News Summary
Generated by OK AI. Editorially reviewed.- दुर्गम स्थान र काठमाडौंको ट्राफिक जाममा पर्ने सबै कर्मचारीहरू तर विशेष रूपमा आमा र शारीरिक रूपमा विशेष क्षमता भएका कर्मचारीहरूलाई अप्ठ्यारो परिरहेको छ।
- सबै प्रकारका कर्मचारी र सेवाग्राहीहरूका लागि १०–४ बजेकै समय उपयुक्त हुने देखिन्छ। बरु समयावधि चाहिं विद्यालयको बढाउनुपर्छ। बिहान साढे ९ बजे शुरु गरेर साढे ४ बजे बन्द गर्नुपर्छ।
- यसका लागि थपेको एक घण्टालाई विशेष सीप सिक्ने, जस्तै: विज्ञान, कृषि, व्यवसाय वा हस्तकलाको सीप, अथवा सिर्जनात्मक कार्य नृत्य, गायन, वाद्यवादन, चित्र, मूर्ति, साहित्य वा कुनै विशेष खेल आदि सिकाउनुपर्छ।
नेपालमा अहिले दुईतिहाइ नजिकको सरकार छ। त्यही सरकारले गरेका अव्यावहारिक र विना उपलब्धिका धेरै निर्णयमध्ये एउटा हो- अघिल्ला सरकारहरूले पनि प्रयोग गरेर असफल भइसकेको सरकारी कार्यालय समय (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म) हो। यस नियमले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई के–के फाइदा, के–के बेफाइदा भएछन् भन्ने चर्चा गर्नेछु।
१०–४ वा ५ बाट अहिले कार्यालय समय ९–५ बनाएकोमा धेरै कर्मचारीले यो समय विभिन्न कारणले अनुपयुक्त भएको बताए। स्थानीय तहको कानून शाखामा कार्यरत महिला अधिकृतको पीडा यस्तो छ : १० बजे कार्यालय लाग्दा आफ्ना स्कुले बालबच्चा र अर्को कार्यालयमा कार्यरत श्रीमान्सहित ९ बजे खाना खाएर कार्यालय आइन्थ्यो। तर ९ बजे कार्यालय समय हुँदा बच्चालाई खाना खुवाउन सकिंदैन। स्कूल जाने बच्चालाई ‘यो खानेकुरा यहाँ छ, त्यो त्यहाँ छ’ भनेर अह्राएर आफूहरू ८ बजे नै कार्यालय जानुपर्छ।
बच्चा ९ बजे मात्र स्कूल जान्छ। बच्चा स्कूल गएपछि ‘घरमा साँचो लगाइदिनु ल’ भन्दै छिमेकीलाई हात जोड्नुपर्छ। कार्यालयमा कार्यसम्पादन गर्दा आधा दिमाग त बच्चा र घरतिरै तानिन्छ- बच्चाले राम्ररी खाना खायो कि खाएन, स्कूल पुग्यो कि पुगेन, गेट र ढोकामा ताला लाग्यो कि लागेन ? चोरी भयो कि ?
बेलुकी पनि बच्चाको स्कूल साढे तीन/चार बजे नै छुट्टी हुन्छ र बच्चा घर जान्छ। बच्चा सकुशल नै घर पुग्यो कि पुगेन ? खाजा खायो कि खाएन ? गेट र ढोकाको ताला खुले कि खुलेनन् ? कि, ताला नखुलेर बच्चा गेटबाहिरै भौंतारिरहेको छ ? मनमा चिन्तैचिन्ता हुन्छ किनकि हाम्रो छुट्टी ५ बजे मात्र हुन्छ।
अधिकृत स्तरमा नियुक्त विज्ञ एक कर्मचारी आफ्नो पीडा हाँसोपूर्ण तरिकाले सुनाउँछन् : कार्यालय ९ बजे शुरु भएपछि पहिलो त ढिलोमा ८ बजेभित्र खाना खानुपर्छ। ८ बजे खाना खाइसक्नलाई ढिलोमा पौने ८ बजे खाना पाकिसक्नुपर्छ। पौने ८ बजे खाना पाकिसक्नलाई साढे ६ बजेदेखि तयारी थाल्नुपर्छ। साढे ६ बजे तयारी थाल्नलाई कति बजे उठ्नुपर्छ ? करिब ४ बजे!
