News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा करको दर हेरफेरबारे प्रश्न उठाउने सांसदहरूलाई विगतका सरकारको कमजोरी कोट्याउँदै चेतावनी दिएका छन् ।
- अर्थमन्त्री वाग्लेले बजेट भाषणपछि आर्थिक विधेयकमा भएको संशोधनलाई नियोजित नभई कर्मचारीको मानवीय त्रुटि भएको भन्दै बचाउ गरे ।
- आफूले २ रुपैयाँ मात्र पनि बेइमानी गरेको प्रमाणित भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग्ने घोषणा गरे ।
२८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथि छलफलका क्रममा प्रश्न उठाउने सांसदहरूलाई बिहीबार अर्थमन्त्री डा.स्वर्मिण वाग्लेले उल्टै चेतावनी दिएका छन् ।
विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि नै उनले चेतावनी दिएका छन् । ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?,’ प्रश्न सोध्ने सांसद्हरूलाई उनको चेतावनी थियो, ‘ती पनि खुल्नेछन् ।’
छलफलका क्रममा रास्वपा सांसदहरूले गरेको प्रशंसा र आफू बोलिरहँदा बजिरहेको तालीबाट उत्साहित अर्थमन्त्री वाग्लेले आलोचना गर्ने सांसदलाई यस्तो चेतावनी दिएका हुन् ।
यद्यपि बजेट भाषणपछि मन्त्रालयबाट आर्थिक विधेयकमा संशोधन गरेको भनेर उनी स्वयंले स्वीकारेका छन् । तर, त्यस्तो संशोधन गर्ने आफू पहिलो व्यक्ति नरहेको र विगतका सरकारहरूले पनि गर्ने गरेको तर्क अर्थमन्त्री वाग्लेले रोष्ट्रममा उभिएर गरे ।
उनका अनुसार, अघिल्लो वर्ष एमाले सरकारले पाँच वटा विषयमा ७३ वटा संशोधन गरेको थियो । त्यसको तुलनामा आफूले असाध्यै सानो संख्यामा संशोधन गरेको बताए । ‘यसपालि भन्सार दर, एउटा शुल्क । तीन चार वटा थप स्पष्ट पार्ने …,’ उनले भने ।
यद्यपि आफैंले स्वीकारेको कमजोरीको दोष पनि वाग्ले आफूले लिएनन् । मन्त्रालयका कर्मचारीलाई दोष थोपर्दै भने, ‘बाइ द वे, यो सबै मैले टाइप गरेको होइन । कर्मचारी साथीहरूले टाइप गर्नुभएको हो, मैले त ओन गरिदिएको हुँ, म अर्थ मन्त्रालयको गार्डियन भएको हुनाले ।’
नियोजित नभएर मानवीय त्रुटिका कारण भएको कमजोरी सच्याउने काम गरिएको भनेर प्रष्टोक्ति दिएका अर्थमन्त्री वाग्लेले प्रश्नकर्ता सांसदहरूको नैतिक धरातलबारे उल्टो चेतावनी दिएका छन् ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी-बेइमानी भएको छ भने म मन्त्री पद त्याग्दिन्छु । सार्वजनिक जीवनै त्याग्न पनि तयार छु,’ उनले चेतावनी दिए, ‘र यो नैतिक आँट र नैतिक उचाइ मप्रति औलो ठड्याउने माननीय ज्यूहरूलाई पनि प्राप्त होस् । शुभकामना छ ।’
अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिइरहँदा रास्वपाका सांसदहरूले भने निरन्तर ताली बजाइरहेका थिए । हलका सांसदहरूबाट पाएको तालीले उत्साहित वाग्लेले रोकिँदै विस्तारै चेतावनी दिइरहे ।
आफूलाई निर्दोष रहेको दाबी गर्दा उनले मन्त्री पद त्याग्न तयार रहेको र त्यस्तो नैतिक धरातल आफूहरूसँग मात्रै रहेको सन्देश दोहोर्याएर दिन खोजे ।
मन्त्रालयको कमजोरीबारे समाचार लेख्ने मिडियाप्रति त उनले कुनै मर्यादाको भाषा समेत प्रयोग गरेनन् । ‘आज सार्वजनिक लेखा समितिमा पनि भनेँ- एक दुई वटा खोस्टाहरूले लेखे, तीन अर्बको आशंका इत्यादि भने,’ अर्थमन्त्री वाग्लेले रिस लुकाएनन् ।
मिडियालाई खोस्टा भनेका अर्थमन्त्री वाग्लेले मिडियाकै आधारमा बोल्दा संसदको गरिमा नजोगिने व्याख्या गरेका थिए । ‘स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर खुरुखुरु चलाएर व्यापारी पोस्ने काम गर्यो भन्ने पनि सुनिए,’ उनले आग्रह गरे, ‘सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ । सम्मानित सदनको ओज घटाउने कामतिर लाग्नु हुँदैन ।’
अर्थमन्त्री वाग्लेले छलफलमाथि प्रश्न उठाउने सांसदहरूको बौद्धिक योग्यतामाथि नै शंका गरे । एकप्रकारले पढाउने शैलीमा रोष्ट्रममा उभिएका अर्थमन्त्री वाग्लेले सैद्धान्तिक धरातल कमजोर हुँदा बजेटको दार्शनिक पक्ष बुझ्न नसकिने निष्कर्ष सुनाएका थिए ।
‘सैद्धान्तिक धरातलबारे अलिक उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ,’ अर्थमन्त्री वाग्लेले भने । अर्को एक प्रसंगमा प्रयोग भएको अभिव्यक्तिबाट त अर्थमन्त्री वाग्ले आफ्नो शैक्षिक योग्यताप्रति कुन हदसम्म दंग छन् भन्ने बुझ्न सकिन्छ ।
‘गुरुचेलाको सम्बन्ध कस्तो हुन्छ भने, (बजेट) लेख्दै गर्दा समाजले कसरी हेर्छ इत्यादि भन्दा पनि पार्टिकुलर मेरो गुरुले कसरी मान्ला ? भनेर पनि सोच्ने गर्छौं,’ जवाफकै क्रममा उनले भने । अर्थशास्त्री डानी रोड्रिक आफ्नो गुरु भएको प्रसंगसहित उनले यसो भनेका थिए । जबकि अर्थमन्त्रीले ल्याउने बजेटको जवाफदेहिता/उत्तरदायित्व सार्वभौम संसद् र नेपाली समाज नै हो ।
अर्थमन्त्री वाग्लेले प्रश्न उठाउनेहरुलाई पेलेर जाने संकेत सम्बोधनको शुरुबाटै गरेका थिए । दोस्रोपटक पनि यो बजेट कम्युनिष्टले नल्याएको भनेर अभिव्यक्ति दिएका उनले विपक्षीहरुले चाहे जस्तो बजेट पाँच वर्षसम्मै नआउने जवाफ दिए ।
‘जनताले बिपुल जनमत मार्फत अनुमोदन गरिसकेपछि त्यसैमा अडिग भएर जानुपर्ने लोकतान्त्रिक मर्म नै हो,’ सुरुमै अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘मेरो पार्टीको जस्तो भाषा आइदिएन भनेर गुनासो गर्ने ठाउँ त रह्यो, तर पाँच वर्षसम्म हाम्रो अर्जुन दृष्टि भनेको हामीले नै भनेको बाचा र जनताले अनुमोदन गरेको एजेण्डा अगाडि बढाउने हो ।’
प्रतिक्रिया 4