+
+
Shares

राष्ट्रकवि माधव घिमिरेसँगको ‘अप्रकाशित’ अन्तर्वार्ता

नयाँ युगमा आएकाहरूले नयाँ चीजलाई पहिल्याइरहेका छन् । तिनीहरूले जसरी यो युगलाई हेरेका छन्, त्यो युगलाई हामी त्यसरी हेर्दैनौं ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८३ जेठ ३० गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आफू पुनर्जन्म र आत्माको अमरतामा विश्वास गर्ने उल्लेख गर्दै घिमिरेले नयाँ पुस्ताका कविहरूसँगको सहयात्रालाई रमाइलो अनुभव भएको बताए।

नेपाली वाङ्‍मयको छन्द कविताको सर्वोच्च शिखर थिए राष्ट्रकवि माधव घिमिरे । उनको गौरी शोक काव्यले शोक काव्यको कीर्तिमान राख्यो, लोकप्रियता र बिक्री दुवै हिसाबले । साहित्यिक महत्तामा पनि यसको उचाइ अरू कुनै शोककाव्यले छुन सकेका छैनन् । उनको ‘मालती मंगले’ गीति काव्यले नेपाली रंगमञ्चमा यस्तो कीर्तिमान र उचाइ कायम गर्‍यो, जुन उचाइलाई अरू कसैका कृतिले स्पर्श गर्न सकेका छैनन् ।

उनले आजीवन साहित्य सिर्जना नै गरिरहे । जीवनका कैयन् वर्ष प्रज्ञा प्रतिष्ठानको सदस्यदेखि कुलपति पदसम्म पुगे । तर विसं २०४६ सालको राजनैतिक परिवर्तनपछि राजीनामा गर्नु पर्‍यो । त्यसपछि उनी सिर्जनामै लागिरहे ।

वि.सं. २०६० असार १४ गते काठमाडौंको कलंकीमा अवस्थित जापानी संस्था सोका गाक्काईको नेपाल केन्द्रमा एक कवि गोष्ठीको आयोजना गरिएको थियो । सो गोष्ठीमा माधव घिमिरे, मोहन कोइराला लगायत दर्जनौं कविहरू सहभागी थिए । सो गोष्ठीको संयोजनमा मेरो पनि संलग्नता भएकोले माधव घिमिरेज्यूलाई लिन उहाँको निवास गएको थिएँ । अनि उहाँको निवासदेखि कलंकीसम्म मोटरमा आउँदाको समयमा मैले उहाँसँग टेपमा छोटो अन्तर्वार्ता गरेको थिएँ ।

यो त्यही टेपमा थन्किएर रहेको अन्तर्वातालाई अक्षरमा उतारिएको छ:

यहाँले जीवनको यस कालखण्डमा यति धेरै सम्मानहरू प्राप्त गरिरहनुभएको छ यो देख्दा कस्तो अनुभव भइरहेको छ ?

मेरो दुइटा कुरा छ– एउटा चाहिँ मान्छेले जीवनमा केही न केही सिर्जनात्मक कार्य चाहिँ गर्नुपर्छ । त्यसको फल प्राप्त हुन्छ भनेर गर्ने होइन । समर्पित भावले गर्नुपर्छ । तर आखिरमा गएर त्यसको फल प्राप्त हुँदोरहेछ । अर्को कुरो– कला–साहित्य संगीतप्रति संस्कार भएको देशमा ती क्षेत्रमा उपलब्धि हासिल गर्नेहरूलाई त्यस क्षेत्रमा केही न केही काम गर्नेहरूको गुन चाहिँ यो राष्ट्रले देखाइरहेछ । नेपाली जनता गुण देख्ने जनता हुनाले नै मेरो यति सम्मान भएको हो भन्ने मलाई लाग्छ ।

यहाँलाई त सरकारबाट पनि उत्तिकै सम्मान प्राप्त भयो, जनताको तर्फबाट, आम नेपालीबाट पनि सम्मान प्राप्त भएको छ, यतिधेरै सम्मान जीवित अवस्थामा पाउने अति कम छन्, यो हिसाबले तपाईंलाई आफू निकै भाग्यमानी ठान्नुहुन्न ?

