+
+
Shares

इरान र अमेरिका सम्झौता नजिक, इजरायल–लेबनानको विषय अनिर्णित

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघची र अमेरिकी प्रशासनका उच्च अधिकारीहरूले यो सम्झौता अब ‘पहिलेभन्दा धेरै नजिक’ भएको बताएका छन् ।

कञ्चन कञ्चन
२०८३ जेठ ३० गते १४:१४

३० जेठ, काठमाडौं । तेहरानका बजारहरू गत फेब्रुअरीदेखि असामान्य सन्नाटामा थिए । तेलको मूल्य आकाश छुन थालेपछि ट्रक चालकहरू सडकमा निस्कन हिचकिचाउन थाले । खाडी क्षेत्रका बन्दरगाहहरूमा जहाजहरू लामबद्ध भएर पर्खिरहे ।

होर्मुज नाका बन्द भएको थियो । बीचबीचमा खुल्ने र बन्द हुने प्रक्रियाहरू चलिरहे पनि यसले पहिलाको जस्तै गति लिन सकेको थिएन । बीचबीचमा भएका युद्धविरामहरूमा पनि छिटफुट आक्रमणहरू जारी नै थिए ।

यस्ताेमा हिजो अन्तर्राष्ट्रिय मिडियाहरूमा आएका समाचारहरू अनुसार, अमेरिका र इरानबीच जारी युद्धलाई अन्त्य गर्ने प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको छ । यसलाई दुवै पक्षका वरिष्ठ अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघची र अमेरिकी प्रशासनका उच्च अधिकारीहरूले यो सम्झौता अब ‘पहिलेभन्दा धेरै नजिक’ भएको बताएका छन् ।

यस सम्झौताअन्तर्गत होर्मुज जलसन्धि पुनः खोलिनेछ, अमेरिकी नाकाबन्दी हटाइनेछ र इरानको आणविक कार्यक्रमबारे ६० दिनको वार्ता सुरु हुनेछ ।

यद्यपि, हिजो पनि अमेरिकी सेनाले होर्मुज जलसन्धितर्फ जाँदै गरेका इरानी ड्रोनहरू खसालेको एक स्रोतले रोयटर्सलाई जानकारी दियो । ती ड्रोनहरूले व्यापारिक यातायातमा खतरा निम्त्याएका थिए ।

अमेरिकी सेन्ट्रल कमान्डले पछि यो कारबाहीको पुष्टि गर्दै जलसन्धि पारवहनका लागि खुला रहेको जनायो । इरानी समाचार एजेन्सीहरूले जलसन्धिनजिक इरानको सिरिक बन्दरगाह र केश्म टापुमा विस्फोटका आवाजहरू सुनिएको रिपोर्ट गरे ।

स्थानीय बासिन्दा र अधिकारीहरूले यी विस्फोट क्रान्तिकारी गार्ड नौसेनाको अनुमतिबिना जलसन्धि पार गर्न खोज्ने जहाजहरूलाई चेतावनी दिन गोली चलाउँदा भएको बताए ।

000

यस सम्झौताको मस्यौदा धेरै स्रोतहरूले रोयटर्स, पोलिटिको, बीबीसी र एक्सियोसलाई विवरण दिएका छन् । यद्यपि केही विवरणमा भिन्नता छ, समग्र ढाँचा स्पष्ट छ ।

सम्झौताको पहिलो र सबैभन्दा तात्कालिक बुँदा, होर्मुज जलसन्धि पुनः खोल्ने र अमेरिकाको इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने हो । यी दुई कदम लगभग एकैसाथ लागु हुने बताइएको छ । जलसन्धि पुनः खुलेपछि ३० दिनभित्र युद्धपूर्वको अवस्थाजस्तै जहाज आवागमनको मात्रामा फर्कने लक्ष्य राखिएको छ ।

त्यसपछि ६० दिनको वार्ता अवधि सुरु हुनेछ । यस अवधिमा इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता हुनेछ । मुख्य विषय भनेको इरानको संवर्धित युरेनियम भण्डारको व्यवस्थापन हो ।

