News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको बागमती किनारमा पार्क बनेको छ, जहाँ युवायुवती प्रेमका विभिन्न स्वरूपहरूमा रमाइरहेका छन्।
- लेखकले प्रेमलाई केवल शारीरिक निकटता नभई आत्माको शुद्धीकरण र समर्पणको प्रक्रिया भनेका छन्।
काठमाडौँको कोलाहल चिर्दै बग्ने बागमतीको उत्तरी किनार अहिले शहरको धूलो मैलो र मान्छेको हतारो बीच पनि आरामको सुस्केरा हाल्न पार्कको रहर गरिरहेको छ । मेरा लागि यो करिडोर केवल बाटो मात्र होइन, मानवीय भावनाका अनगिन्ती रङ्गहरू पढ्ने एउटा खुला पुस्तकालय बनेको छ ।
म हरेक साँझ यही करिडोरको समानान्तर हिँड्छु, जहाँ नदीको मन्द बगाइ र पार्कका बेन्चहरूमा बसेका प्रेमिल जोडीहरूको मौन संवादले वातावरणमा एउटा बेग्लै सुवास भरिदिएको छ ।
पार्कका हरेक बेञ्चमा प्रेमका फरक-फरक स्वरूपहरू देखिन्छन् । कतै एउटा युवाले प्रेमिकाको काँधमा टाउको बिसाएको छ, त कतै युवतीले आफ्नो प्रेमीको हात समात्दै भविष्यका रंगीन सपना बुनिरहेको देखिन्छ । ती प्रेम-क्रिडामा रमाइरहेका दर्जनौँ जोडीहरूलाई देख्दा लाग्छ, आहा ! कति जानेका यिनीहरूले प्रेम गर्न । कस्तो मिठो भावमा बगेको छ आज यो समय । प्रेमको त्यो लय देख्दा लाग्छ- यो काठमाडौं शहर जतिसुकै कठोर र यान्त्रिक भए पनि प्रेमका कारण अझै जीवितै छ ।
युवायुवतीका ती दृश्यहरूले मलाई झस्काउँछन् पनि ।
के प्रेम केवल स्पर्श हो ? के प्रेम केवल दुई शरीरको निकटता मात्र हो ? होइन, मेरो मनले त्यहाँ स्पर्शभन्दा परको एउटा गहन दर्शन देख्छ र यस्तो लाग्छ आहा ! कति
जानेका यिनीहरूले प्रेम गर्न ।
के मैले चाँहि नजानेको हो प्रेम ?
आज पहिलो पटक आफ्नै प्रेमबारे प्रश्न गरेँ मैले बागमतीको किनारबाट । प्रेम, जसलाई परिभाषित गर्ने चेष्टामा शब्दहरू स्वयं थाक्छन् र मौनतामा शरण लिन पुग्छन् । विश्व प्रसिद्ध निबन्धकार फ्रान्सिस बेकनले भनेझैं, ‘प्रेम विवेकको शत्रु त हो, तर यो त्यो दिव्य पागलपन हो जसले मानिसलाई देवताको नजिक पुर्याउँछ ।’ मैले वर्षौंसम्म प्रेमलाई शास्त्रहरूमा खोजेँ, गीत, गजल, कथा र कविताका हरफहरूमा पछ्याएँ र संवेगका छालहरूमा मापन गर्ने प्रयत्न गरेँ । तर आज, जीवनको यो उत्तरार्धमा बागमती किनारबाट उभिएर हेर्दा महसुस हुन्छ मैले त प्रेमलाई कहिल्यै जान्दै जानिनछु । र, यो नजान्नु नै मेरा निम्ति प्रेमको सबैभन्दा उच्च कोटिको बोध रहेछ ।
विश्व प्रसिद्ध लेखक चार्ल्स ल्याम्बको जस्तै कुनै पुरानो सम्झनाको झ्यालबाट चिहाउँदा म पाउँछु, हामीले प्रेमलाई केवल एउटा अधिकार वा प्राप्तिको रूपमा मात्र बुझ्यौं । हामीले सोध्यौं मलाई कसले प्रेम गर्छ ? तर यो कहिल्यै सोधेनौं कि के म प्रेम हुन सकेँ ? प्रेम त त्यो समर्पण रहेछ, जहाँ ‘म’ को अस्तित्व पग्लिएर ‘तिमी’ को महासागरमा विलीन हुन्छ ।
