+
+
Shares

कीर्तिमानी नाफाका बीच मेटाले ८ हजार कर्मचारी कटौती गर्दै, एआई विज्ञहरूमा लगानी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १३:१४

२ जेठ, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र निराशा छाएको छ।

पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ५६.३१ अर्ब डलर र खुद नाफा २६.८ अर्ब डलर पुगेको अवस्थामा यो ठूलो संख्यामा हुन लागेको कर्मचारी कटौतीले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ। ‘वायर्ड’ पत्रिकाले एक दर्जनभन्दा बढी वर्तमान र पूर्वकर्मचारीहरूसँग गरेको कुराकानीमा आधारित रिपोर्टअनुसार अहिले मेटाभित्रको वातावरण निकै तनावपूर्ण र निराशाजनक रहेको छ।

कर्मचारी कटौतीको योजना सार्वजनिक भएपछि पहिलो पटक गत अप्रिल ३०मा आयोजित कम्पनीव्यापी टाउन हल बैठकमा प्रमुख कार्यकारी अधिकृतमार्क जुकरबर्गले कर्मचारीहरूलाई सीधै सम्बोधन गरेका थिए । तर, उक्त बैठकले कर्मचारीहरूको चिन्ता कम गर्नुको साटो झन् अन्योल थपिदिएको छ। जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्स औजारहरूको प्रयोगका कारण यो जागिर कटौती नभएको स्पष्ट पारे पनि कटौतीको वास्तविक कारणबारे भने उनी मौन रहे।

अर्कोतर्फ, मुख्य वित्तीय अधिकारी सुसान लीले कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मे महिनाभित्र कर्मचारीको संख्या घटाउने योजना रहेको जानकारी दिएका थिए । उनका अनुसार लिनर अपरेटिङ मोडलले कम्पनीलाई तीव्र गतिमा अघि बढ्न मद्दत गर्नेछ र आगामी ठूला लगानीहरूलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याउनेछ।

वास्तवमा यसको सीधा अर्थ कम्पनीले एआई प्रविधिमा गर्न लागेको १२५ अर्बदेखि १४५ अर्ब डलरको विशाल लगानीको खर्च धान्न ८ हजार कर्मचारीको जागिर कटौती गर्न लागिएको बुझिन्छ।

मेटाले सन् २०२६ को फेब्रुअरीमा वार्षिक तलब वृद्धिमा ५ प्रतिशतले कटौती गरेको थियो, जुन त्यसको अघिल्लो वर्ष गरिएको १० प्रतिशत कटौतीपछिको निरन्तरता हो। तथ्याङ्कअनुसार मेटाका कर्मचारीको औसत वार्षिक पारिश्रमिक सन् २०२४ मा ४,१७,४०० डलर रहेकोमा सन् २०२५ मा घटेर ३,८८,२०० डलरमा झरेको छ।

यसको ठीक विपरीत, जुकरबर्गले एआई अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न व्यक्तिगत रूपमै करोडौं डलरका प्याकेजहरू अफर गरिरहेका छन् । पूर्वस्केल एआई प्रमुख अलेक्जेन्डर वाङको नेतृत्वमा गत वर्ष सुरु गरिएको ‘मेटा सुपरइन्टेलिजेन्स ल्याब्स’ का लागि कतिपय एआई विज्ञहरूलाई १०० मिलियन डलरसम्मको आकर्षक पारिश्रमिक दिएर भर्ना गरिएको छ।

यसले गर्दा कम्पनीका उच्च अधिकारी र सीमित एआई विज्ञहरू सुरक्षित रहने तर अन्य विभागका सर्वसाधारण कर्मचारीहरू भने कटौतीको जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। दुई समूहबीचको यो बढ्दो आर्थिक खाडलले कर्मचारीहरूमा चरम असन्तुष्टि पैदा गरेको छ।

इन्स्टाग्रामका एक कर्मचारीले वायर्डसँगको कुराकानीमा कम्पनीको आन्तरिक अवस्थाबारे टिप्पणी गर्दै भनेका छन्, ‘अहिले कम्पनीमा उच्च अधिकारीहरूबाहेक अरू कोही पनि खुसी छैनन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?