अविरल बगिरहेछन् नदीहरू
नदी जस्तै बगिरहेछन् मनका तरङ्गहरू
म बगरमा टेकेर
नदी किनारको बाटो
सुदूर बस्ती नियाल्दै
भूमिगत यात्रा गरिरहेछु ।
मेरो यात्रा विस्मयकारी बन्दै गएको छ
बन्दुकधारी मेरो पिछा गराइन्छ
मलाई सिध्याएर
फुली थप्ने ध्येयले,
उसको मालिक बुर्जुवा हो
ऊ स्वतन्त्रताको विपक्षमा बोल्छ
आवाजविहीनहरू आवाजको खोजी गर्छन्
ऊ रगतको होली खेल्छ
उसलाई कुनै ग्लानि छैन
ऊ नरपिशाचको प्रतिरुप हो
उसलाई झुण्ड्याइनुपर्थ्यो
बुख्याँचा जस्तो खेतका कान्लाहरूमा ।
म राता किताब पढिरहेछु
रातो क्रान्ति उचाल्ने गरी
म अप्ठेरो भीरमा जीवन हिंडाइरहेछु
रगतपच्छे पाइताला घिसार्दै
मेरो नाममा रेडकर्नर नोटिस जारी गरिएको छ
मेरो टाउकाको मूल्य तोकेपछि
मलाई देशद्रोहीको अभियोग लगाएर
शैतान देशद्रोह गरिरहेछ ।
म सीमारेखा कोरिरहेछु
भूगोलबाट हराएको अनाम देशको
म मान्छेहरू खोजिरहेछु
अनागरिक बनाएर राखिएको शरणार्थी शिविरहरूमा
म ज्ञात, अज्ञात शहीदहरू सम्झिरहेछु
न्याय प्राप्तिको लडाइँ लड्न
शहीदहरू हाँसिरहेछन्
मेरो अदम्य साहसको प्रशंसा गर्न
म शहीदको सपना बोकेर
शहीद मार्गमा लम्किरहेछु
आऊ सपुत
देशको आँसु पुछ्नलाई ।
नदीहरू बगिरहे आफ्नै गतिमा निरन्तर
समुद्रमा समाहित हुनलाई
मन उद्वेलित भइरह्यो
जीवनको नमिठो गीत गाउनलाई
म समाधिस्थ हुन चाहिनँ
मैले त सुदूर बस्ती पुग्नु थियो
जहाँ अबोध मान्छेहरू
हराएका सपना खोजिरहेका थिए
म सपनाको बिस्कुन फिजाएर
मिठो सपना बाँडिरहेको थिएँ ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
प्रतिक्रिया 4