News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले अच्युतकृष्ण खरेलद्वारा लिखित तथा फत्तेमानको स्वरमा रहेको \'रक्तिम अधर छ तिम्रो\' गीतप्रति आफ्नो गहिरो प्रेम व्यक्त गरेका छन्।
यतिबेला वातावरण एकदमै शान्त छ । पानीका थोपाहरू टपक–टपक खसिरहेका छन् किनभने भर्खरै मुसलधारे पानी रोकियो । तर पानी फेरि जतिबेला पनि पर्न सक्छ । प्रकृतिले यसरी भक्कुमार थर्काएपछि बिजुली कतै लुकेको छ । अझ आकाशमा गड्याङगुडुङ गर्दा झिल्के उज्यालोबाट बिजुली डराएको मैले प्रष्टसंग महसुस गरेको हुँ । जे होस्, यस रातमा न त अब उज्यालोको प्रदूषण बढी हुनेछ, न कोलाहलको चर्को स्वर बढ्नेछ ।
मेरो ठम्याइ के छ भने यसै रातमा मानिसहरूले जुनकीरी नाचेको धेरैपछि देख्नेछन् । मैले यति भनिसक्दा यसै रातमा लाटोकोसेरो धेरैपछि बाठो हुन सक्ने कुरा पनि पक्कै अनुमान गर्नु भयो होला । खैर, म यहाँ रातको चर्चा गर्न आएको होइन। आउनुस्, अब कुरोको चुरो मात्र नभई जुरो पनि नियालौँ ।
सोचौँ त, यस्तो हल्का चिसोचिसो वातावरणमा के गर्न सकिन्छ होला ? तपाईंहरू सोच्दै गर्नुस् म मेरो सुनाउँछु; म कुनै उदास कविता लेख्न सक्छु, कुनै नयाँ किताब पढ्न सक्छु, कोही जज नगरिहाल्ने साथीसँग ननभेज च्याट गर्न सक्छु । चिया-कफी पिउँदै कुनै साथीसँग भिडियो कलमा देशको अवस्थाबारे चर्चा गर्न सक्छु । सबैभन्दा सजिलो र प्रिय भनेको म मस्त निदाउन सक्छु ।
अरू साँझहरूको कुरा हुन्थ्यो भने, अरू दिन-रातहरूको कुरा हुन्थ्यो भने यी विकल्पहरूमध्ये म कुनै न कुनै छानिहाल्थेँ । तर आज होइन…! आज म गीत सुनी बस्नेछु । आज मेरो फिडमा जतिसुकै गीत झुल्किउँन, जतिसुकै राहगिरले ‘आदमी चुतिया हैं’ भनुन् , मलाई कुनै सरोकार हुने छैन । जगजित सिंह, नारायण गोपाल, भक्तराज आचार्य, गुलाम अलि, भरत चौहान..! अहँ, आज कसैले नाकाम कोसिस नगरुन् मलाई वशमा गर्न । किनभने म अचेल एउटा गीतसँग प्रेममा परेको छु !
रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो, गाजल नलाए हुन्छ
गीतको प्रेममा पर्नु मेरो निम्ति कुनै नौलो कुरा होइन । म थुप्रै पटक थुप्रै गीतसँग प्रेममा परेको छु । मेरो पछिल्लो प्रेम भनेको ‘रक्तिम अधर छ तिम्रो’ हो । यसरी पछिल्लो प्रेमको कुरा गर्दा मेरो अघिल्ला गीति–प्रेमिकाहरूलाई मैले चटक्कै छाडेको भने छैन । म अझै सुन्छु उनीहरूलाई; उस्तै प्रेमले, उस्तै लगावले । तर नयाँ भनेपछि यू नो ‘दिलमें कुछ कुछ होता हैं !’
अच्युत कृष्ण खरेलले लेखेको र फत्तेमानले गाएको यो गीत मनमोहक छ । मैले यो गीतलाई पहिलो पटक साक्षात्कार गरेको भर्खर होइन । पहिले पनि यो गीत मेरो हृदय-गल्लीबाट बारबार हिँडेको हो । मन-मस्तिष्कमा राम्रै छाप छोडेको यो गीतसँग यो समयमा आएर म प्रेममा परिहाल्छु जस्तो कहिल्यै लागेको थिएन । तर क्यार्न सकिन्छ र ! परिहालियो प्रेममा, लागिहाल्यो माया । अब तो जो होगा, देखा जाएगा !
