News Summary
Generated by OK AI. Editorially reviewed.- कवि नदीशले अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा आयोजित कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गरी १२ कविता सुनाए।
कविताकृति ‘हिउँद’ सँगै सार्वजनिक चर्चामा आएका कवि हुन् नदीश । उनी शनिबार साँझ अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा एक दर्जन कवितासहित उपस्थित भए ।
१२ वर्षयता अमेरिकामा रहेर आइटी क्षेत्रमा कार्यरत नदीश टेक्सासको राजधानी अस्टिनमा बस्छन् । कविता सुनाउनकै लागि उनलाई टाढाको क्यालिफोर्निया निम्ता गरिएको थियो ।
नदीशले नयाँ पुराना गरी १२ कविता सुनाउँदै गर्दा उनलाई संयम आचार्यले गितार र पियानो, दीपक गौतमले गितार, प्रदीप विष्टले बाँसुरी तथा मुर्चुङ्गामा साथ दिए ।
संयम, दीपक र प्रदीप तीनैजना आइटी क्षेत्रमै कार्यरत छन् । क्यालिफोर्नियास्थित स्टार्ट अप कन्फ्ल्यासन् ल्याबले कार्यक्रम आयोजना गरेको हो । शीतल ढकालसँग मिलेर प्रदीपले नेतृत्व गरेको कन्फ्ल्यासन् ल्याबले शहरी डिजाइनसम्बन्धी सफ्टवेयर निर्माण गर्ने गर्छ ।
कार्यक्रममा नदीशले ‘यस्तो हुनु, बाँसुरी, झरी पर्दा, घर फर्किरहेछ कोही, अचेत सभ्यताको माझबाट, रोकिन मन छ- नजाऊ भनिदिने कोही छैन, म फेरि आउँछु, मौन बस्न देऊ’ शीर्षकका कविता सुनाए ।

दर्शकहरूले उनलाई ‘हिमवृष्टि, तृष्णा’ कविता सुनाउनका लागि फर्माइस पनि गरेका थिए । नदीशका समकालीन गजेन्द्र कटुवालले नदीशको कविता कोकुन पढेर सुनाएका थिए ।
खचाखच सहभागी प्रविधिविज्ञ दर्शकबीच कवि नदीशले भने, ‘मैले साहित्यिक माहोलमा त कविता सुनाउँदै आएको छु । तर यसपल्ट प्रविधिसँग दशकभन्दा लामो समयदेखि जोडिएका मेरै पृष्ठभूमिका अग्रज र समकालीनका बीचमा कविता सुनाउन पाएँ । बेग्लै खुसी महसुस गरिरहेको छु ।’
आयोजक कन्फ्लायसन ल्याबका प्रदीप विष्टले भने, ‘प्रविधि क्षेत्रमा दैनिक एकरसको काम गर्दा थकान मेटाउन बिर्सेका हुन्छौं । नदीशका कलात्मक कविताले हामीलाई प्रकृति र अध्यात्म मिश्रित आनन्दमा लैजान्छन् ।’
धेरै स्रोताले अमेरिकी जीवन पर्यावरण थातथलो अध्यात्मजस्ता विषयमा भएका कुरालाई आफूसँग जोडेर ध्यानमग्न सुने । सङ्गीत र कविताको फ्युजनमा समारोह काव्यिक बनेको थियो । नदीशले लेखेका कविता पछिल्लो समयकै महत्वपूर्ण प्राप्ति भएको भन्दै सहभागीहरूले एक्काइसौं शताब्दीको व्यस्तता, प्रविधिले ल्याइदिएको अवसर र संकटबीच च्यापिएका अस्तित्ववादी कविता भनी प्रतिक्रिया दिएका छन् ।

कविता सुनाइसकेपछि सिलिकन भ्यालीका सहभागीमाझ कवि नदीशले आफू नयाँ मान्छेसँग कुरा गर्न कविताकै बाटो भएर आउने गरेको अनुभव सुनाए ।
‘आइटी क्षेत्रमा काम गरे पनि कविताको लगाव पुरानो हो । प्रविधि मात्रै हुन्थ्यो भने मेरो जीवन खल्लो हुन्थ्यो होला । कविताले मेरो जीवनमा रङ भरिदिएको छ,’ उनले भने, ‘आत्मासँग नजिक भएर संवाद गर्न म कविता रोज्छु । नयाँ मान्छेसँग नयाँ कुरा गर्न पनि म कविताको बाटो भएर आउँछु । फेरि आइरहन्छु ।’
यसअघि दुई कृति लेखिसकेका नदीशका पछिल्ला कविताहरूको सङ्ग्रह ‘हिउँद’लाई बुकहिलले बजारमा ल्याएको हो । रुकुममा जन्मेहुर्केका नदीशको पुर्ख्यौली थलो गुल्मी हो । उनले ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजमा पढेका हुन् ।

प्रतिक्रिया 4