+
+
Shares

जुकरबर्गले एआई रूपान्तरणमा गल्ती भएको स्वीकारे,थप कर्मचारी कटौती नहुने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ८:२३

काठमाडौं । मेटाका सी]ईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको कार्यदललाई एआईमा रूपान्तरण गर्ने क्रममा गल्तीहरू भएको स्वीकार गरेका छन्। रोयटर्सले फेला पारेको कम्पनीको एउटा आन्तरिक मेमोमा जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गर्दै यस्तो कुरा उल्लेख गरेका हुन् ।

जुकरबर्गले मेटाको आन्तरिक कार्यप्रणालीलाई एआई प्रविधि अनुकूल बनाउन अर्बौं डलर लगानी गरिरहेका छन्। एआई प्रविधिमा आएको तीव्र विकास र यसका कारण सिर्जित चुनौतीहरूको चर्चा गर्दै उनले मेमोमा लेखेका छन्, ‘यी परिवर्तनहरूको जटिलताका कारण हामीबाट गल्तीहरू भएका छन् र भविष्यमा पनि पक्कै थप गल्तीहरू हुनेछन्।’

उनले आगामी दिनमा आउने साङ्गठनिक परिवर्तनहरूमा कम्पनीले कर्मचारीहरूलाई सकेसम्म स्थिरता दिन ध्यान केन्द्रित गर्ने बताए। यद्यपि, संसार आफ्नो नियन्त्रणभन्दा बाहिरको दिशामा बदलिइरहेकाले आफूले पूरा गर्न नसकिनेचाहिँ बाचा नगर्ने उनले प्रष्ट पारे।

यसअघि, फेसबुकको मातृ कम्पनी मेटाले गत मे महिनामा ठुलो साङ्गठनिक पुनर्संरचना गरेको थियो। त्यस क्रममा कम्पनीले विश्वभरबाट १० प्रतिशत कर्मचारी कटौती गरेको थियो । ७ हजार कर्मचारीहरूलाई एआई कार्यप्रणालीसँग सम्बन्धित नयाँ जिम्मेवारीमा स्थानान्तरण गरेको थियो ।

जुकरबर्गका अनुसार, एआई मोडलहरूलाई तालिम दिन खटाइएका र जिम्मेवारी हेरफेर भएका ती कर्मचारीहरूका लागि कम्पनीले नयाँ भूमिकाहरू खोज्ने प्रयास गर्नेछ। यस वर्ष कम्पनीमा राष्ट्रिय वा विश्वव्यापी रूपमा थप कर्मचारी कटौती (ले-अफ) नहुने उनले आश्वस्त पारेका छन् ।

मेटाले व्यवस्थापकहरूको कार्यक्षेत्र र जिम्मेवारी धेरै बढेको गुनासोलाई पनि ध्यान दिएको छ। कम्पनीले अब म्यानेजरहरूको सुपरिवेक्षण दायरालाई केही कम गर्ने योजना बनाएको छ। यसअघि मेटाको नयाँ ‘अप्लाइड एआई इन्जिनियरिङ’ एकाइमा ५० जना कर्मचारी बराबर मात्र १ जना म्यानेजर रहने गरी खुकुलो संरचना बनाइएको रिपोर्ट सार्वजनिक भएको थियो।

कर्मचारीहरूबिचको आपसी सम्बन्ध र सहकार्यलाई बलियो बनाउन मेटाले कर्पोरेट कार्यक्रम तथा विभिन्न इभेन्टहरूका लागि बजेट बढाउने योजना बनाएको छ। यसै अन्तर्गत आगामी जुलाई महिनामा एउटा ठुलो प्रकृतिको ‘ह्याकाथन’ आयोजना गरिने जुकरबर्गले जानकारी दिएका छन् ।

मेटाले गत अप्रिल महिनामा आफ्नो वार्षिक पुँजीगत खर्चको अनुमानलाई बढाएर १२५ अर्बदेखि १४५ अर्ब अमेरिकी डलर पुर्‍याएको थियो। रोयटर्सले यस मेमोका बारेमा सम्पर्क गर्दा मेटाले आधिकारिक रूपमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?