संसारमा थोरै मात्र सुन्दर कुरा छन्, सुन्दरमा पनि आनन्दित कुरा अझै थोरै छन् । प्रेम यस्तै आनन्दित सुन्दर कुरा हो, गीत यस्तै सुन्दर आनन्दित कुरा हो । अब आफैँ सोच्नुस् , प्रेममा गीत जोडियो, अथवा गीतमा प्रेम जोडियो; यो भन्दा सुन्दर कुरा के होला ! यो भन्दा आनन्दित कुरा के होला !
मलाई अझै याद छ यो गीति–प्रेम सम्बन्धको सुरुवाती समय । रातको करिब एक बजे दूर-सुदूरका टिलपिल उज्यालो हेर्दै गर्दा युट्युबले मलाई सुझाएको गीत थियो । कस्तो सौम्य भाषा, कस्तो सुललित पुकार । मेरा कान हुँदै हृदयसम्म पुगेको यो गीत सुनेर म कुनै मैनबत्तिसरि पग्लिको थिएँ । कति सरल, कति कोमल !! मैले फेरि सुनेँ । फेरि पनि सुनेँ । सुनेको सुन्यै गरेँ । यो मेरो निम्ति अलिक नयाँ अनुभूति थियो । म कुनै गीत मन पर्दा धेरै चोटी सुन्छु, हरेक चोटी गीत सुन्दा त्यहीँ गीत सुन्छु । तर त्यसबेला त म यो सुन्नको निम्ति गीत सुनिरहेथेँ । बारम्बार यही एउटा मात्र गीत ! कुनै ध्यानीले सिद्धी पाउन बारम्बार जपेको मन्त्र जस्तो, कुनै पागलले केही सम्झिएर बारम्बार दोहोराएको शब्द जस्तो ।
यो जुनेली बढ्दो रातमा लाग्छ;
फत्तेमान गाइरहेछन्, म सुनिरहेछु । प्रत्येक पटक सुन्दा म महसुस गर्छु अच्युतकृष्ण खरेल अझ धेरै कुरा भन्दैछन्, अझै धेरै अर्थ खुलाउँदै छन् ! मेरा प्रत्येक दोहोराइमा अच्युतकृष्ण उही गीत लेख्दैछन्, तर भावलाई अझ गहिरो बनाउँदै छन् । फत्तेमानले एउटा पकवान्, फरक–फरक शिल्पी प्रयोग गरेर तयार गरेजस्तो हरेकपल्टमा म आनन्दको नयाँ आयाम प्रवेश गरिरहेछु । यो कस्तो दिव्य अनुभूति । मानौँ म आमाको काखमा वर्षौंपछि फेरि निदाएको छु । मानौँ बाबाको काँधमा चढेर आफू अग्लो हुनुको खुसीले म मखलेल छु । अथवा प्रेमिका मलाई मेरो आँत हरहर हुने किसिमले स्पर्श गरिरहेकी छिन् , र म उनको प्रत्येक स्पर्शमा धेरै प्रेमले, थोरै लाजले र अथाह आननन्दले दोब्रिरहेछु । अहो ! म कुनै गीतसँग पनि यसरी बौलाहा–प्रेम गरिरहेछु ।
एउटा गीतलाई सुन्दर मान्न सकिने आधारहरू के-के हुन सक्छन् ! शब्द ? सङ्गीत ? स्वर ? श्रोता ? ; अरु के के ?
खैर ,
मैले बुझिनँ भाका, कैयन् उपाय लाएँ
अड्कल सकिनँ काट्न, धेरै विचार लाएँ
यही गीतका हरफहरू हुन् यी, जो मेरो अवस्थालाई एकदमै गहिराइमा बुझेर सटिक निचोडमा व्यक्त गरिरहेछन् । म गीतका प्राविधिक कुरा जान्दिनँ , किन फत्तेमान कहिले शब्द तन्काउँछन्, कहिले हतार गरेर कुनै पंक्ति नै एकैसासमा सक्न खोज्छन् ! किन शब्द दोहोराउँछन्, म बुझ्दिनँ तर केही नबुझेर पनि धेरै थोक बुझे जस्तो अनुभव हुन्छ मलाई । यो गीतले मलाई छुट्टै वातावरणमा पुर्याउँछ । थाहा छ यो कालो अँध्यारोमा केही देख्न सक्दिनँ म । तर मेरा आँखैअघि पुतलीहरू नाचेको प्रतीत हुन्छ । यो गीतका धुन गुञ्जनेबित्तिकै मानौँ कुनै वनफूलका वासना बतासको बहाना पारेर मसम्म आइपुग्छ । मानौँ मलाई छातीको कुनै कुनामा मिठो काउकुती लाग्छ !
