+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

महानगरले अतिक्रमणमुक्त गराएको सार्वजनिक जग्गामा पार्क बनाइने, गरियो शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले वडा नम्बर १० देवीनगरस्थित ५ रोपनी १० आना २ पैसा सार्वजनिक जग्गामा स्पोर्टस् पार्क निर्माणको काम शिलान्यास गरेको छ।
  • पार्क निर्माणको लागत २ करोड ८१ लाख ४० हजार रुपैयाँ अनुमान गरिएको छ र निर्माण अवधि २०८३ कात्तिक १८ गतेसम्म तोकिएको छ।
  • पार्कमा खुला व्यायामशाला, ब्याटमिन्टन कोर्ट, फुटसल मैदान, छुट्टाछुट्टै शौचालय र १६३ वटा विरुवा रोपिनेछन् र वरिपरि पर्खाल लगाइनेछ।

३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण मुक्त बनाएको ५ रोपनी सार्वजनिक जग्गामा पार्क बनाइने भएको छ ।

महानगरले स्पोर्टस् पार्क बनाउने लक्ष्यसहित संरचना निर्माणको काम आज शिलान्यास गरिएको छ । यसअघि व्यक्ति तथा संस्थाले प्रयोग गरिरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।

शिलान्यास गर्दै वडा नम्बर १० का अध्यक्ष एवम् महानगरपालिका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले पार्क निर्माण कार्य पूर्वाधार मात्र नभई सामाजिक क्रियाकलाप बढाउने माध्यम पनि भएको उल्लेख गरे ।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात् २ हजार ८८० वर्गमिटर छ । उद्यान तथा हरियाली प्रबर्द्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आह्वानबाट १२ वटा कम्पनीले आवेदन दिएका थिए । यसमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ ।

पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ छ । कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ लाख रुपैयाँ हो ।

निर्माण पक्षलाई कात्तिक १८ गते कार्यादेश दिइएको छ । निर्माण अवधि २०८३ कात्तिक १८ गतेसम्म छ । पार्कभित्र खुला व्यायामशाला हुनेछ । १२८ वर्गमिटर क्षेत्रफलको ब्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ ।

पार्कभित्र महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन गर्ने कक्ष हुनेछ । ३११ दशमलव ८९ वर्गमिटर क्षेत्रमा दुबो रोपेर हरियाली बनाइनेछ ।

पार्कभित्र विभिन्न जातका १६३ वटा विरुवा रोपिनेछन् । यस्तै ३०० वटा मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ । यो पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयबासीलाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरूलाई खेल्ने ठाउँ हुनेछ ।

महानगर प्रहरी बलले यस स्थानमा भएका संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गराएको हो । त्यस बेला यो ठाउँको भोगचलन गरिरहेकी पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गरेकी थिइन् । उनका सामान स्थानान्तरण भएको ठाउँमा लैजान प्रहरी बलले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?