस्तै हो । जसरी हामीले मोटरसाइकल वा गाडीलाई नियमित सर्भिसिङ गराउँछौं, त्यसैगरी शरीरभित्र जम्मा भएका फोहोर, दोष र विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई सफा, बलियो र सन्तुलित बनाउने विधि हो ।
यो केवल रोग लागेपछि मात्र होइन, स्वस्थ व्यक्तिले स्वास्थ्य रक्षा गर्न र रोग लाग्नबाट बच्न पनि गरिन्छ । विशेष गरी हाम्रो जस्तो छिटो–छिटो मौसम परिवर्तन हुने देशमा सिजन अनुसार शरीरको दोष (वात, पित्त, कफ) बिग्रिन्छ, त्यसलाई सन्तुलनमा ल्याउन पञ्चकर्म उपयोगी हुन्छ।
पञ्चकर्मको आधार के हो ?
हाम्रो शरीर र सम्पूर्ण ब्रह्माण्ड पञ्चमहाभूत आकाश, वायु, अग्नि, जल, पृथ्वीबाट बनेको छ । यिनैबाट तीन दोष बन्छन्न् ।
वात (वायु+आकाश) : हल्का, चञ्चल, रुखो गुण ।
पित्त (अग्नि+जल) : तातो, तीखो, चिल्लो ।
कफ (जल+पृथ्वी) : भारी, चिसो, चिल्लो ।
दिनमा पनि यो दोषको साइकल चल्छ । बिहान कफ, दिउँसो पित्त, साँझ वात बढ्छ । खानपान, मौसम, जीवनशैलीले गर्दा कुनै दोष बढ्दा रोग लाग्छ । पञ्चकर्मले यिनलाई शुद्ध गरेर सन्तुलन कायम गर्छ ।
पञ्चकर्मका मुख्य पाँच कर्म के–के हुन् ?
१.वमन : औषधि दिएर मेडिकेटेड उल्टी गराउने । मुख्यतः कफ दोष बढेका, श्वासप्रश्वास र छाला सम्बन्धी समस्या भएकामा ।
२.विरेचन : औषधि दिएर मेडिकेटेड दिसा गराउने । पित्त दोष र छाला, एसिडिटी, एलर्जीमा अत्यन्त राम्रो ।
३.बस्ती : एनिमा जस्तै गुदद्वारबाट तेल, घिउ, औषधि मिसाएर दिइने । वात दोष, ढाड दुखाइ, नसासम्बन्धी रोगमा ‘अर्धचिकित्सा’ नै मानिन्छ । यो सामान्य पानीको एनिमा होइन, विशेष आयुर्वेदिक मिश्रण हो ।
४.नस्य : नाकबाट तेल वा औषधि हाल्ने । टाउको, घाँटी, नाक, साइनस, माइग्रेन, बालसम्बन्धी समस्या र उध्र्वजत्रुगत रोगमा ।
रक्तमोक्षण : रगत निकाल्ने जुका लगाएर वा अन्य विधिबाट । छाला र रक्तसम्बन्धी समस्या, जोर्नी दुखाइमा । कपिङ आदि यसकै आधुनिक रूप हुन् । यी पाँचलाई मुख्य कर्म भनिन्छ ।
पञ्चकर्म गर्नुअघि के तयारी चाहिन्छ ?
पञ्चकर्म गर्नुअघि गरिने तयारीलाई पूर्वकर्म भनिन्छ । मुख्यतः स्नेहन अभ्यङ्ग, तेल मालिस, स्वेदन बाफ दिने यसमा गरिन्छ । यो शरीरलाई नरम बनाएर दोषलाई हलचल गराउँछ । अहिले धेरै ठाउँमा अभ्यङ्ग, सिरोधारा, कटिबस्ती, अष्टमात्र आदि पूर्वकर्म मात्रै गरिन्छ, जसलाई पूर्णपञ्चकर्म भन्न मिल्दैन ।
पञ्चकर्म कस–कसलाई उपयुक्त हुन्छ ?
पञ्चकर्म स्वास्थ्य रक्षा र दीर्घायुका लागि सिजनल डिटक्स, पुराना, जटिल, बहुदोष रोग छाला, जोर्नी, नसासम्बन्धी, मोटोपन, बाँझोपन मानसिक समस्या आदिमा उपयोगी हुन्छ ।
बाल रोग, स्त्री रोग, गर्भधारण समस्यामा रसायन चिकित्सा गर्नुअघि शरीर शुद्ध गर्न पनि यसलाई उपयुक्त मानिन्छ ।
अहिले नेपालमा पञ्चकर्मको अवस्था कस्तो छ ? खर्च कति पर्छ ?
नेपालमा आयुर्वेदमा विश्वास गर्नेहरूमा अहिले पनि पञ्चकर्म लोकप्रिय छ । सरकारी अस्पतालमा निकै सस्तो पनि छ यो । अभ्यङ्ग ३००–६००, स्वेदनसहित १०००–१५०० सम्म पर्छ । पूर्ण सेट (७–१० दिन) मा ५,००० देखि १०,००० सम्म पर्न सक्छ ।
बस्ती, विरेचन आदि प्रक्रियागत शुल्क ३०० देखि ३,००० बीच पर्छ । निजी अस्पताल र स्पामा महँगो हुन सक्छ । केरला, भारत जानुभन्दा नेपालमै आधिकारिक र सस्तो विकल्प उपलब्ध छ । सरकारले स्थानीय तहसम्म पूर्वकर्म पुर्याएको छ र पञ्चकर्म केन्द्रहरू विस्तार गर्दैछ ।
पञ्चकर्मको मुख्य फाइदा के हो ?
पञ्चकर्म भनेको केवल उपचार होइन, यो शरीरसँगको माया हो । यो आफ्नो शरीरलाई समय–समयमा सफा गरेर, नयाँ ऊर्जा भरेर, प्रकृतिसँग जोडेर लामो, स्वस्थ र सुखी जीवन बिताउने वैज्ञानिक तरिका हो ।
आजको प्रदूषित वातावरण, केमिकलयुक्त खाना र तनावपूर्ण जीवनशैलीमा पञ्चकर्म जस्तो प्राचीन तरिकाले हामीलाई फेरि स्वाभाविक र स्वस्थ बनाउने शक्ति राख्छ ।
जसरी पुरानो कपडालाई राम्रोसँग धोएर नयाँ रङ चढाउँदा झन् राम्रो र चम्किलो देखिन्छ, त्यसै गरी पञ्चकर्मले हाम्रो शरीर र कोषहरूलाई शुद्ध गरेर नयाँ जीवन दिन्छ । ‘स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने कुरालाई व्यवहारमा उतार्न चाहने जो कोहीका लागि पञ्चकर्म उत्तम उपहार हो ।
प्रतिक्रिया 4