0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कविता : मिठो सपना

प्रकाशचन्द्र खतिवडा प्रकाशचन्द्र खतिवडा
२०८३ जेठ २५ गते ९:०४

अविरल बगिरहेछन् नदीहरू

नदी जस्तै बगिरहेछन् मनका तरङ्गहरू

म बगरमा टेकेर

नदी किनारको बाटो

सुदूर बस्ती नियाल्दै

भूमिगत यात्रा गरिरहेछु ।

 

मेरो यात्रा विस्मयकारी बन्दै गएको छ

बन्दुकधारी मेरो पिछा गराइन्छ

मलाई सिध्याएर

फुली थप्ने ध्येयले,

उसको मालिक बुर्जुवा हो

ऊ स्वतन्त्रताको विपक्षमा बोल्छ

आवाजविहीनहरू आवाजको खोजी गर्छन्

ऊ रगतको होली खेल्छ

उसलाई कुनै ग्लानि छैन

ऊ नरपिशाचको प्रतिरुप हो

उसलाई झुण्ड्याइनुपर्थ्यो

बुख्याँचा जस्तो खेतका कान्लाहरूमा ।

 

म राता किताब पढिरहेछु

रातो क्रान्ति उचाल्ने गरी

म अप्ठेरो भीरमा जीवन हिंडाइरहेछु

रगतपच्छे पाइताला घिसार्दै

मेरो नाममा रेडकर्नर नोटिस जारी गरिएको छ

मेरो टाउकाको मूल्य तोकेपछि

मलाई देशद्रोहीको अभियोग लगाएर

शैतान देशद्रोह गरिरहेछ ।

 

म सीमारेखा कोरिरहेछु

भूगोलबाट हराएको अनाम देशको

म मान्छेहरू खोजिरहेछु

अनागरिक बनाएर राखिएको शरणार्थी शिविरहरूमा

म ज्ञात, अज्ञात शहीदहरू सम्झिरहेछु

न्याय प्राप्तिको लडाइँ लड्न

शहीदहरू हाँसिरहेछन्

मेरो अदम्य साहसको प्रशंसा गर्न

म शहीदको सपना बोकेर

शहीद मार्गमा लम्किरहेछु

आऊ सपुत

देशको आँसु पुछ्नलाई ।

 

नदीहरू बगिरहे आफ्नै गतिमा निरन्तर

समुद्रमा समाहित हुनलाई

मन उद्वेलित भइरह्यो

जीवनको नमिठो गीत गाउनलाई

म समाधिस्थ हुन चाहिनँ

मैले त सुदूर बस्ती पुग्नु थियो

जहाँ अबोध मान्छेहरू

हराएका सपना खोजिरहेका थिए

म सपनाको बिस्कुन फिजाएर

मिठो सपना बाँडिरहेको थिएँ ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?