+
+
Shares

चीनको सैन्य दबाब र ट्रम्पको ‘आउट अफ द बक्स’ शैली

अमेरिकी प्रशासन बेइजिङको दबाबमा नझुकोस् र ताइवानप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि नहटोस् भन्ने सुनिश्चित गर्नु नै अहिले उनको मुख्य चुनौती बनेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका लागि ताइवानका कूटनीतिक प्रतिनिधि अलेक्ज्याण्डर युईले अमेरिकी नागरिकलाई आफ्नो देशको भूराजनीतिक संकट बुझाउन पश्चिमा पप संस्कृतिका विविध सन्दर्भहरू प्रयोग गरेका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ताइवानी राष्ट्रपति लाइ चिङ-तेबीच सम्भावित सिधा फोन वार्ता कूटनीतिक रूपमा न्यायसंगत हुने कूटनीतिज्ञ युईले बताए।
  • ट्रम्पले १४ अर्ब डलरको हतियार सम्झौतालाई चीनसँगको सौदाबाजीको माध्यम बनाए पनि ताइवान अमेरिकी संसद्को बलियो समर्थनप्रति विश्वस्त रहेको उनले उल्लेख गरे।

१ असार, काठमाडौं । वासिङ्टन डीसी अमेरिकाका लागि ताइवानका शीर्ष कूटनीतिज्ञ अलेक्ज्याण्डर ताह-रे युई यतिबेला वासिङ्टनको राजनीतिक वृत्तमा निकै व्यस्त देखिन्छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई १४ अर्ब डलरको हतियार बिक्री गर्ने विषयलाई चीनसँगको सम्झौतामा ‘नेगोसिएटिंग चिप’ को माध्यम बनाउन सक्ने संकेत गरेपछि युई  ताइवानको सुरक्षा संवेदनशीलता रक्षाका लागि अग्रपंक्तिमा उभिएका छन्।

अमेरिकी प्रशासन बेइजिङको दबाबमा नझुकोस् र ताइवानप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि नहटोस् भन्ने सुनिश्चित गर्नु नै अहिले उनको मुख्य चुनौती बनेको छ।

विगत साढे दुई वर्षदेखि अमेरिकाका लागि ताइवानको प्रमुख कूटनीतिक प्रतिनिधिको भूमिका निर्वाह गर्दै आएका युईले आफ्नो कार्यकालको धेरै समय पर्दापछाडि रहेर दुवै अमेरिकी राजनीतिक दल डेमोक्र्याट र रिपब्लिकनको समर्थन जुटाउन खर्चिएका थिए।

एसियाली लोकतन्त्रको रक्षाका लागि अमेरिकी संसद्मा साझा धारणा बनाउन उनी निरन्तर सक्रिय थिए। तर, गत महिना राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको द्विपक्षीय शिखर वार्तापछि युईको भूमिका एकाएक फेरिएको छ। उनी पर्दापछाडिको कूटनीतिबाट बाहिर निस्केर सार्वजनिक मञ्चहरूमा ताइवानको बलियो वकालत गर्न थालेका छन्।

पछिल्ला दिनहरूमा उनी विभिन्न टेलिभिजन च्यानलका समाचार कार्यक्रमहरू र वासिङ्टनका प्रतिष्ठित ‘थिंक ट्याङ्क’ हरूमा निरन्तर देखिन थालेका छन्। त्यहाँ उनले ताइवानलाई हतियार बिक्री गर्नु अमेरिकाका लागि कुनै बोझ नभई एउटा बुद्धिमानीपूर्ण लगानी भएको तर्क प्रस्तुत गरिरहेका छन्।

अमेरिकी सञ्चारमाध्यम ‘पोलिटिको’ सँगको एक विस्तृत अन्तर्वार्तामा कूटनीतिज्ञ युईले अमेरिकी जनतासँग संवाद गर्न र ताइवानको वास्तविक अवस्था बुझाउन हलिउड तथा पश्चिमी पप कल्चरका विविध सन्दर्भहरू प्रयोग गरेका छन्। अमेरिकी समाजमा ताइवानलाई सामान्यतया सेमिकन्डक्टर चिप्सको प्रमुख उत्पादक र ‘बबल टी’ को उद्गम थलोका रूपमा मात्र चिन्ने गरिन्छ।

