+
+
Shares

प्रहरीले भवितव्य भन्दै थन्क्याएको फाइल अनुसन्धान गर्दा खुल्यो हत्याको रहस्य

एसपीसहित तीन जनालाई कारबाही सिफारिस

तीन वर्ष पहिले भवितव्य मृत्यु भनेर थन्क्याएकोे फाइल अनुसन्धान गर्दा अहिले हत्या भएको खुलेपछि प्रहरीको भूमिकामाथि नै प्रश्न उठेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ ३१ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँचीमा तीन वर्षअघि भवितव्य भनी बन्द गरिएको घटना हत्या भएको पुष्टि भएपछि अभियुक्त निमबहादुर केसीलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
  • ज्यानसम्बन्धी घटनाको अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको निष्कर्ष निकाल्दै छानबिन समितिले तत्कालीन डीएसपी मुकुन्द रिजालसहितका प्रहरीलाई कारबाही सिफारिश गरेको छ ।
  • अभियुक्त निमबहादुरले बाँदर धपाउने क्रममा चलाएको भरुवा बन्दुकको गोली लागेर सौतेनी भाइ पदमबहादुर केसीको मृत्यु भएको स्वीकार गरेका छन् ।

३१ जेठ, काठमाडौं । प्रहरीले भवितव्य मृत्यु भन्दै थन्क्याएको फाइल अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको छ । तीन वर्ष पहिले भवितव्य मृत्यु भनेर थन्क्याएकोे फाइल अनुसन्धान गर्दा अहिले हत्या भएको खुलेपछि प्रहरीको भूमिकामाथि नै प्रश्न उठेको छ ।

हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता भएर अभियुक्त पुर्पक्षमा कारागार चलान भएपछि तत्कालीन अनुसन्धान अधिकृतदेखि जिल्ला प्रहरी प्रमुखलाई समेत कारबाही सिफारिस भएको छ ।

घटना २६ साउन २०८० को हो । बिहान अन्दाजी सवा ८ बजेतिर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडा बस्ने ४४ वर्षीय पदमबहादुर केसी मकैबारीमा गम्भीर घाइते भई छट्पटाएको अवस्थामा भेटिए ।

मकै खेती जोगाउन बाँदर लखेट्ने क्रममा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर पदम गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको दाबी गरियो ।

त्यतिबेला अर्घाखाँचीको प्रहरी प्रमुखमा डीएसपी (हाल एसपी) मुकन्द रिजाल थिए । यो घटनामा मृतक पदमका छोरा ईश्वर केसीले त्यतिबेलै प्रहरीमा जाहेरी दिए । छोरा ईश्वरको जाहेरीपछि एसपी रिजालले उक्त घटनालाई भवितव्य मृत्यु भएको बताउँदै मुद्दा नै चलाएनन् ।

त्यतिबेला अर्घाखाँचीकै भूमिकास्थान–७ का ६२ वर्षीय मोहन भनिने निमबहादुर खत्री (मृतकका सौतेनी दाजु), भूमिकास्थान नगरपालिका–७ का ४९ वर्षीय शिवबहादुर रायमाझी, भूमिकास्थान–७ कै ४६ वर्षीय मोहनबहादुर रायमाझीविरुद्ध जाहेरी दिइएको थियो । तर प्रहरीले आफैंले बोकेको भरुवा बन्दुक पड्केर पदमबहादुरको मृत्यु भएको भन्दै कोही कसैलाई अनुसन्धानको दायरामा ल्याएन ।

प्रहरीले त्यतिबेला भवितव्य मृत्यु भनेको त्यही घटना अहिले अनुसन्धान गर्दा हत्या भएको रहस्य खुलेको छ । अहिले यो घटना भवितव्य नभई पदमकै दाइ निमबहादुर केसीले हत्या गरेको भन्दै मुद्दा मात्रै चलेको छैन, उनी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

१७ वैशाखमा न्यायाधीश शिवलाल पाण्डको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दुई जना भने साधारण तारेखमा रिहा भएका छन् ।

के थियो घटना ?

पदमको मृत्यु अस्वाभाविक रहेको भन्दै उनकी श्रीमती वसन्ता केसीले छानबिन गर्नुपर्ने माग गरिरहिन् । आफैंले बोकेको भरुवा बन्दुकले आफ्नै छातीमा गोली लागेर मृत्यु भएको भन्ने विश्वास नलागेपछि वसन्ताले घटना छानबिन गर्नुपर्ने माग गर्दै आएका थिइन् ।

यता, उनले व्यक्ति नै किटान गरेर हत्याको जाहेरी पनि दिए पनि प्रहरीले भवितव्य मृत्यु भन्दै फाइल थन्क्यायो । यो बीचमा तत्कालीन डीएसपी रिजाल फेरिए । उनीपछि अन्य दुई इन्चार्ज पनि अर्घाखाँची आएर सरुवा भइसकेका थिए । अहिले अर्घाखाँचीको इन्चार्जमा डीएसपी दिवस जीसी छन् ।

