News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा विश्वकपको समयमा अर्जेन्टिना र पोर्चुगल लगायतका राष्ट्रका फुटबल जर्सीहरूको माग र बिक्री उल्लेखनीय रूपमा बढेको छ ।
- बजारमा सबैभन्दा बढी लोकप्रियता लियोनल मेस्सीको १० नम्बर जर्सीको रहेको छ, जसलाई प्रशंसकहरूले फेसनको रूपमा समेत प्रयोग गर्ने गरेका छन् ।
विश्वकप फूटबल केवल फूटबलको महाकुम्भ मात्र होइन, यो फेसन र स्टाइलको मेला पनि हो । किनभने यसले विश्व फेसन बजारमै ठूलो परकम्प ल्याइदिन्छ ।
अरूको के कुरा, नेपालको बजार चाहर्नुहोस् । विश्वकपले रंगिएको छ सर्बत्र । त्यहाँ थरीथरी जर्सी छन् । अनि जर्सीहरूको त्यो लस्करमा विशेष छ, जर्सी नम्बर १० ।
भनिरहनुपरेन । यो कसको जर्सी हो ? फूटबलका पण्डितलाई मात्र होइन फुटबलमा उस्तो चासो नभएकाले पनि सजिलै भनिदिन सक्छन्, ‘लियोनल मेस्सी ।’
अहिले बजारमा सर्वाधिक माग भएको जर्सी यही हो । व्यापारीहरू भन्छन्, ‘जो आए पनि त्यही जर्सी खोज्छन् । बच्चा होस् वा बुढापाका । बरु तन्नेरीहरूको रोजाइ अलि फरक हुनसक्छ ।’
नेपालका विभिन्न बजार तथा अनलाइन प्लेटफर्महरूमा अर्जेन्टिना र पोर्चुगलका जर्सीको माग बढेको व्यापारीहरू बताउँछन् । सामान्य गुणस्तरका जर्सी करिब ८५० रुपैयाँदेखि उपलब्ध छन् भने राम्रो कपडा र प्रिन्ट भएका जर्सी एक हजारदेखि दुई हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बिक्री भइरहेको पाइन्छ । विश्वकप वा ठूलो प्रतियोगिताको समय नजिकिँदा जर्सी बिक्री उल्लेखनीय रूपमा बढ्ने गरेको व्यापारीहरूको अनुभव छ ।
किन विशेष छ ‘१० नम्बर’ ?
फुटबलमा ‘१० नम्बर’ लाई विशेष नम्बर मानिन्छ । परम्परागत रूपमा यो नम्बर टोलीका सबैभन्दा सिर्जनशील, प्रतिभाशाली र खेलको गति नियन्त्रण गर्ने खेलाडीलाई दिइने चलन छ । इतिहासमा धेरै महान खेलाडीहरूले यही नम्बर लगाएका छन् ।
लियोनल मेस्सीले अर्जेन्टिनाका लागि ‘१० नम्बर’ जर्सी लगाउँदै आएका छन् । उनी बार्सिलोनामा हुँदा होस् वा अहिले इन्टर मायामीमा हुँदा होस् उनको जर्सी नम्बर १० नै रहेको छ । त्यसैले यो नम्बर अहिले विश्वभर मेसीसँग जोडिएर चिनिन्छ।
तर यसको इतिहास मेसीभन्दा धेरै पुरानो छ ।
सन १९५८ मा ब्राजिलले विश्वकप जित्दा विश्वचर्चित खेलाडी पेलेले १० नम्बर जर्सी लगाएर खेलेका थिए । यहीँबाट यो नम्बरले चर्चा पाउन सुरु गरेको हो ।
डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाका लागि यही नम्बर लगाएका थिए । सन् १९८६ को विश्वकप जित्दा पनि माराडोनाको ‘१० नम्बर’ जर्सी फुटबल इतिहासकै सबैभन्दा चर्चित जर्सीमध्ये एक बनेको थियो ।
फ्रान्सका स्टार खेलाडी जिनेदिन जिदानको पनि जर्सी नम्बर १० नै थियो । सन १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा जिदान मुख्य खेलाडी थिए ।
ब्राजिलका चर्चित खेलाडी रोनाल्डिन्होले पनि जर्सी नम्बर १० लगाउँथे । उनी २००२ मा विश्वकप जित्ने खेलाडी हुन् ।
त्यसपछि मेसीले पनि यही नम्बरलाई नयाँ उचाइमा पुर्याए ।
मेसीले अर्जेन्टिनालाई प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू दिलाउँदै ‘१० नम्बर’लाई केवल एउटा अंक नभई सफलताको प्रतीक बनाएका छन् । त्यसैले धेरै समर्थकका लागि ‘१० नम्बर’ भनेको मेसी, अर्जेन्टिना र फुटबलको जादूको प्रतीक बनेको छ ।
फुटबल नबुझ्नेले पनि किन खोज्छन् मेसीको जर्सी ?