एकदम भाग्यमानी सम्झन्छु । सबैतिरबाट मैले सम्मान प्राप्त गरेको छु । दरबारदेखि झुपडी सम्मबाट पनि सम्मान, सद्‍भाव मैले प्राप्त गरेको छु र एउटा कुरा के लाग्छ भने मालती मंगले तपाईंले हेर्नुभयो त्यो राजाले पनि रंकले पनि रुचाए । सबैले सम्मान गर्नुको पछाडि मेरो रचनाको यही असर हो कि जस्तो मलाई लाग्छ ।

अनि यहाँ लाइ त बेलायत, अमेरिकाका नेपालीबाट पनि सम्मान प्राप्त भयो होइन त ?

भयो । त्यहाँ बसेका नेपालीहरूले सम्मान गरे । बेलायतमा र दुई ठाउँमा भयो । एउटा साहित्यिक संस्थाबाट राम्रो उपस्थिति थियो, त्यहाँबाट सम्मान भयो । स्वागत समारोह भयो । शाही नेपाली राजदूतबाट पनि दूतावासमा सम्मान भयो । नेपालीहरूको ठूलो भेला थियो, यस्तो गदगद भावले सम्मान भयो कि मेरा राष्ट्रिय भावनाका गीतहरू त्यहाँ गाइए । त्यो सम्मान उनीहरूले औपचारिक किसिमले नगरेर हृदयदेखि नै गरेको जस्तो मलाई अनुभव भयो ।

अनि अमेरिकामा दुई ठाउँमा भयो । न्यूयोर्कमा त्यहाँ पनि त्यस्तै थियो । अरू अरू राज्यमा भएका नेपालीहरू पनि त्यो सम्मान कार्यक्रममा आफ्नो काम छोडेर त्यहाँ आएका थिए । जस्तो गोविन्द कोइराला भन्ने अर्का स्टेटमा थिए त्यहाँ आए । त्यहाँको भेला पनि नेपालीहरूको र केही त्यहाँका विद्वानहरूको भेला थियो ।

त्यहाँ पनि त्यही किसिमसँग नेपालीले यो परदेशमा नेपालीलाई भेट्दा नेपालै भेटेजस्तो अनुभव गर्दारहेछन् र फेरि अर्को ठाउँ वाशिङ्टन डिसीमा यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि सम्मान गरेको थियो । त्यहाँ बुद्धिजीवीहरूको भेला थियो । उनीहरूले मेरो अश्वत्थामाको बारेमा जिज्ञासा राखे । मैले केही बताएँ । यस अर्थमा त्यहाँ बुद्धिजीवीहरूको भेला थियो । त्यो पनि महत्वपूर्ण भेला थियो । त्यसबाट सम्मानित हुँदाखेरीमा पनि मलाई हर्षको अनुभव भयो ।

यस्ता सम्मान पाउँदा ‘मैले नेपाली साहित्यलाई जति गरें अब पुग्यो’ भन्ने अनुभव भइरहेको छ कि अझै थप लेख्ने उर्जा प्राप्त भइरहेको छ ?

उर्जा प्राप्त भयो । एउटा कुरा यो हो । यो बुढेसकालमा पनि यो सम्मान पाउँदा भित्र फेरि सगबगाएर आएजस्तो र बुढो रुखमा पानी पर्दा फेरि फूल फुलेजस्तो अनुभव भयो । एउटा कुरा यो हो । अर्को कुरा के भन्देखिन् सम्मान पाउँला नै भनेर त लेखेको होइन । अब सम्मान पाइसकियो, अब म लेख्दिन यो होइन । त्यसको मतलब फेरि यो पनि होइन कि पाएको सम्मानको कुनै महत्व छैन भनेको पनि होइन ।

लेख्न, अन्य काम गर्न तपाईंलाई स्वास्थ्यले राम्रै साथ दिइरहेको छ नि हैन त ?