निरन्तर अनुसन्धान गर्नुपर्ने माग आएपछि जीसीको टोलीले थन्क्याइएको उक्त फाइलमाथि अनुसन्धान अघि बढायो । सो क्रममा मृतक पदमका सौतेनी दाइ निमबहादुर केसीलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गर्‍यो ।

यसअघि भने उनै निमबहादुरको भनाइलाई आधार मानेर प्रहरीले घटना भवितव्य रहेको भन्दै मुद्दा नचलाई थन्क्याएको थियो । ‘त्यतिबेला कसैलाई पक्राउ गरेको रेकर्डमा देखिँदैन । अहिले मुद्दा चलेका व्यक्तिहरूलाई सोधपुछ गरिएको र उनीहरूकै भनाइलाई आधार मान्दै भवितव्य भनेर मुद्दा नचलाइ राखेको देखिन्छ,’ अर्घाखाँचीका एक अनुसन्धान अधिकृतले भने ।

अहिले भने आफ्नै छातीमा गोली लाग्न सक्ने/नसक्ने अवस्था, पोस्टमार्टम रिपोर्ट, फरेन्किस रिपोर्ट लगायत अध्ययन गरेर थप अनुसन्धानबाट प्रहरीले हत्याको निष्कर्ष निकाल्दै मुद्दा चलायो ।

अनुसन्धानका क्रममा निमबहादुरले आफ्ना सौतेनी भाइ पदमको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । यही प्रमाण र बयानका आधारमा प्रहरीले निमबहादुरविरुद्ध हत्याको कसुरमा मुद्दा चलायो । जिल्ला अदालत अर्घाखाँचीले अहिले निमबहादुरलाई हत्याको कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

एसपीलाई कारबाही सिफारिस

भवितव्य भनिएको घटना हत्या भएको खुलेको र आरोपित व्यक्तिसमेत कारागार चलान भएपछि प्रहरीले छानबिन समिति बनाएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी कार्यालय दाङका प्रमुख एसएसपी दीपक पोखरेलको नेतृत्वमा छानबिन समिति बनायो ।

उक्त समितिले तत्कालीन अनुसन्धान अधिकारीदेखि जिल्ला प्रमुखसम्मलाई दोषी औंल्याउँदै प्रतिवेदन बुझाएको छ । जसमा तत्कालीन डीएसपी (हाल एसपी) मुकुन्द रिजाल, अनुसन्धान अधिकृत विक्रम रिजाल, कानुन शाखामा कार्यरत वरिष्ठ हवल्दार (तत्कालीन हवल्दार) रामबहादुर विकलाई दोषी देखाउँदै प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा पुगिसकेको छ । ‘समितिले बुझाएको प्रतिवेदन अहिले अध्ययनको क्रममा छ । अध्ययन भइसकेपछि कसलाई कस्तो कारबाही हुने त्यहीअनुसार प्रक्रिया अघि बढ्छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘तत्कालीन अवस्थामा अनुसन्धान जिम्मेवारमा रहेका प्रहरी अधिकारीहरूले घटनाको गम्भीरता नबुझी ज्यानसम्बन्धी कसुर जस्तो गम्भीर प्रकृतिको अनुसन्धानमा लापरबाही गरेको देखियो ।’

अझ प्रतिवेदनले एसपी रिजाल र अनुसन्धान अधिकृत विक्रम रिजाल मोलाहिजामा परी अपराध अनुसन्धान शाखामा कार्यरत वरिष्ठ हवल्दारलाई परिचालन गरेकोसमेत उल्लेख गरेको छ ।

 

प्रमाण नष्ट गरेकोसम्म आरोप

समितिले त्यतिबेला प्रहरी तथा अनुसन्धान अधिकारीहरूले क्राइम सिनमै तोडमरोड गर्दै प्रमाण नष्ट गरेकोसम्म आरोप लगाएको छ । समितिले बुझाएको प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘कसुरमा प्रयोग भएको प्राथमिक प्रमाण (भरुवा बन्दुक)को प्रमाणिक महत्व नष्ट गरी हाल कायम भएका प्रतिवादीहरूविरुद्ध हातहतियार तथा खरखजानासमम्बन्धी मुद्दा उठान हुने नसक्ने गरी सार्वजनिक पदको दुरुपयोग गरी लापरबाही र त्रुटिपूर्ण तवरले गैरव्यवसायिक कार्य गरेको देखिन्छ ।’