विश्वकपको समयमा जर्सी केवल खेलकुद सामग्री रहँदैन, यो फेसनको हिस्सा पनि बन्छ । धेरै युवायुवतीले मनपर्ने टोली वा खेलाडीप्रतिको समर्थन देखाउन जर्सी लगाउँछन् । कतिपयका लागि यो सामाजिक सञ्जालमा फोटो खिच्ने, साथीहरूसँग खेल हेर्ने वा विश्वकपको माहोलमा सहभागी हुने माध्यम हो ।
आजको पुस्तामा मेसीको लोकप्रियता खेलकुदको सीमाभन्दा बाहिर पुगेको छ । उनको नाम, शैली, सफलता र विनम्र व्यक्तित्वका कारण धेरै मानिसले फुटबलप्रतिको गहिरो रुचि नभए पनि उनको जर्सी लगाउन रुचाउँछन् । त्यसैले ‘फुटबल बुझ्छु कि बुझ्दिनँ, मेसीको १० नम्बर जर्सी चाहिन्छ’ भन्ने प्रवृत्ति सामान्य जस्तै बनेको छ ।
उनको जर्सी मात्र होइन, उनको हेयरस्टाइल, दाह्रीको शैली र ट्याटु डिजाइनसमेत पछ्याउने गरेका छन् ।
अन्य जर्सीको पनि छ आकर्षण
विश्वकप वा ठूला फुटबल प्रतियोगिताको समयमा मेसीको ‘१० नम्बर’ जर्सी सबैभन्दा बढी चर्चामा रहे पनि अन्य खेलाडी र टोलीका जर्सीप्रति पनि समर्थकहरूको आकर्षण उत्तिकै देखिन्छ ।
विशेषगरी क्रिस्टियानो रोनाल्डोको पोर्चुगल टोलीको ‘७ नम्बर’ जर्सी विश्वकै सबैभन्दा लोकप्रिय जर्सीमध्ये एक मानिन्छ । रोनाल्डोका समर्थकहरूका लागि ‘सीआर–७’ केवल एउटा नम्बर नभई छुट्टै पहिचान बनेको छ ।
त्यसैगरी केलियन एमबाप्पेकोको फ्रान्स टोलीको जर्सी, नेयमारको ब्राजिल टोलीको जर्सी, जुड बेलिङ्घमका नाममा बिक्री हुने इङ्ग्ल्यान्ड टोलीका जर्सी तथा लामिन यमल जस्ता नयाँ पुस्ताका चर्चित खेलाडीका जर्सी पनि युवापुस्तामाझ निकै रुचाइन्छन् ।
कतिपयले मनपर्ने खेलाडीप्रतिको समर्थन व्यक्त गर्न जर्सी किन्छन् भने कतिपयले ब्राजिलको पहेँलो, अर्जेन्टिनाको नीलो–सेतो वा फ्रान्सको नीलो जस्ता आकर्षक रङ र बनोटका कारण जर्सी रोज्ने गर्छन् । यसरी फुटबल जर्सी अब खेल हेर्ने साधन मात्र नभई युवापुस्ताको पहिरन, शैली र पहिचानको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।
खेलभन्दा ठूलो बनेको छ विश्वकपको प्रभाव
विश्वकपले खेलकुदसँगै व्यापार, फेसन, मनोरञ्जन र सामाजिक गतिविधिलाई पनि प्रभाव पार्छ । जर्सी बिक्री बढ्छ, खेल हेर्ने जमघट बढ्छ, सामाजिक सञ्जाल फुटबलमय बन्छ र खेलाडीहरू विश्वव्यापी फेसन आइकनका रूपमा स्थापित हुन्छन् ।
यही कारण विश्वकप सुरु हुनेबित्तिकै बजारमा अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, फ्रान्स लगायतका टोलीका जर्सीको माग बढ्छ । तर पछिल्ला वर्षहरूमा सबैभन्दा बढी चर्चा हुने नाम भने मेसी र उनको ‘१० नम्बर’ नै बनेको छ ।
प्रतिक्रिया 4