तर, युईले यस परिधिभन्दा बाहिर निस्केर अमेरिकी नागरिकलाई आफ्नो देशको भूराजनीतिक संकट र अस्तित्वको लडाइँ बुझाउन फरक शैली अपनाएका छन्।

ढिलो चाँडो ताइवान जनवादी गणतन्त्र चीनकै हिस्सा बन्ने दाबी गरिरहन्छन्।

उनले बेइजिङको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई प्रसिद्ध अमेरिकी साइन्स फिक्सन सेरिज ‘स्टार ट्रेक’ को क्रूर र मिचाहा अनौठो जीव ‘द बर्ग’ सँग तुलना गरेका छन्। उनले भनेका छन् कि जसरी ‘द बर्ग’ ले ‘प्रतिरोध निरर्थक छ’ भन्ने एउटै मन्त्र जपिरहन्छ, त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि संसारका सामु ताइवानको स्वतन्त्रताको प्रयास निरर्थक रहेको बताउछन । र, ढिलो चाँडो ताइवान जनवादी गणतन्त्र चीनकै हिस्सा बन्ने दाबी गरिरहन्छन्। यो चिनियाँ दृष्टिकोण ठ्याक्कै ‘बर्ग’ को मानसिकता जस्तै रहेको उनको तर्क छ।

यसैगरी, युईले संसारका केवल १२ देशसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध रहेको ताइवानको जटिल अन्तर्राष्ट्रिय स्थितिलाई चर्चित उपन्यास तथा चलचित्र शृङ्खला ‘ह्यारी पोटर’ को जादुई विद्यालय ‘हगवर्ट्स’ सँग तुलना गरेका छन्।

हगवर्ट्स जसरी सर्वसाधारणका लागि अदृश्य र गुप्त रहन्छ, तर अस्तित्वमा हुन्छ ताइवानको अवस्था पनि अन्तर्राष्ट्रिय मञ्चमा त्यस्तै बनाइएको उनले उल्लेख गरे। त्यहाँ पुग्नका लागि एउटा विशेष प्लेटफर्म पार गर्नुपर्ने भए जस्तै ताइवानको कूटनीतिक पहिचान पनि छोपिएको तर जीवन्त रहेको उनले बताए।

यद्यपि, वर्तमान समयमा विश्वका धेरै मानिसले ताइवानको भूगोल, यसको लोकतान्त्रिक चरित्र र महत्त्वलाई राम्रोसँग बुझ्न थालेकोमा उनी सकारात्मक देखिन्छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका मामिलामा दशकौंदेखि चल्दै आएको कूटनीतिक मर्यादा र स्थापित परम्पराहरूलाई खासै वास्ता नगरेको इतिहास छ। चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको भेटवार्तामा ताइवानलाई हतियार बिक्री गर्ने विषयमा प्रत्यक्ष छलफल गरेर ट्रम्पले अमेरिकी कूटनीतिको स्थापित परम्परालाई तोडिदिएका छन्।

यति मात्र नभई, उनले यस विषयमा छलफल गर्न ताइवानका राष्ट्रपति लाइ चिङ-तेलाई सिधै फोन गर्न सक्ने संकेत समेत गरेका छन्। सन् १९७९ मा अमेरिकाले बेइजिङको चिनियाँ सरकारलाई औपचारिक मान्यता दिएपछि वासिङ्टन र ताइपेईका शीर्ष नेताहरूबीच यस प्रकारको प्रत्यक्ष संवाद भएको छैन। यदि ट्रम्प र ताइवानका राष्ट्रपतिबीच फोन वार्ता भयो भने त्यो इतिहासकै ठूलो घटना हुनेछ। युई ट्रम्पको यो स्थापित घेराभन्दा बाहिर निस्केर काम गर्ने शैलीबाट ताइवानले फाइदा लिन सक्ने ठान्छन्।

ट्रम्पको कार्यशैलीबारे टिप्पणी गर्दै युईले भने, ‘राष्ट्रपति ट्रम्पसँग जे पनि सम्भव छ। उनी स्थापित घेराभन्दा बाहिर निस्केर निर्णय लिने नेता हुन्। यदि दुई देशका राष्ट्रपतिबीच फोन वार्ता भयो भने त्यो वास्तवमै ठूलो विषय हुनेछ। ताइवान एक स्वतन्त्र र गणतान्त्रिक भएकाले वासिङ्टन र ताइपेईबीच शीर्ष तहमा सिधा कुराकानी हुनु पूर्ण रूपमा न्यायसंगत र व्यावहारिक छ।’