घरमा खाना त गृहिणीले नै पकाउने हो। उठेर शौच, स्नानपछि पूजापाठ, घर बढारकुँढार गर्दागर्दै समय बित्छ। त्यसैले गृहिणीले खाना पकाउने कार्य ढिलै शुरु हुन्छ। अनि आफूले ‘छिटो पकाऊ, अझै छिटो गर’ भनिरहनुपर्छ।
उनी सुझाव पनि दिन्छन् : कतिपय देशमा कार्यालय बिहान ८ बजेदेखि नै लगाउँछन् र ११–१२ वा १२–१ बजे एक घण्टाचाहिं खाना–विश्राम गरेर सरकारले नै मापदण्ड अनुसारको स्वस्थ खाना खुवाउँदो रहेछ। हामीलाई पनि त्यसै गरिदिए बरु आनन्दै हुन्थ्यो।
एक जना वडा कार्यालयकी वडा सचिव भन्छिन् : हरेक पारिवारिक कामलाई एक घण्टा अगाडि सार्नुपर्दा निकै गाह्रो हुँदोरहेछ तर विस्तारै अभ्यस्त हुन बाध्य छौं। करिब १७ किलोमिटर टाढाबाट म कार्यालय आउँछु। त्यसैले साढे ७ बजे नै खाना खान्छु। दिउँसो कार्यसम्पादनका क्रममा भोक लाग्छ तर कार्यालयको नजिक खाजा खाने उपयुक्त होटल छैन। भ्याउँदा घरबाटै खाजा ल्याउँछु, नभ्याउँदा त्यसै बस्छु।
एउटा अर्को वडा कार्यालयको वरिपरि चिया–खाजा होटल त के, गाउँलेका घरहरू पनि छैनन्। त्यसैले आलोपालो कार्यालयमै चिया र खाजा पकाएर जनप्रतिनिधि र कर्मचारीहरूले खाने व्यवस्था मिलाइएको रहेछ। यद्यपि यो समस्या कार्यालय बिहान ९ बजे लागेकाले भने होइन तर ९ बजेका कारण लामो समयावधि भएकाले भोक धेरै लाग्ने भएकाले मात्र उल्लेख गरिएको हो।
एक कम्प्युटर अपरेटर कर्मचारीले निकै दुःख पाएको विचार पोखेका छन्। १० बजे कार्यालय लाग्दा कार्यालय आउँदा नै आफ्नी छोरीलाई स्कूल पुर्याउँथें तर अहिले बच्चीलाई एक घण्टाअघि नै स्कूल पुर्याउँछु। बच्ची एक्लै स्कूलमा बसिरहन्छिन्। अर्को कुरो अहिले कार्यालय समय ९–५ भएपछि ८ बजे नै खाना खाएर कार्यालय आउनुपर्छ र ५ बजे छुट्टी भएर घर पुग्दा ६ बज्छ।
बिहानैदेखि साँझसम्म कार्यालयमा काम गर्दागर्दै हाम्रो कार्यालय नै घर हो तर घरचाहिं पाहुनाघर हो जस्तो लाग्न थालेको छ। त्यसका कारण उपचार गर्न र अर्को कार्यालयमा आफ्नो पारिवारिक कार्य गर्न गाह्रो भइरहेको हुनाले महिनामा एक दिन विशेष कार्य बिदाका रूपमा बिदा दिए राम्रो हुनेछ।
