+
+
Shares

ट्रान्सफर्मर चोरीपछि सिरहाका किसान संकटमा

स्थानीयवासीका अनुसार सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएको जानकारी दिए ।

सुरेश राय सुरेश राय
२०८३ जेठ २९ गते ८:१८

२९ जेठ, सिरहा । सिरहाको गोलबजार क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको विद्युत ट्रान्सफर्मर चोरी भएपछि किसानहरु प्रभावित भएका छन् । खेतीपातीको मुख्य समयमा विद्युत आपूर्ति अवरुद्ध हुँदा करिब ३ सय बिघा खेतीयोग्य जमिन बाँझो रहने जोखिम बढेको स्थानीय किसानहरूले बताएका छन् ।

गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएको थियो । स्थानीयका अनुसार उक्त ट्रान्सफर्मरबाट सिमरा चौर क्षेत्रका २ सयदेखि ३ सय किसानले सिँचाइका लागि विद्युत सेवा लिँदै आएका थिए ।

स्थानीय किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसानहरू समस्यामा परेको बताए । उनका अनुसार अहिले डिजेलबाट चल्ने पम्प वा अन्य स्रोतको सहारा लिनुपर्ने अवस्था बनेको छ, जसले खेतीको लागत बढाउनेछ ।

किसान रामपृत यादवले खेतीपाती नै आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए । दुई बिघा जमिनमा खेती गर्दै आएको बताउने यादवले सिँचाइ अभावले उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरे ।

अर्का किसान लक्ष्मण यादवले खेतमा रोपाइँका लागि तयार गरिएको बीउसमेत पानी अभावका कारण नष्ट हुने अवस्था आएको बताए । उनले सिँचाइ सुविधा तत्काल पुन:स्थापना गर्न सम्बन्धित निकायसँग माग गरे ।

प्रभावित किसानहरूले नेपाल विद्युत प्राधिकरण, स्थानीय तह तथा अन्य सम्बन्धित निकायलाई शीघ्र नयाँ ट्रान्सफर्मर जडान गरी सिँचाइ व्यवस्था सुचारु गर्न आग्रह गरेका छन् ।

विद्युतको प्राविधिक ज्ञान भएका व्यक्ति संलग्न हुनसक्ने अनुमान

खेतीपातीको महत्वपूर्ण समयमा सिँचाइ सुविधा अवरुद्ध हुँदा कृषि उत्पादनमा असर पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

स्थानीयवासीका अनुसार सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको उनीहरूको गुनासो छ ।

स्थानीय रामनारायण यादवले ट्रान्सफर्मर चोरीमा विद्युत प्रणालीसम्बन्धी प्राविधिक ज्ञान भएका व्यक्तिको संलग्नता हुन सक्ने आशंका व्यक्त गरे । उनका अनुसार उच्च भोल्टेज लाइनमा जडान गरिएको ट्रान्सफर्मर सामान्य व्यक्तिले हटाउन कठिन हुन्छ ।

गोलबजार नगरपालिका–१३ का वडाध्यक्ष नन्दकुमार महतोले घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजार, नगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराइएको बताए । उनले किसानको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

उनका अनुसार अन्य माध्यमबाट समाधान हुन नसकेमा वडाले विद्युत विस्तारका लागि छुट्याएको बजेटबाट नयाँ ट्रान्सफर्मर जडानका लागि पहल गर्नेछ ।

ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएको जानकारी दिए । उनका अनुसार नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका लगायतका स्थानीय तहबाट यस्ता उजुरी आएका छन् ।

डीएसपी पालका अनुसार उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

खेतीपातीको महत्वपूर्ण समयमा सिँचाइ सुविधा अवरुद्ध हुँदा कृषि उत्पादनमा असर पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् । किसानहरूले तत्काल ट्रान्सफर्मर जडान गरी सिँचाइ व्यवस्था पुन: सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?