ताइवान बेइजिङ र वासिङ्टनबीचको भूराजनीतिक प्रतिस्पर्धाको मुख्य सरोकारवाला पक्ष भएकाले यस प्रकारको संवादमा ताइवानको सहभागिता अनिवार्य हुनुपर्ने र विश्वले ताइवानलाई एक स्वतन्त्र राष्ट्रकै रूपमा व्यवहार गर्नुपर्ने उनको धारणा छ।

ट्रम्प र सी चिनपिङको बेइजिङ भेटवार्ता अघि ह्वाइट हाउसले ताइवानको स्थिति र अमेरिका-ताइवान सम्बन्धका विषयमा शिखर वार्तामा कुनै छलफल नहुने बताएको थियो। तर, बैठकमा ताइवानको विषयले निकै धेरै समय लियो। यस विषयमा सोधिएको प्रश्नमा युईले आफूलाई कुनै आश्चर्य नलागेको बताए।

चिनियाँ नेता सी जिनफिङका लागि ताइवान एक मुख्य राजनीतिक एजेन्डा भएकाले उनले यस विषयलाई बैठकमा जोडतोडका साथ उठाउनु स्वाभाविकै थियो।

चिनियाँ पक्षले ताइवानका बारेमा लगातार लामो समयसम्म आफ्ना कुरा राखेको भए पनि ट्रम्पको बेइजिङ भ्रमणले ताइवानप्रतिको अमेरिकी नीतिको आधारभूत जगमा कुनै परिवर्तन ल्याउन नसकेको दाबी युईले गरे।

उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, संयुक्त राष्ट्र संघका प्रतिनिधि माइक वाल्ट्ज र अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियर लगायतका शीर्ष क्याबिनेट सदस्यहरूले ताइवानप्रतिको अमेरिकी नीति यथावत् रहेको भनी संसद् र सार्वजनिक मञ्चमा दिएका अभिव्यक्तिहरूको स्मरण गराए।

ट्रम्पले ताइवानलाई बिक्री गर्न लागिएको १४ अर्ब डलरको हतियारलाई चीनसँगको सम्झौताको हतियार बनाउने बताए पनि ताइवान यसबाट चिन्तित नरहेको युईले प्रष्ट पारे। अमेरिका र ताइवानबीचको सम्बन्ध केवल सैन्य सुरक्षामा मात्र सीमित नरहेर व्यापार, लगानी, विज्ञान र शिक्षा जस्ता विविध क्षेत्रमा फैलिएकाले ताइवानलाई चीनसँग सौदाबाजी गरिने डर नभएको उनले बताए।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ताइवानलाई १८ अर्ब डलर बराबरका हतियार बेचेका थिए भने गत वर्षको अन्त्यमा ११ अर्ब डलरको हतियार बिक्रीको घोषणा गरेका थिए। त्यसैले ताइवान अमेरिकी प्रशासनले गर्ने नयाँ सैन्य सम्झौताको समय तालिका र प्रक्रियालाई सम्मान गर्ने पक्षमा छ।

चीनको तर्फबाट बढ्दै गएको सैन्य दबाब र आक्रामकताको सामना गर्न ताइवानका लागि यो हतियार खरिद सम्झौता ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण छ। अमेरिकाले ताइवानलाई सामना गरिरहेको सुरक्षा चुनौतीको स्तर अनुरूप नै हतियार बिक्री गर्दै आएको छ। ११ अर्ब र १४ अर्ब डलरका यी सैन्य सम्झौताहरू ताइवानको आत्मरक्षा क्षमता बढाउन, विशेष गरी चिनियाँ मिसाइल विरुद्धको प्रतिरक्षा प्रणाली मजबुत बनाउन, असिमेट्रिक युद्ध रणनीतिको तयारी गर्न र सैन्य सञ्चार प्रणालीमा सुधार ल्याउन केन्द्रित छन्।