कार्यालयहरूमा ९ बजे कत्तिको सेवाग्राही आउँछन् भन्ने प्रश्नमा बेलबारी नगरपालिका, १ नं. वडाध्यक्ष मणिबहादुर पुलामीमगर भन्छन् : खासै आउँदैनन्। सेवाग्राहीहरू प्रायः बिहान १० बजे नै आउँछन्, र बेलुकी ४ बजेअगाडि नै सेवाग्राही हिंडिसक्छन्। ९–५ को कार्यालय–अवधि खासै उपयोगी देखिएन, १०–४ नै उपयुक्त देखिन्छ। त्यो अगाडिको एक घण्टा र पछाडिको एक घण्टा समय खर्चको हिसाबले फजुल तथा कर्मचारी र जनप्रतिनिधिका लागि बोझिलो भइरहेको छ।
बिहान ९ बजे आउने सेवाग्राहीहरू मुख्य रूपमा चार किसिमका रहेछन् :
क. त्यस कार्यालयबाट चाँडै सिफारिस लिएर अर्को कार्यालयमा जानुपर्नेहरू
ख. चाँडै काम सकेर आफ्नो टाढा घर फर्कनुपर्नेहरू
ग. भीडभाडमा भन्दा खाली समयको सदुपयोग गर्ने कार्यालय वरिपरिका
घ. अघिल्लो दिन काम पूरा नभएकाले पूर्ण काम गर्ने/गराउनेहरू।
दुई दिन छुट्टी कत्तिको उपयोगी छ भन्दा धेरैले दुई दिन छुट्टी हुँदा पुनर्ताजगी हुने कुरा बताए। तर टाढा घरपरिवार भएर भाडाको घरमा एक्लै बस्ने कर्मचारीहरूले भने दिक्क हुने सुनाए। एक दिन त नुहाइधुवाइ लगायतका सरसफाइ तथा विश्राममै सकिन्छ तर दोस्रो दिन के गर्ने ? घर जाऊँ, टाढा छ। घुम्न जाऊँ, नयाँ भइएकाले मिल्ने साथी हुँदैनन्। अनि जबर्जस्ती कोठामै कोचिनुपर्छ।
अर्का एक कर्मचारीले दुई दिन छुट्टीले फजुल खर्च बढाएको गुनासो गरे। एक दिन त घरमै सरसफाइ र घरेलु काममा श्रीमती र छोराछोरीहरूलाई भुलाउन सकिन्छ तर दोस्रो दिन घुम्न जाऊँ भनेर कर गर्छन्, घुर्क्याउँछन् र घुम्न जान/लैजान बाध्य भइन्छ।
सम्पत्ति उनीहरूकै खुशीका लागि हो। तर घुमाउन लैजान सजिलो र सस्तो छैन। पहिला एक पटक गएको ठाउँमा फेरि घुम्न मान्दैनन्। त्यसैले नयाँ ठाउँ जानुपर्छ। यातायात, खाजा/खाना र कतिपय स्थानहरूमा प्रवेश शुल्क तिर्नुपर्छ।
तलबसँग तुलना गर्दा ठूलै अङ्क खर्च गर्नुपर्छ। कुनै एक हप्ता घुम्न ननिस्किए, घरपरिवार नै उफ्रिन्छन्। सहकर्मीहरूले पनि फोन गरी–गरी ‘के हो तेरो पारा, कति बचाइस् घुम्न नगएर, कतै पोस्ट नै देखिंदैन’ भनेर जिस्काउँछन्। हप्तामै दुई दिन बिदा हुँदा पनि हाम्रो घरतिर आउँदैनौ त भनेर आफन्तहरूले पनि गुनासोले घोच्छन्।
अर्धमासिक तलब निकासा बारेमा प्रश्न गर्दा एक कर्मचारी भन्छन् : चाँडो–चाँडो तलब पाउँदा कतिपय खर्च खुशीसाथ गर्न पाइन्छ। धेरै बाँकी खानुपर्ने र ऋण सापटी माग्नुपर्ने जस्ता समस्या केही हदसम्म सजिलो हुनेछ तर बजेट बनाएर विधिवत् रूपमा घरखर्च गर्ने हाम्रो बानी नभएकाले चाँडो–चाँडो रकम हात लाग्दा खर्च बढ्ने देखिन्छ।