विश्व विख्यात लेखक राल्फ वाल्डो इमर्सनले प्रकृतिमा जे देखे, प्रेम पनि त्यस्तै एउटा परमात्माको अंश रहेछ, जो कुनै नियममा बाँधिदैन, बरू स्वयंमा एउटा ब्रह्माण्डीय नियम हो । प्रेममा नियतिले खेल्ने खेलहरू बडो विचित्रका हुन्छन् । कहिलेकाहीँ हामी अनजानमा गरिएका साना गल्तीहरूलाई अपराधको संज्ञा दिन्छौँ र आफैलाई दोषीको कठघरामा उभ्याउँछौँ । तर ती अन्जान गल्तीहरू नै त हुन्, जसले हाम्रो अहंकारलाई चूर्ण गर्छन् र हृदयलाई विनम्र बनाउँछन् ।
प्रेममा भएको त्रुटि कुनै विफलता होइन, बरू यो त आत्माको शुद्धीकरणको एउटा प्रक्रिया हो । जब हामी प्रेममा हार्छौँ, तब मात्र हामीले आफ्नो वास्तविक अहम्लाई चिन्न सक्छौँ । नियतिले जब दुई हृदयलाई टाढा पुर्याउँछ, त्यो बिछोड केवल भौतिक दूरी मात्र हुँदैन, त्यो त पुनर्मिलनका लागि तयार पारिएको एउटा आध्यात्मिक पृष्ठभूमि बन्ने रहेछ । लाग्छ सायद आज बागमती किनार प्रेमको आलिङ्गनमा बाँधिएका यी युवायुवतीको प्रेमले त्यही पृष्ठभूमि बनाइरहेको पनि हुन सक्छ ।
आज बागमती किनारको यो पार्कमा देखिएका ती जोडीहरू केवल समय बिताउन आएका पात्रहरू होइनन् । मेरो नजरमा ती समर्पणका जीवन्त प्रतीक हुन् । प्रेम त त्यो विन्दु हो जहाँ ‘म’ हराउँछ र ‘हामी’ को उदय हुन्छ । बागमतीको धमिलो पानीले शहरको फोहोर बोकेर बगे पनि किनारमा फुलेका प्रेमका फूलहरूले पवित्रताको सन्देश दिइरहेका छन् । जसरी नदीले आफ्नो गन्तव्य सागरलाई मानेको हुन्छ, त्यसैगरी सच्चा प्रेमीहरूले एकअर्काको अस्तित्वलाई नै आफ्नो संसार ठान्छन् । धेरैजसो जोडीहरू बोल्दैनन्, तर उनीहरूको मौनतामा ब्रह्माण्डका सारा शब्दहरू अटाएका हुन्छन् । त्यो मौनता नै प्रेमको सर्वोच्च दर्शन हो । शहरको भीडभाड र प्रदूषणका बीचमा पनि शान्त रहेर एकअर्कालाई सुन्नु नै वास्तवमा प्रेमको तपस्या पनि हो ।
साँझ झपक्क परेको छ म यही करिडोरको बाटो भएर घर पुग्नु छ ।
म घर पुग्दा म सँगै बाटोका सबै दृश्यहरु छुट्छन त्यो मेरो दैनिकी हो र मेरो दैनिकी मेरो अनुकूलतामा चल्छ तर प्रेमको समय सधैं हाम्रो अनुकूल चल्दैन । कहिलेकाहीँ परिस्थिति र नियतिले हामीलाई यस्तो मोडमा ल्याइदिन्छ, जहाँबाट बाटोहरू अलग्गिन्छन् । तर के बाटो छुट्टिँदैमा गन्तव्य हराउँछ र ? भौतिक रूपमा टाढा हुनु भनेको प्रेम सकिनु होइन, बरू यो त प्रेमलाई साधनामा बदल्ने सुनौलो अवसर हो । नियतिले शरीरलाई अलग गराउन सक्छ, तर त्यो अदृश्य तन्तुलाई काट्न सक्दैन जसले दुई आत्मालाई बाँधेको हुन्छ । प्रेमको पूर्णता मिलनमा मात्र हुँदैन, बरू त्यो त त्याग र प्रतीक्षाको उज्यालोमा अझ बढी प्रस्टिन्छ ।