चीनले सधैं नै अमेरिकाले ताइवानलाई हतियार नबेचोस् भन्ने चाहे पनि ताइवानले आफ्नो सुरक्षा खतराको स्तर अनुसार थप आधुनिक हतियार खरिद गरिरहने युईले दृढता व्यक्त गरे।

अमेरिकी संसद्‌मा ताइवानका पक्षमा सधैं बलियो र साझा दलगत समर्थन रहँदै आएको छ। यदि राष्ट्रपति ट्रम्पले ताइवान सम्बन्धी पुराना नीतिहरूलाई उल्ट्याउन खोजे भने संसद्ले उनलाई रोक्न सक्ला त भन्ने संशयमा युई अमेरिकी संसद्को शक्तिमाथि पूर्ण विश्वास राख्छन्।

ट्रम्पको बेइजिङ भ्रमण लगत्तै अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सन लगायतका शीर्ष कूटनीतिक र संसदीय नेताहरूले ताइवानको पक्षमा ठूलो ऐक्यबद्धता जनाएका थिए।

अमेरिकी संसद्का दुवै सदनमा भएका सुनुवाइहरूमा अन्तर्राष्ट्रिय मामिलाका साथै ताइवानको सुरक्षा र रणनीतिक महत्त्वमाथि केन्द्रित भएर व्यापक छलफल हुनुले ताइवानका लागि अमेरिकी संसद्को समर्थन कति दरिलो छ भन्ने प्रमाणित हुने युईको तर्क छ।

कतिपय रक्षा विश्लेषकहरूले अमेरिकी प्रशासनका महत्त्वपूर्ण रणनीतिक दस्तावेजहरू, जस्तै राष्ट्रिय रक्षा रणनीतिमा ताइवानको नाम स्पष्ट रूपमा उल्लेख नभएको र उच्च अमेरिकी रक्षा अधिकारीहरूले ‘साङ्ग्रिला डायलग’ जस्ता ठूला अन्तर्राष्ट्रिय मञ्चमा ताइवानको नाम नलिएकोमा चिन्ता व्यक्त गरेका छन्। तर, युई यसलाई फरक दृष्टिकोणले हेर्छन्।

चिनियाँ आक्रामकता केवल ताइवानमा मात्र सीमित नभई समग्र प्रशान्त क्षेत्र र पहिलो टापु शृङ्खलामा केन्द्रित छ।

अमेरिकी रक्षा मन्त्रीले आफ्नो भाषणमा ताइवानको नाम नलिए पनि ‘पहिलो टापु शृङ्खला’ (फर्स्ट आइल्याण्ड चेन) को सुरक्षाको कुरा जोडतोडका साथ उठाएका थिए। युईका अनुसार, चिनियाँ आक्रामकता केवल ताइवानमा मात्र सीमित नभई समग्र प्रशान्त क्षेत्र र पहिलो टापु शृङ्खलामा केन्द्रित छ। अमेरिकाले ताइवानलाई जापान, फिलिपिन्स जस्ता क्षेत्रीय साझेदार मुलुकहरूसँगै एउटै रक्षा पंक्तिमा राखेर सम्बोधन गर्नुले ताइवानको मनोबल झन् बढाएको उनले उल्लेख गरे।

बेइजिङले ताइवानका जनताको आत्मविश्वास कमजोर बनाउन र अमेरिकाले संकटको समयमा ताइवानलाई साथ दिँदैन भन्ने भ्रम फैलाउन निरन्तर रूपमा ‘ग्रे जोन’ रणनीतिको प्रयोग गर्दै आएको छ। चीनले ताइवानमा ‘अमेरिकालाई शंका गर’ भन्ने भाष्य निर्माण गर्न खोजिरहेको छ । यसको उद्देश्य अमेरिका एक भरपर्दो साझेदार नभएको र ताइवानको अर्थतन्त्र तथा उत्पादन क्षमता समाप्त पारेपछि उसलाई एक्लो छाडिदिनेछ भन्ने भ्रम फैलाउनु हो।