यो तीन चार वर्षजति मेरो स्वास्थ्य कमजोरै रह्यो, लेखपढ गर्न पद्य लेख्नलाई त अलि मेहनत नै पर्छ, पद्य लेखनतिर अलि कमी आएको छ । गद्य लेखनचाहिँ यति नै रह्यो । यता आएर यो मेरो स्वास्थ्य दुई–चार महिना पछि यसमा अभूतपूर्व परिवर्तन भएको छ । निकै राम्रो भएर आएको छ, निकै राम्रो । यद्यपि अहिले दुई–चार दिन सम्मलाई ठिक छैन । तर त्यो त अस्थायी हो, यता स्वास्थ्य चाहिँ निकै राम्रो भएर आएको छ । फेरि पद्य लेखनमा लागेको छु ।

हुन त मान्छेको एक पल्ट जन्म भएपछि मृत्यु भन्ने कुरो जीवनसँगै गाँसिएको कुरा हो तर अब त्यो मृत्यु कहिले हुन्छ कसैले पनि जान्दैन तर पनि मृत्युसम्बन्धी एउटा धारणा हुन्छ मान्छेको । एउटा धारणा बनाइन्छ । यहाँको मृत्युसम्बन्धी धारणा कस्तो छ ?

यो म दुईटा विचारको युगमा जन्मेको हुँ । एउटा भौतिक विचार, वैज्ञानिक विचारले परलोक र पुनर्जन्म मान्दैन । अर्कोचाहिँ आध्यात्मिक संस्कार, त्यसले चाहिँ आत्माको अमरता मान्दछ र पुनर्जन्म पनि मान्दछ । यो शंकामा नरहेको पनि हैन म । तर मेरो संस्कारै बलवान् भयो । म पुनर्जन्मलाई मान्दछु र आत्माको अमरतालाई पनि मान्दछु । यसले गर्दा मलाई के भयो भने यो जुन मैले अनुभव गरेको जो अस्तित्व छ त्यो जुन रूपमा भए पनि सदाका लागि रहन्छ जुन रूपमा माने एउटा नदी र खोलाको रूपमा, व्यक्तिको रूपमा भए पनि अथवा एउटा सागरको रूपमा परमेश्वरमा विलिन भएको रूपमा, परम सत्तामा विलिन भएको रूपमा भए पनि मेरो सत्ता रहन्छ भन्ने मलाई लाग्दछ ।

कहिलेकाहीं यहाँलाई जीवनको यस कालखण्डमा आएर राष्ट्रका प्रत्येक व्यक्ति साराले चिन्दछन् । साराले मान सम्मान गर्छन् । तर तपाईंले जब लेखन यात्रा सुरु गर्नुभयो त्यतिबेला यी सवको कल्पना थिएन होला हैन ?

थिएन । थिएन । एउटा कुरा के थियो भने यो कविता लेखौं भनेर योजना बनाएर लेखेको होइन । अरूले कविता गाएको सुन्दा रमाइलो लाग्यो । आफूलाई पनि लेख्न मन लाग्यो । लेखियो र पहिले–पहिले कवि भन्दिएको हुँदा बडा मनमा रोमाञ्च पैदा हुन्थ्यो । के–के न प्राप्त गरें भन्ने हुन्थ्यो ।

हामी बाटामा वार्तामा संलग्न छौं, म बुढो मान्छे बोल्दाबोल्दै मेरो सुर चाहिँ कहिलेकाहीं टुट्छ, प्रश्न के थियो रे ?

बाल्यकालमा लेख्न सुरु गर्दाको अनुभव….

त्यही कवि भन्दाखेरि रोमाञ्जित हुन्थें । त्यही आनन्द भो । अब त के भो भन्देखि मैले एउटा सुत्र बनाएको छु, पहिले जीवन कविता भयो, अहिले कविता जीवन । पहिला जीवन कविता भयो भन्नुको मतलब राति जागेर, उँघेर पनि कविता लेखियो । अरू क्यै कुरा भनिएन । जीवन कविताको निम्ति समर्पित भयो । अहिले कविता जीवन भयो भनेको त्यही कविताको आधारमा बाँचेको छु भौतिक आधारमा होइन । मेरा आफ्नै कविता गुन्गुनाउँदा र मेरो कविता अरूले मन पराउँदा मलाई त्यसैले केही गर्न प्रेरणा दिएको छ बाँचेको अनुभव भएको छ । यही हो ।

अहिले केही लेख्दै हुनुहुन्छ कि ?