अमेरिकी अधिकारीहरूका अनुसार, यस सम्झौताले इरानलाई आणविक हतियार कहिल्यै हासिल नगर्ने प्रतिबद्धता गराउनेछ । इरानले परमाणु अप्रसार सन्धिमा पाँच दशकभन्दा बढी समयअघि नै यस्तो प्रतिज्ञा गरेको थियो । तर, हालैका वर्षहरूमा आणविक अग्रगतिले त्यो प्रतिबद्धतामाथि प्रश्नचिह्न खडा गरेको थियो । अमेरिकाले यसपटक आणविक कार्यक्रमको विघटन र अत्यधिक संवर्धित युरेनियम भण्डार नष्ट गरी हटाइनुपर्ने माग राखेको छ ।

आर्थिक पक्षमा पनि महत्त्वपूर्ण प्रावधानहरू छन् । सम्झौताले इरानलाई प्रतिबन्धहरूबाट क्रमशः मुक्ति दिने र ‘फ्रोजन एसेटहरू’ (रोक्का गरिएका सम्पत्ति) चरणबद्ध रूपमा फुकुवा गर्ने व्यवस्था गर्छ । तर यी सबै कुरा इरानले आफ्ना दायित्वहरू पूरा गरेको प्रमाण दिएपछि मात्र लागु हुनेछन् ।

सम्झौतामा इरानले मध्यपूर्वमा प्रोक्सी समूहहरूलाई (विशेष गरी हिज्बुल्लाह र अन्य इरान समर्थित शक्तिहरूलाई) वित्तीय सहयोग गर्न बन्द गर्ने प्रतिबद्धता पनि समावेश छ । यो माग अमेरिकाले लामो समयदेखि उठाउँदै आएको थियो ।

000

यस सम्झौता निर्माणमा कतार र पाकिस्तान मुख्य मध्यस्थकर्ताको भूमिकामा रहे । एक्सियोसका अनुसार, बुधबार रातिको वार्ता विशेष रूपमा निर्णायक साबित भयो ।

कतारका मध्यस्थकर्ता अली अल-थवादी र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानमा घण्टौँ वार्ता भयो । यस क्रममा अल-थवादीले अमेरिकाका विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरसँग फोनमा धेरैपटक कुराकानी गरे ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शुक्रबार पुष्टि गर्दै भने कि अमेरिका र इरानबीचको सम्झौता ज्ञापनपत्र (एमओयू) मा सहमति भइसकेको छ र अन्तिम हस्ताक्षरको प्रतीक्षा छ । दुवै पक्षले हस्ताक्षर गरेको खण्डमा यस सम्झौतालाई ‘इस्लामाबाद सम्झौता’ भनिनेछ ।

अमेरिकी पक्षमा उपराष्ट्रपति जेडी भान्स, चिफ अफ स्टाफ सुजी विल्स, विदेश सचिव मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ, राष्ट्रपतिका ज्वाइँ जेरेड कुश्नर र सीआईए निर्देशक जोन रेटक्लिफ यस वार्तामा नेतृत्वकारी भूमिकामा रहेका छन् । अमेरिकी अधिकारीका अनुसार, राष्ट्रपति ट्रम्प आफैँ संवर्धित आणविक सामग्री नष्ट गर्ने र हटाउने भाषाको तर्जुमामा ‘धेरै संलग्न’  रहेका थिए ।

हस्ताक्षर समारोहका लागि चार अमेरिकी वायुसेनाका सी-१७ विमानहरू बिहीबार नै युरोपतर्फ प्रस्थान गरिसकेका छन् । उपराष्ट्रपति भान्सको जेनेभामा हुने सम्भावित हस्ताक्षर समारोहका लागि सामग्री लगिएको बताइएको छ । एक पश्चिमी स्रोतका अनुसार सम्झौतामा आइतबार नै जेनेभामा उपराष्ट्रपति भान्स र इरानका संसद् अध्यक्ष मोहम्मद बाकेर गालिबाफले हस्ताक्षर गर्न सक्नेछन् ।