बाँकी दिने ठाउँमा पनि एक महिनामा तलब पाउँदा जति बाँकी पाइन्थ्यो, पन्ध्र दिनमै पैसा पाउने लोभमा बढी बाँकी दिने, ऋण दिनेले पनि बढी दिन सक्छन्। ऋण र बाँकी लिंदा त खुसी नै भइन्छ तर तिर्नुपर्दा बाउ–बाजेको बिहे देखिन्छ।
खर्च बढी गरून् र आर्थिक परिचालन बढी होस् भनेरै सरकारले अर्धमासिक तलब दिने होला तर हामी नेपालीको स्वास्थ्य, शिक्षा, आवास लगायतका समस्या विकराल रहेकाले तलबको सबै रकम खर्च गर्न सकिंदैन, केही बचत गर्नैपर्छ।
कर्णाली प्रदेशकी एक प्रथम श्रेणीकी कर्मचारीको धारणा यस्तो छ : हामी उच्च तहका कर्मचारीहरू कहिले बिहान ७ बजे, ८ बजे आउनुपर्छ, कहिले ५ बजेपछि पनि बस्नुपर्छ कार्यालयमै, छुट्टीको दिनमा पनि काम गर्नुपर्छ, बैठक बस्नुपर्छ। त्यसर्थ हामी उपल्लो तहका कर्मचारीहरूलाई ९–५ को अवधिले खासै फरक पार्दैन।
तर मैले देखे अनुसार तल्ला तहका कर्मचारी, त्यसमा पनि महिला, अझै भनौं बुहारी वा आमा कर्मचारीहरूलाई यो कार्यालय समय उचित देखिंदैन। हुनत बानी नभएर पनि होला तर कार्यालय जानुपर्ने दिनमा भ्याईनभ्याई भएको देखेकी छु। त्यसमाथि पनि दुर्गम स्थान र काठमाडौंको ट्राफिक जाममा पर्ने सबै कर्मचारीहरू तर विशेष रूपमा आमा र शारीरिक रूपमा विशेष क्षमता भएका कर्मचारीहरूलाई अप्ठ्यारो परिरहेको देखेकी छु।
सबै प्रकारका कर्मचारी र सेवाग्राहीहरूका लागि १०–४ बजेकै समय उपयुक्त हुने देखिन्छ। बरु समयावधि चाहिं विद्यालयको बढाउनुपर्छ। बिहान साढे ९ बजे शुरु गरेर साढे ४ बजे बन्द गर्नुपर्छ। यसका लागि थपेको एक घण्टालाई विशेष सीप सिक्ने, जस्तै: विज्ञान, कृषि, व्यवसाय वा हस्तकलाको सीप, अथवा सिर्जनात्मक कार्य नृत्य, गायन, वाद्यवादन, चित्र, मूर्ति, साहित्य वा कुनै विशेष खेल आदि सिकाउनुपर्छ।
यसका लागि सरकारले बीचको खाजा ताजा, पौष्टिक र चाहिने मात्रामा उपलब्ध गराउने वा विशेष सहयोग पुर्याउनुपर्छ। यसो गर्दा, विद्यार्थीहरू सीपयुक्त बन्दै जाने, एकोहोरो पुस्तक पढाइ रटानको दिक्दारीबाट पुनर्ताजगी हुने, व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप सिक्दै जाने तथा आमा–कर्मचारीहरूलाई छोराछोरी पढाउन पनि सहज हुने देखिन्छ।
प्रतिक्रिया 4