मेरो एउटा कृति मैले थालेको छु, अश्वत्थामा लेखेपछि मेरो के चिन्तन भो त ? अश्वत्थामा विश्व संकटलाई लिएर लेखिएको काव्य हो । त्यसै विशेषतालाई लिएर नै अर्को काव्य मैले लेख्न थालेको थिएँ । यता मलाई जस्तो तपाईंहरूलाई थाहा छ रक्तस्राव भयो र ३–४ वर्ष मैले लेख्न सकिनँ । यो त्यसै रह्यो । मेरो एउटा बानी के छ भने बल गरेर लेख्नैपर्छ भन्ने छैन । तपस्यामा रहने । आएन भने चिन्तन नगर्ने । त्यो छ । अहिले फेरि त्यो काव्य लेखनतिर म लागेको छु । समय त त्यस्तो पाइँदैन । यसरी नै कार्यक्रममा हिंड्न पर्छ, प्रेरणा दिन्छ ।

अनि यस्तो युगमा हुनुहुन्छ यहाँ पाको उमेरमा पुग्दा नाति उमेरका कविहरूसँग पनि उत्तिकै स्नेह सानिध्य छ । छोरा उमेरकाहरूसँग पनि सँगै छौं, यो तीन पुस्ता सँगसँगै हिँड्दा कस्तो अनुभव हुन्छ ?

सहजीवन जिएको अनुभव हुन्छ । जीवनको व्याप्तिको । हिजो मात्रै एउटा लडकीले ‘सुस्ताएको छायाँ’ भन्ने कविता पढेकी थिइन् । त्यो कविता यति राम्रो लाग्यो मलाई कि अहा ! माने त्यो कविता पनि आफ्नै कविताजस्तो । कवितासँग सम्पर्क भएको छ जस्तो । अब नातिले उफ्रयो, हाँस्यो भने परिवारमा रमाइलो हुन्छ नि, सहज जीवन, त्यस्तै अरूहरूले पनि कविता पढेको सुन्दा खेरी त्यो सहयात्रा भनौं कि सहज जीवन भनौं कि त्यस्तो अनुभव मलाई हुन्छ ।

त्यो क्षेत्रमा म एक्लो छैन अरुहरू पनि छन् भन्ने मलाई अनुभव हुन्छ । कहिलेकाहीं के अनुभव हुन्छ भने, दुईटा अनुभव हुन्छ । नयाँ युगमा आएकाहरूले नयाँ चीजलाई पहिल्याइरहेका छन् । तिनीहरूले जसरी यो युगलाई हेरेका छन्, त्यो युगलाई हामी त्यसरी हेर्दैनौं ।

समग्र रूपले हेर्दा अरूले नयाँ कुरा प्राप्त गरेकोमा छक्कै पर्छु । तर कहिलेकाहीं के लाग्छ भने हामी बूढो मान्छे जहाँ आइपुग्या छौं, त्यहाँ पनि तिनीहरू आइपुगेका छैनन् । लटपटिइराखेका हुन् भन्दाखेरिमा अचम्म लाग्छ ।

समग्रमा…..

समग्र रूपमा मैले के भनें भने सहजीवन, सहयात्राको एउटा रमाइलो अनुभव, सिर्जनाको बीचमा हाम्रो कविताको संसार जीवित छ । भोलिहरू आइरहेका छन् । आलोकहरू आइरहेका छन् । रमाइलो भइरहेको छ । मैले अघि पनि भनें– उनीहरू गाइरहेका छन्, नाति पनातिहरू पनि गाइरहेका छन् । यो देख्दा हामीलाई पनि रमाइलो लागिरहेको छ ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?