000
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार घोषणा गरे कि उनले इरानविरुद्ध ‘अनुसूचित आक्रमणहरू’ रद्द गरेका छन्, किनभने वार्ताकारहरूले ‘ठूलो सम्झौता’ गरेका छन् । ट्रम्पले यो सम्झौतामा शीघ्र हस्ताक्षर हुने सम्भावना रहेको बताए ।
तर शुक्रबार इरानी मिडियाले कथित १४-बुँदे सम्झौताका केही विवरण प्रकाशित गर्‍यो । ट्रम्पले ती विवरणहरूलाई ‘सहमत सर्तहरूसँग कुनै सम्बन्ध नभएको’ र ‘सत्यसँग कुनै नाता नभएको’ भन्दै खारेज गरे । उनले इरानी नेतृत्वलाई ‘बेइज्जत मान्छेहरू’ भनेर पनि आलोचना गरे ।

एक वरिष्ठ अमेरिकी प्रशासनिक अधिकारीले भने कि नयाँ आत्मविश्वासको कारण इरानको संवर्धित सामग्री हटाउनेबारेको ठोस प्रतिबद्धता हो । यसबाट राष्ट्रपति पनि खुसी भएको उनले बताए । सम्झौता सफल हुने सम्भावना ८० देखि ८५ प्रतिशत रहेको अनुमान गरे ।

‘इरान अमेरिकासँगको युद्धको विजेता हो’

इरानी विदेशमन्त्री अराघचीले सम्झौताबाहेक टेलिभिजनमा बोल्दै यस्तो अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिले अमेरिकी पक्षमा चिन्ता बढाएको छ ।

‘होर्मुज जलसन्धिको प्रशासन अब पहिलेको जस्तो हुनेछैन । इरानले ओमानसँगै जलसन्धिको यातायात नियन्त्रण गर्ने जनायो । हाम्रो तरवार सधैँ होर्मुज जलसन्धिमाथि झुण्डिरहनेछ,’ अराघचीले दाबी गरेका छन् ।

हाेर्मुज बन्द भएपछि इरानले पार गर्न खोज्ने जहाजहरूबाट शुल्क माग्दै आएको थियो । अमेरिकाले सबै जहाजहरूका लागि स्वतन्त्र पारवहनको माग राखेको थियो ।

आणविक प्रश्नमा अराघचीले इरान आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डारको ‘डाउन-ब्लेन्डिङ’ अर्थात् सामग्रीलाई कम खतरनाक रूपमा परिणत गर्ने पक्षमा रहेको बताए । उनले भने, ‘तेहरानका लागि अत्यधिक संवर्धित युरेनियम भण्डारको एकमात्र उपयुक्त समाधान डाउन-ब्लेन्डिङ हो ।’

तर अमेरिकी अधिकारीहरूले भने आणविक सामग्री ‘नष्ट गरी देशबाट हटाइने’ अपेक्षा राखेका छन्, यद्यपि यसको सटीक तरिका अझै तय भइसकेको छैन । यो दुई पक्षको दृष्टिकोणमा महत्त्वपूर्ण भिन्नता हो ।

अराघचीले टेलिभिजनमा भने, ‘जसरी नै वार्ताका अन्तिम चरणहरू पूरा हुन्छन्, यो सम्झौतामा हस्ताक्षर र घोषणा हुनेछ । यो आउने दिनहरूमै हुन सक्छ । म धेरै आशावादी छु ।’

तर इरानी पक्षमा पनि एकमत छैन । यो कुरा अराघचीले पनि स्वीकार गरेका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा सम्झौताका ‘समर्थक र विरोधी दुवै’ छन् ।

उनले भने, ‘अहिलेका लागि हामीले पर्खनुपर्छ । यदि स्वीकृत भयो भने, सम्झौता टाढैबाट हस्ताक्षर हुनेछ ।’