युईका अनुसार, ताइवानभित्रैका केही तत्वहरूले चिनियाँ आक्रमणबाट बच्न चीनकै शरणमा पर्नुपर्ने जस्ता भ्रमपूर्ण कुराहरू गरिरहेको भए तापनि अधिकांश ताइवानी जनता सचेत र विवेकशील छन्। उनीहरू अमेरिकालाई एक पुरानो र भरपर्दो मित्र मान्छन्। अमेरिका आफैंमा प्रशान्त महासागरीय राष्ट्र भएकाले यस क्षेत्रको सुरक्षामा उसको आफ्नै ठूलो स्वार्थ जोडिएको छ।

चीनले पछिल्लो समय सफ्ट पावरको लडाइँमा अमेरिकी युवाहरूलाई आकर्षित गर्न ठूलो अभियान चलाइरहेको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् २०२३ देखि सुरु गरेको ‘ए शेयर्ड वोयाज: चाइना-यूएस युथ फ्रेन्डसिप प्रोग्राम’ अन्तर्गत ५० हजार अमेरिकी विद्यार्थीहरूलाई चीन भ्रमण र अध्ययनका लागि लगिएको छ। यसको प्रतिवादमा ताइवानले प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने सन्दर्भमा युईले जनस्तरको सम्बन्धलाई सकारात्मक रूपमा लिँदै चीनको यस प्रयासभित्रको खोक्रोपनलाई उजागर गरे।

उनले चीनको भ्रमणलाई उत्तर कोरियाको नियन्त्रित र बनावटी भ्रमणसँग तुलना गर्दै अमेरिकी युवाहरू त्यहाँको प्रोपोगान्डाबाट मूर्ख नबन्ने बताए। चीन जाने विदेशीहरूले जासुसीको डरले ‘बर्नर फोन’ बोक्नुपर्ने, विमान चढ्नु अघि चिनियाँ उपहारहरू ब्याग वा डस्टबिनमा फाल्नुपर्ने जस्ता बाध्यता रहेको उनले उल्लेख गरे।

चीन भ्रमणबाट फर्केका कतिपय अमेरिकी युवाहरूले आफूहरूलाई चिनियाँ सरकारी प्रचारबाजीका लागि जबरजस्ती प्रयोग गरिएको गुनासो गरेको उदाहरण दिँदै युईले ती युवाहरूलाई ताइवानको स्वतन्त्र र खुला समाज भ्रमण गर्न आग्रह गरे। अमेरिकामा चिनियाँ भाषा सिकाउन ताइवानी शिक्षक र संस्थाहरूको माग उच्च रहेको र ताइवानले शैक्षिक क्षेत्रमा स्वस्थ र स्वतन्त्र सम्बन्ध विस्तार गरिरहेको उनले बताए।

आफ्नो साढे दुई वर्षभन्दा लामो कार्यकालको सबैभन्दा ठूलो र सुखद आश्चर्यको स्मरण गर्दै युईले सन् १९७९ मा अमेरिका र ताइवानबीचको औपचारिक सम्बन्ध विच्छेद भएपछिको अवस्था र वर्तमान अवस्थाको भिन्नता प्रस्तुत गरे। विगतमा ताइवानी कूटनीतिज्ञहरूलाई अमेरिकी संघीय सरकारी भवनहरूमा प्रवेश निषेध थियो र उनीहरूले अमेरिकी अधिकारीहरूलाई लुकिछिपी रेस्टुरेन्टहरूमा भेट्नुपर्थ्यो।

तर, अहिले ताइवानी कूटनीतिज्ञहरू नियमित रूपमा अमेरिकी मन्त्रालय र संघीय भवनहरूमा प्रवेश गर्छन । र, औपचारिक सम्बन्ध नभए तापनि अमेरिकी अधिकारीहरूले उनीहरूलाई घनिष्ठ मित्रको रूपमा सम्मानजनक व्यवहार गर्छन्।

युईले कूटनीतिक रूपमा आफ्नो पद ‘प्रतिनिधि’ मात्र भए तापनि वासिङ्टनका सरकारी भवनहरूमा प्रवेश गर्दा त्यहाँका अधिकारीहरूले उनलाई खुसीसाथ ‘राजदूत’ भनेर सम्बोधन गर्ने गरेको रोचक अनुभव सुनाए।

कूटनीतिक औपचारिकता नभए पनि अमेरिकी राजनीतिक वृत्तले ताइवानलाई दिने यो न्यानोपन र आदर नै उनका लागि यस पदको सबैभन्दा ठूलो र सुखद आश्चर्य हो।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?