प्रसिद्ध लेखक फ्रान्सिस बेकनले भनेका छन्, ‘महान् व्यक्तिहरू प्रेममा परेर पनि आफ्नो गरिमा गुमाउँदैनन् ।’ प्रेमको उचाइ शरीरको संसर्गमा होइन, बरू विचारको सामीप्यता र आत्माको एकत्वमा हुन्छ । एउटा गल्तीले सिर्जना गरेको ‘मनोदशा’ ले हामीलाई कहिलेकाहीँ शून्यताको गहिराइमा पुर्याउँछ । तर त्यही शून्यतामा नै प्रेमको वास्तविक प्रतिध्वनि सुनिन्छ । जसरी एउटा बीउ माटोमुनि पुरिएर, आफूलाई नष्ट गरेर मात्र एउटा विशाल वृक्ष बन्छ, त्यसरी नै एउटा साँचो प्रेमीले आफ्नो संकुचनलाई विसर्जन गरेपछि मात्र प्रेमको विशालतालाई प्राप्त गर्छ ।
प्रेमको कालजयी मिलन भौतिक उपस्थितिमा मात्र निर्भर हुँदैन । इमर्सनले भनेझैं, “यदि हामी एउटै सत्यको खोजीमा छौँ भने, हामी जहाँ भए पनि एक-अर्काको साथमै छौँ ।” बितेका समयका गल्तीहरू, छुटेका हातहरू र अधुरा संवादहरू यी सबै प्रेमका ती अलंकार हुन् जसले मिलनलाई थप गरिमामय बनाउँछन् । साँचो पुनर्मिलन त त्यो हो, जहाँ दुई व्यक्ति फेरि भेटिँदा उनीहरू पहिलेका जस्ता रहँदैनन्,बरू प्रेमको रापमा खारिएका हुन्छन् ।
मलाई यो विश्वास छ बागमती किनारमा फुलेको यो प्रेमले यस्तो निखारलाई पनि बुझ्ने छ ।
बागमती किनारको यो पार्कमा रमाइरहेका ती प्रेमील जोडीहरूलाई हेर्दै गर्दा सोच्छु, संसारमा युद्धहरू हुन्छन्, अर्थतन्त्र ढल्छ, र प्रविधिले मानिसलाई एक्लो बनाउँछ । तर, जबसम्म बागमतीको यो किनारमा दुई प्राणी एकअर्काको साथमा बसेर मुस्कुराउँछन्, तबसम्म मानवता सुरक्षित छ । प्रेम कुनै क्षणिक संवेग होइन, यो त आत्माको शुद्धीकरण गर्ने एउटा प्रक्रिया हो ।
त्यो पार्कमा मैले देखेको प्रेममा एउटा अद्वैत दर्शन छ । जहाँ दुई व्यक्ति छुट्टाछुट्टै देखिए पनि उनीहरूको विचार र समर्पण एउटै लयमा प्रवाहित भइरहेको हुन्छ । बागमती करिडोरको यो पैदल यात्रा मेरा लागि केवल व्यायाम होइन, बरू प्रेमको आदर्श र समर्पणको गहिराइ नाप्ने एउटा आध्यात्मिक यात्रा बनेको छ ।
यी सबै दृश्य र अनुभूति पछि लाग्छ मैले नजानेको प्रेम वास्तवमा त्यो मौन प्रार्थना रहेछ, जहाँ मागिने केही छैन, केवल अर्पण मात्र छ । यो त्यो आदर्श हो जहाँ समर्पण बोझ बन्दैन, बरू मुक्ति बन्छ । प्रेममा हुने हरेक आँसुले आत्माको ऐनालाई सफा गरिरहेको हुन्छ । र अन्त्यमा, जब सबै भ्रमका पर्दाहरू उघ्रिन्छन्, तब मात्र थाहा हुन्छ—प्रेम त कहिल्यै टाढा गएकै थिएन ।
यो त सधैँ हामीभित्रै थियो, एउटा नजानिएको तर महसुस गरिएको ईश्वरझैं । त्यसैले प्रेमलाई जान्ने दाबी गर्नु नै प्रेमको अपमान रहेछ । प्रेम त सधैँ एउटा रहस्य बनिरहनु पर्ने रहेछ । यो नबुझिएको कविता जस्तै सुन्दर र नलेखिएको इतिहास जस्तै अजम्बरी हुनेरहेछ । मैले अहिले प्रेमलाई नजानेरै यसको विराटतालाई ढोगिरहेको छु । यही अज्ञानता नै मेरो ज्ञान र यही समर्पण नै मेरो पुनर्मिलन भएको छ ।
प्रतिक्रिया 4