News Summary
Generated by OK AI. Editorially reviewed.- जापानले २७ अक्टोबरदेखि लागू हुने गरी बिजनेस म्यानेजर भिसाका लागि पूँजी मापदण्ड तीन करोड येन पुर्याएको छ।
- नयाँ भिसा नियमका कारण जापानमा साना विदेशी व्यवसायीहरू व्यवसाय बन्द गरी स्वदेश फर्कन बाध्य भएका छन्।
- एडोगावा इन्डियन एसोसिएसनका अध्यक्ष जगमोहन एस चन्द्रानीले व्यवसाय हराए समुदाय कमजोर हुने बताउनुभएको छ।
३१ जेठ, काठमाडौं । जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मिडियाहरुले लेखेका छन् ।
जापानको अध्यागमन सेवा एजेन्सीले २७ अक्टोबरदेखि लागु हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको छ । नयाँ नियमअनुसार व्यवसाय सञ्चालन गर्न कम्तीमा तीन करोड येन (करिब १९० हजार अमेरिकी डलर) पूँजी आवश्यक पर्ने व्यवस्था गरिएको छ । यसअघि पाँच मिलियन येन भए पुग्थ्यो ।
यस परिवर्तनले विशेषगरी विदेशी समुदायले सञ्चालन गरेका साना व्यवसायहरूलाई प्रत्यक्ष असर परेको छ ।
टोकियोको नेरिमा क्षेत्रमा हङकङ शैलीको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ४७ वर्षीया चान का यीले नयाँ नियम पूरा गर्न नसकेपछि आफ्नो रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको जापानको एक अनलाइन द असाही शिम्बुनले लेखेको छ ।
कोभिड–१९ महामारी पार गरेर हालै मात्र नाफामा पुगेको उनको रेस्टुरेन्ट ‘सान माई सान नेरिमा’ मे २० मा अन्तिम पटक सञ्चालन हुने छ । ‘रेस्टुरेन्ट सजिलै छोड्न चाहेको थिइनँ, तर विकल्प नै रहेन,’ उनले भनेकी छन् ।
उनले जापानी टेलिभिजन नाटक हेर्दै हुर्किएको र जापानमा बस्ने सपना पूरा गर्न लामो समय बचत गरेर सन् २०२० मा रेस्टुरेन्ट खोलेकी थिइन् । व्यवसाय राम्रो चल्न थाले पनि तीन करोड येन पूँजी पुर्याउने सम्भावना नभएपछि अन्तत: बन्द गर्ने निर्णयमा पुगेको उनले बताइन् ।
नेपाली र भारतीय व्यवसायी पनि प्रभावित
जापानको राजधानी टोक्योको एडोगावा क्षेत्रमा जापानकै ठूलो भारतीय समुदाय बसोबास गर्छ । त्यसैले निशी–कासाइ क्षेत्रलाई ‘लिटिल इन्डिया’ भनेर पनि चिनिन्छ । यो क्षेत्रमा नेपालीहरुले पनि सन्चालन गरेका रेस्टुरेन्टहरू छन् । त्यहाँ व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार अधिकांश साना रेस्टुरेन्ट सञ्चालकले तीन करोड येन जुटाउन सक्ने अवस्था छैन ।

‘हामीले मेहनत गरेर व्यवसाय चलाइरहेका छौं। तर सरकारले हाम्रो प्रयास हेरेको छैन,’ ती व्यवसायले भनेका छन्, ‘यदि विदेशीहरूले आफ्नो देशको खाना नै खान पाएनन् भने उनीहरू जापान आउन छोड्छन् । त्यसको असर अन्तत: जापानलाई नै पर्छ ।’ उनका अनुसार धेरै रेस्टुरेन्ट अब नवीकरण नहुने डरमा छन् ।
एडोगावा इन्डियन एसोसिएसनका अध्यक्ष जगमोहन एस चन्द्रानीले अक्टोबरयता भारतीय र नेपाली व्यवसायीहरूबाट लगातार चिन्ता व्यक्त भइरहेको बताउँछन् । उनका अनुसार शाकाहारी तथा धार्मिक आहारमा निर्भर भारतीय र नेपाली समुदायका लागि स्थानीय व्यवसाय अत्यन्त आवश्यक छन् । ‘यी व्यवसाय हराए समुदाय नै कमजोर हुन्छ,’ उनले भने ।
‘इमानदार व्यवसायी विस्थापित हुने खतरा’
टोकियोस्थित प्रशासनिक कानुन विशेषज्ञ काजुहिको यामादाले तीन करोड येनको मापदण्ड ‘अत्यन्त कठोर’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार जापानी नागरिककै लागि पनि यति ठूलो लगानी सजिलो छैन ।
उनले नयाँ नियम लागू भएपछि विदेशी उद्यमीबाट नयाँ भिसा आवेदनसम्बन्धी परामर्श लगभग बन्द भएको बताए । ‘यति धेरै पूँजी भएका व्यक्तिले जापानभन्दा अमेरिका वा युरोप रोज्न सक्छन्,’ उनले भने ।
नक्कली कम्पनी खोल्नेहरू प्राय: धनी हुने भएकाले उनीहरूले नयाँ नियम सजिलै छल्न सक्छन् । तर साना व्यवसाय चलाएर जापानी समाजमा योगदान दिइरहेका विदेशीहरू भने बाहिरिन बाध्य हुनसक्ने अर्का एक व्यवसायी विशेषज्ञ अत्सुशी कोन्डोले जापानी अनलाइन द असाही शिम्बुनसँग बताएका छन् ।
‘यो व्यवस्थाले मेहनती र इमानदार मानिसहरू विस्थापित हुनेछन्,’ उनले भनेकाछन्, ‘नियम यस्तो हुनुपर्छ जसले गलत प्रयोग रोक्दै वास्तविक व्यवसायीलाई टिक्न मद्दत गरोस् ।’
प्रतिक्रिया 4