विन्ती म लाटोलाई भाषा सजिलो बोल
टम्मै मिलेका ओठ संकोच नमानी खोल
एक सम्मोहित आग्रह, जस्तो कि ओठबाट अमृतवाणी निस्किने छ र त्यसलाई कुनै सन्दुकमा रुमालभित्र लुकाएर राख्नु छ । लाग्छ, यो क्षणमा बोल्नु जरुरी छ । मनका गुफामा केही तातो गुनासा छन् । जसलाई व्यक्त गर्नु यस क्षणका निम्ति एकदमै आवश्यक छ । सायद आजै, अहिलै बोलिएन भने अब कहिल्यै बोलिने छैन ।
मेरै कानले मात्र सुन्ने गरी जबजब म यी गीत गुनगुनाउँछु । लाग्छ म पहाडको कुनै डाँडामा गाईबाख्रा चराउँदै छु । जहाँ कुनै नवयुवतीसँग मेरो देउरालीमा भेट भएको छ । आभाले भरिपूर्ण उनी मलाई सिम्रिक टिपिदेऊ, लाली लगाउन मन छ भन्छिन् । फूल सिउरिदेऊ, मलाई सुन्दर–सजावटको रहर छ भन्छिन् । तर…
तर म मान्छु उनका ठूला काला आँखामा गाजल थप्नु भनेको प्रकृतिमाथि अनावश्यक कृत्रिमता थप्नु हो । पहिलैदेखिको रक्तिम ओठमा लाली लाउनु भनेको चम्किलो सुनमा पहेँलो जलप थप्नु हो, जुन नथप्दैमा पनि रत्तिभर फरक पर्दैन । म त चाहन्छु, उनी बोलुन्, बोलिरहुन् । नदीको सुस्केरासरि, चराको चिरबिराहट जसरी । कुनै झरनामा जस्तो अद्भूत आनन्द ओर्लिरहोस् उनको ओठबाट ।
फेरि यही गीत सुन्दा म कहिले क्याफेमा पुग्छु, जहाँ उनी कफी पिएर भर्खर मलाई प्रेमिल कविता सुनाउन थालेकी छिन् । म थाहा पाउँदिन, उनको कविताको काबिलियत् हो या कफीको क्याफिन कडा हो; म निद्रालाई बिदाइ गर्छु तर फरक किसिमको स्वप्नलाई स्वागत गर्न थाल्छु । मैले भनिहालेँ, यी रातमा यो गीत प्रत्येक पटक सुनेर म आनन्दको अनेक आयाम अँगालिरहन्छु ।
यतिबेला जून आफ्नो उच्चतम् प्रकाश देखाउँदै छ । गीत बजिरहेकै छ । फत्तेमानको स्वरमा थकानको कत्ति पनि चिह्नहरू महसुस गर्न सकिँदैन। बिस्तारै कतैबाट मन्द-मन्द हावा चल्न थाल्छ । रुखका पात हल्लिएको आवाज अलि बढी नै यत्न गरे मात्र सुनिन्छ । यता मेरा आँखा लोलाउन सुरु गर्दै छन् । बत्तीको अत्तोपत्तो छैन तर फत्तेमानलाई कुनै चिन्ता छैन ।
रात अझै पनि चिसो-चिसो छ र मेरो मुटु यही गीति-प्रेमको कारण अझै न्यानो छ । यो मनको तातो र शरीरको चिसोको घर्षणले गर्दा अब देखिने स्वप्न, अब सुनिने आवाज झनझन प्रिय हुँदैछन् । म मेरो गीति-प्रेमिकालाई छातीमा एकअर्काको सास प्रष्ट सुनिने गरी टाँसेर भन्दैछु-
रक्तिम अधर छ तिम्रो, लालि नलाए हुन्छ
कालो नयन छ तिम्रो, गाजल नलाए हुन्छ !!!
प्रतिक्रिया 4