२९ जेठ, जनकपुरधाम । सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा, कोचिङ तथा ट्युसनको नाममा शुल्क लिने गरेको दावीसहित परेको रिटमा उच्च अदालत जनकपुरले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले जेठ २६ गते निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
धनुषाको विदेह नगरपालिका–१ निवासी शिव सागर ठाकुरले जनता नमुना माध्यमिक विद्यालय गिद्दा बेलापट्टी, माध्यमिक विद्यालय ठाडीझिझा, विदेह नगरपालिकाको कार्यालय तथा सम्बन्धित पदाधिकारीहरूलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिट निवेदनको पक्षमा अधिवक्ताद्वय पवनकुमार झा र बलराम तिवारीले गरेको बहस गरेका थिए । रिट निवेदनमा माग गरिएबमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने विषयमा विपक्षीहरूको धारणा आवश्यक देखिएकोले १५ दिनभित्र आफैँ वा कानुनबमोजिमका प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न अदालतको आदेश छ ।
अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न आगामी असार ४ गते पेशी तोकिएको छ ।
प्रतिक्रिया 4