सम्झौताको सबैभन्दा जटिल र विवादास्पद पक्ष भनेको इरानको आणविक कार्यक्रम हो । इरानले अमेरिका र इजरायली आक्रमणपछि पनि आफ्नो केही आणविक सामग्री भूमिगत स्थानहरूमा सुरक्षित राखेको छ ।

स्रोतहरूका अनुसार, ट्रम्पले इरानको अत्यधिक संवर्धित युरेनियमलाई संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरूको निगरानीमा देशभित्रै डाउन-ब्लेन्ड गर्ने विकल्पमा सहमत भएका छन् । तर यो कदम केवल दोस्रो सम्झौता सम्पन्न भएपछि मात्र हुनेछ । पहिलो एमओयू हस्ताक्षरपछि ६० दिनको वार्ता अवधिमा यो विषयमा गहन छलफल हुने अपेक्षा छ ।

एक अधिकारीले भने, ‘प्राविधिक विवरणहरू पत्ता लगाउन बाँकी छ, तर मलाई लाग्छ प्रतिबद्धता छ । आणविक हतियार कार्यक्रम विघटन गर्ने प्रतिबद्धता छ । आणविक स्थलहरू निष्क्रिय पार्ने प्रतिबद्धता छ र त्यसपछिको प्राविधिक वार्तामा यसलाई कसरी गर्ने भन्ने तय गरिनेछ ।’

अरब अधिकारीहरू भने शङ्कामा छन् । वार्ताका क्रममा अरब देशका अधिकारीहरूले इरानले कुनै महत्त्वपूर्ण आणविक सम्झौता गर्ने इरादा राख्छ भनेर विश्वास गर्न गाह्रो भएको व्यक्त गर्दै आएका छन् ।

000

यस सम्झौता प्रक्रियामा इजरायल पूर्णतः बाहिरको स्थितिमा छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्ट पारेका छन् कि उनको देश यस सम्झौतामा पक्ष हुनेछैन ।

एक्सियोसका अनुसार, सम्झौता अन्तिम भएको ट्रम्पको घोषणाले नेतान्याहुलाई अचम्मित पारेको थियो । हालैका दिनहरूमा नेतान्याहु अन्धकारमा परेको अनुभव गरे । उनी ट्रम्प प्रशासनका नजिकका सहयोगीहरूलाई फोन गरी जानकारी जुटाउन खोजिरहेका थिए ।

इजरायलका रक्षामन्त्रीका अनुसार, उनको देशले कुनै पनि क्षेत्र छोड्नेछैन । एक इजरायली अधिकारीले इजरायलले स्वतन्त्र रूपमा कार्य गर्ने क्षमता राख्ने बताएका छन् । ‘यदि इरानले आणविक हतियार हासिल गर्ने क्षमता कायम राख्यो भने आवश्यक कदम चाल्नेछ,’ उनले भनेका छन् ।

अमेरिकाले सम्झौतालाई अमेरिका र इरानमा मात्र सीमित राख्ने देखिन्छ । तर, इरानका लागि इजरायल र हिज्बुल्लाहबीचको युद्ध पनि सर्तका रूपमा राख्ने देखिन्छ । इरानी विदेशमन्त्री अराघचीले पनि यो सम्झौतामा व्यवस्था हुनुपर्ने कुरा राखेका छन् ।

तर, इजरायल यो कुरामा सहमत देखिँदैन । प्रधानमन्त्री नेतान्याहुले इजरायलको उत्तरी भूभागलाई निशाना बनाइराखेका हिज्बुल्लाहमाथि आक्रमण गरिरहने बताएका छन् । उनी यस निर्णयमा अडिग देखिन्छन् ।

अमेरिकाले लेबनान यस सम्झौताको हिस्सा नहुने र इरानले यसमा जोड दिइरहेको सङ्केत दिएका थिए । यो अझै एउटा अनिश्चित क्षेत्रका रूपमा देखिइरहेको छ ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?