+
+
Shares

युवा सक्रियताले फेरिँदै विजयपुरको सामुदायिक विद्यालय

श्री राष्ट्रिय आधारभूत विद्यालयमा दुई महिनाअघिसम्म नियमित रूपमा १५ जना मात्र विद्यार्थी आउँथे । तर अहिले त्यो संख्या बढेर १०० हाराहारी पुगेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ जेठ १८ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको बटेश्वर गाउँपालिका-१ स्थित एक आधारभूत विद्यालयमा स्थानीय युवाको अभियानपछि विद्यार्थी सङ्ख्या दुई महिनामै १५ बाट बढेर करिब १०० पुगेको छ ।
  • शैक्षिक गुणस्तर सुधारका लागि युवाहरूले निजी स्रोतबाट शिक्षक नियुक्ति गर्नुका साथै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन समेत शुरू गराएका छन् ।
  • सुधारपछि अभिभावकले बालबालिकालाई निजी विद्यालयबाट निकालेर यस विद्यालयमा भर्ना गर्न थालेका छन् भने स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

१८ जेठ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-१ विजयपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा दुई महिनाअघिसम्म नियमित रूपमा १५ जना मात्र विद्यार्थी आउँथे । तर अहिले त्यो संख्या बढेर १०० हाराहारी पुगेको छ ।

विजयपुरका युवाहरू संगठित भएर शैक्षिक गुणस्तर सुधार तथा विद्यालय रूपान्तरण अभियानमा लागेपछि उक्त विद्यालयको विद्यार्थी संख्या उल्लेख्य रूपमा बढ्न थालेको हो ।

गुमाएको विश्वास बढ्न थालेपछि अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट निकालेर यस विद्यालयमा भर्ना गर्न थालेका छन् ।

पठनपाठनको अवस्था सुधारिएपछि आफूले आफ्ना दुई सन्तानलाई निजी विद्यालयबाट निकालेर यही विद्यालयमा भर्ना गरेको स्थानीय आशाकुमारी महतो बताउँछिन् । ‘पहिले राम्रो पढाइ हुँदैनथ्यो । अहिले युवाहरूको सक्रियताले नियमित र प्रभावकारी रूपमा पढाइ हुन थालेको छ । त्यसैले बालबच्चालाई बोर्डिङबाट निकालेर यहीँ भर्ना गरें ।’

युवाकै सक्रियताले विद्यालयमा अंग्रेजी माध्यममा पनि पढाइ सुरु गरिएको छ । यसले विद्यार्थीको आकर्षण झनै बढेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमलकुमार महतोका अनुसार गाउँलेहरूले पनि आफ्ना बालबालिकालाई यहाँ भर्ना गराई नियमित रूपमा विद्यालयको निगरानी गर्न थालेका छन् ।

राजनीतिक हस्तक्षेप, जनप्रतिनिधिहरूको बेवास्ता तथा गाउँलेको उदासिनताका कारण केही समयअघिसम्म यो विद्यालय धाराशायी बनेको थियो । विद्यालयका प्रधानाध्यापक नारायण साहका अनुसार करिब २० जना विद्यार्थीले मात्र परीक्षा दिने गरेका थिए भने नियमित रूपमा १२-१३ जना विद्यालय आउने गर्थे ।

तर, विद्यालयको गुणस्तर, विश्वसनीयता र साख फर्काउने उद्देश्यका साथ यहाँका युवाहरू चार महिनादेखि संगठित रूपमा अभियानमा जुटेका छन् । शैक्षिक गुणस्तर सुधारका लागि उनीहरूले विद्यालयका समस्या र समाधानबारे समुदायस्तरमा नियमित छलफल तथा बहस गर्दै आएको स्थानीय रामभरोस महासेठको भनाइ छ ।

‘विद्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, शैक्षिक सामग्री उपलब्ध गराउने, शिक्षकहरूको प्रतिबद्धता सुनिश्चित गर्ने तथा गाउँलेहरूको सहयोग जुटाउने कार्यमा युवाहरू सक्रिय रूपमा लागिरहेका छन्,’ महासेठ भन्छन् ।

युवाहरूको अगुवाइमा सञ्चालन भइरहेको विद्यालय रूपान्तरण अभियानमा गाउँका भद्रभलाद्मी, अभिभावक, महिला तथा सचेत नागरिकहरूको समेत सक्रिय सहयोग रहेको छ ।

युवाहरूले आर्थिक सहयोग संकलन गरी निजी स्रोतबाट हालै दुई जना शिक्षक नियुक्त गरेका छन् । यति मात्र होइन, गाउँका शिक्षित गृहिणीहरूलाई तालिम प्रदान गरी विद्यालयका शैक्षिक गतिविधिमा परिचालन गर्ने तयारीसमेत गरिएको स्थानीय सुक्रित महतोले बताए । विद्यालयमा अभिभावकहरू टिफिनमा आफ्ना बालबालिकाका लागि खाजा लिएर आउने गरेका छन् ।

बटेश्वर गाउँपालिका-१ का वडाध्यक्ष अशोककुमार महतो विद्यालय रुपान्तरणमा लागेका युवाहरूको भावनाअनुसार नै गर्नुपर्ने हरेक कार्यमा पछाडि नपर्ने बताउँछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले विद्यालय सुधारमा पालिकाबाट हुन सक्ने हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?