+
+
Shares

‍जापानी समर्थकहरू खेलपछि किन रंगशाला सफा गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जारी विश्वकपमा नेदरल्यान्डविरुद्धको खेलपछि जापानी समर्थकहरूले रङ्गशालामा फालिएका फोहोर आफैं सफा गरेर विश्वको ध्यान आकर्षित गरेका छन्।

विश्कप, रङ्गशाला र जापानी समर्थक ।

यसो भन्दा एउटा बानी धेरैलाई याद आउन सक्छ । त्यो रङ्गशाला सफा गर्ने जापानी समर्थकहरूको बानी हो । अहिले त यो एउटा जापानी संस्कार जस्तै स्थापित भइसकेको छ ।

जारी विश्वकपको समूह चरण अन्तर्गत जापानले आफ्नो पहिलो खेल नेदरल्यान्डविरुद्ध खेलिसकेको छ । खेलमा जापानी टोली बराबरीमै रोकिन पुग्यो । तर, जापानी फ्यानहरूले विश्वको ध्यान फेरि आफूतिर खिच्न सफल भएको छ ।

अहिले सामाजिक सञ्जालमा जापानी प्रशंसकहरू आधा खाएका खानेकुरा र फालिएका प्लास्टिकका सामानहरू टिपेर रङ्गशाला सफा गरिरहेको भिडियो सर्कुलेट भइरहेको छ ।

हुन त हरेक जसो अन्तर्राष्ट्रिय खेलमा जापानका प्रशंसकहरूले यसो गर्दै आइरहेको छ । यो उसको चिनारी नै बनेको छ । फेरि यो उनीहरूले हालै विकासित बानी पनि होइन ।

जापानले पहिलो पटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेको थियो । त्यसैबेलादेखि रङ्गशाला सफा गर्ने बानी जापानी प्रशंसकहरूमा भएको देखिन्छ । अहिले यो दृश्य फुटबलबाहेक ओलम्पिक र जापानले भाग लिने अन्य ठूला खेलकुद प्रतियोगिताहरूमा समेत देख्न सकिन्छ ।

जापानी प्रशंसकहरू किन रङ्गशाला सफा गर्छन् ?

‘तात्सु तोरी आतो वो निगोसाजु’ भन्ने जापानी वाक्य छ । यसको ठेट अङ्ग्रेजी अनुवाद ‘चराले आफ्नो पछाडि केही पनि छोड्दैन’ भन्ने हुन्छ । समग्र अर्थ भने ‘यसलाई जस्तो पाउनुभएको थियो, त्यस्तै अवस्थामा फर्काउनुहोस्’ भन्ने हुन्छ ।

ओसाका विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक स्कट नर्थका अनुसार यहीँ वाक्यबाट निर्देशित भएर जापानी प्रशंसकहरूले आजको दिनसम्म पनि रङ्गशाला सफा गर्ने गर्छन् । सन् २०१८ मा बीबीसीसँग कुरा गर्दै स्कटले यो कुरा बताएका थिए ।

‘फुटबल खेलपछि सरसफाइ गर्नु विद्यालयमा सिकाइने आधारभूत व्यवहारकै निरन्तरता हो । किनकि जापानी बालबालिकाहरूले कक्षाकोठा र बरण्डाहरू आफैं सफा गर्छन्’ उनले भनेका थिए।

विश्वकपमा देखिएको दृश्यको मूल कारण यहीँ हो । त्यसमा सफा रहनुपर्ने र पुनः प्रयोग गर्ने कुरामा जापानीहरूको चेतले पनि काम गरेको छ । अर्कोतर्फ आफू रहेको स्थान सफा गर्ने शिक्षा अन्य मुलुकहरूमा खासै देखिन्न ।

अझ धेरै जसो ठाउँमा सार्वजनिक ठाउँहरूमा आफ्नो फोहोर आफैं सफा गर्नु पर्दैन । किनकि त्यहाँ त्यो काम गर्नका लागि कुनै न कुनै प्रकारको सार्वजनिक सेवा (कर्मचारी) हुन्छ । तर, जापानमा भने आफ्नो स्थान आफैं सफा गर्नु पर्ने हुन्छ ।

जापानले आफ्नो यो संस्कारलाई संसारसँग बाँड्ने राम्रो मौकाको रूपमा विश्वकप फुटबललाई प्रयोग गरेको पनि हो । किनकि सानो कामले गर्दा फुटबलको कुराबाहेक जापानको सांस्कृतिक पाटोको पनि राम्रो प्रचार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?