अनुसन्धान अधिकारीले नै प्रमाण नष्ट गर्नुलाई गम्भीर फौजदारी अपराधको कसुर मानिन्छ । छानबिन समितिले समेत प्रष्ट रूपमा उक्त भरुवा बन्दुकको प्रमाण नष्ट गरी हातहतियार तथा खरखजानामा मुद्दा चल्न सक्ने प्रमाण मेटिएको उल्लेख गरेको छ ।

त्यतिबेला भरुवा बन्दुक फेला परे पनि त्यसबारे अनुसन्धान नै नगरी बेवारिस भनेर उल्लेख गरिएको बताइएको छ ।

जबकि, त्यतिबेला घटनास्थबाट भरुवा बन्दुक १ थान, छुट्टाछुट्टै स्थानमा फेला परेकोमध्ये एक स्थानमा फेला परेको प्लास्टिकको डिब्बामा ९ थान केप, हिमालय १२२ एमएलको डिब्बामा कालो रङको बारुदको धुलो, अर्को डिब्बामा ५६ थान छर्रा भेटिएको थियो ।

यी सामानहरू फेला परेको भन्दा ७५ मिटर पर प्लास्टिकको डिब्बामा बारुदको कालो धुलो, अर्को प्लास्टिकको डिब्बामा ४० थान छर्रा, कुलबहादुर रायमाझीको मकैबारी नजिक रातो प्लास्टिकको बोतलमा बारुदको धुलो, ७ थान छर्रा, ६ थान केप बरामद भएको थियो ।

यति ठूलो मात्रामा बिस्फोटक पदार्थ बरामद हुँदासमेत यसतर्फ त्यतिबेला प्रहरीले कुनै अनुसन्धान अघि बढाएन । बरु सशंकित व्यक्तिको भनाइलाई नै आधार मान्दै भवितव्य मृत्यु भन्दै अनुसन्धान नगरी फाइल थन्क्याइएको थियो ।

त्यतिबेलाका अर्घाखाँची प्रहरी प्रमुख रिजाल भने अहिले नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको प्रमुखको रूपमा कार्यरत छन् । उनी आफ्नो तर्फबाट कुनै गल्ती नभएको बताउँछन् । ‘तीन वर्षअघिको घटना हो । मेरो तर्फबाट जानीजानी कुनै गल्ती गरेको जस्तो लाग्दैन,’ एसपी रिजालले अनलाइनखबरसँग भने ।

भवितव्य भनिएका व्यक्तिले नै स्वीकारे हत्या

यसअघि आफैंले बोकेको बन्दुक पड्केर ज्यान गएको भन्दै भवितव्य भनेका व्यक्तिले नै अहिले हत्या भएको स्वीकारेका छन् । उनी अहिले पुर्पक्षका लागि कारागारसमेत चलान भएका छन् ।

‘पदमबहादुर केसीलाई बाँदर लखेट्न जाउँ भनी बोलाउँदा नबोलेपछि भाइ घरमा रहेनछ भन्दै म एक्लै भरुवा बन्दुक लिई बाँदर लखेट्न बारीमा गएँ । बारीमा लछप्पै बाँदर पसी मकै खाँदै गरेको देखेर चिच्याउँदै, लखेट्दै बन्दुकले बाँदरलाई ताकी हानेकोमा बाँदर खसे जस्तो गरी भत्य्राक, भत्य्राक गरेको सुनेँ,’ प्रतिवादी निमबहादुरले भनेका छन्, ‘उक्त स्थानमा जाँदा मेरो भाइ रक्ताम्य भई पल्टिएको देखेँ । मैले हानेको बन्दुकले बाँदरलाई नलागी भाइ पदमलाई लागेको रहेछ ।’

त्यसपछि निमबहादुरले आफूसँग भएको बन्दुक खोल्सातिर फाली शिवबहादुर र मोहनबहादुरलाई बोलाएको बताएका छन् । घटनाको ४/५ दिनपछि उक्त बन्दुक आफ्नो घरदेखि पूर्वतर्फको बारी छेउको जंगलमा फालेको उनले बताएका छन् ।

सानो क्षेत्रमा समूहगत रूपमा बाँदर धपाउन जानु र मानिससमेत नठम्याई अन्धाधुन्दा गोली हान्दा उक्त गोलीले जो सुकैलाई लाग्न सक्ने र ज्यान जान सक्ने सामान्य समझको विषय हुँदा निमबहादुरले जानाजान नै गोली प्रहार गरी पदमबहादुरको मृत्यु भएको भन्दै निमबहादुरविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको हो ।

यता, घटनाको जानकारी हुँदासमेत मिलेमतो गरी अपराध र कसुरबारे यर्थाथ तथ्यहरू लुकाई कसुरदारलाई कसुर गरिसकेपछि दायित्वबाट मुक्त गराउन सहयोग गरेको भन्दै दुई जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरूलाई मतियारको रूपमा प्रस्तुत गरिएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?