News Summary
Generated by OK AI. Editorially reviewed.- फिलिपिन्सको मिन्डानाओ टापु नजिक सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
- भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा तीन मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
- भूकम्पका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ भने नागरिकहरूलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ ।
२५ जेठ, काठमाडौं । फिलिपिन्समा सोमबार बिहान गएको शक्तिशाली भूकम्पले धेरै घरहरु भत्किएका छन् । प्रारम्भिक विवरण अनुसार भूकम्पमा परेर कम्तिमा एक जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
भूकम्पपछि धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।
फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) भूकम्प गएको हो ।
भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक फरक विवरण सार्वजनिक गरेका छन् । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो ।
तर अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ । त्यस्तै, जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ ।
प्रशान्त महासागरको सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका केही तटीय क्षेत्रमा ३ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाका केही तटीय भागहरूमा १ मिटरसम्मका छालको जोखिम रहेको बताइएको छ ।
भूकम्पको इपीसेन्टर जनरल सान्तोस सहरमा धेरै घर र भवनहरू क्षतिग्रस्त भएका छन् । प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्कालै उच्च स्थानतर्फ जान आग्रह गरेको छ । अधिकारीहरूका अनुसार भूकम्पपछि थप परकम्प (आफ्टरसक) आइरहेको छ ।
फिलिपिन्स विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो। यो प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिहरू हुने गर्छन् ।
प्रतिक्रिया 4