+
+
Shares

टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ

‘दैनिक करिब १२ सय फोन आउँछन्, तर सीमित कर्मचारीका कारण सबै फोन उठाउन सम्भव हुँदैन,’ कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले भने ।

मनिषा चम्लागाईँ मनिषा चम्लागाईँ
२०८२ चैत ८ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा रहेका नेपालीले टोकियोस्थित नेपाली दूतावासको सेवा प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।
  • नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले कर्मचारी अभावका कारण सेवा दिन कठिनाइ भइरहेको खुलाएका छन्।
  • जापान श्रम गन्तव्य मुलुक बन्दै गएपनि श्रम मन्त्रालयले श्रम सहचारी पनि पठाएको छैन ।

८ चैत, टोकियो । जापानमा बसोबास गर्ने नेपालीले टोकियोस्थित नेपाली राजदूतावासको सेवा प्रवाह प्रभावकारी नभएको भन्दै लामो समयदेखि गुनासो गर्दै आइरहेका छन् । दूतावाससँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने, जानकारी पाउन कठिन हुने लगायत समस्याबारे पटक–पटक प्रश्न उठ्दै आएको छ ।

सोही क्रममा जापानमा रहेका पत्रकार कैलाश तामाङले टोकियोस्थित नेपाली दूतावासको सेवा प्रवाहबारे सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै दूतावासमा सम्पर्क गर्न खोज्दा फोन नउठ्ने समस्या व्यापक रहेको गुनासो गरे । उनले दूतावासको कार्यालयको फोन मात्र नभई कर्मचारीहरूको फोनसमेत उठ्न छाडेको भन्दै सेवा प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तामाङ फेसबुकमा लेख्छन्, ‘टोकियोस्थित नेपाली दूतावासमा न कार्यालयको फोन उठ्छ, न कर्मचारीको फोन उठ्छ । वर्षमा ५० करोडभन्दा माथि राजस्व नेपाल पठाउँछ भनिन्छ, तर यहाँको प्रणाली नेपाली नागरिकप्रति कति गैरजिम्मेवार छ ।’

तामाङ त एक प्रतिनिधि पात्र मात्र हुन् । जापानमा रहेका नेपालीको सामाजिक सञ्जाल नियाल्ने हो भने यस्ता गुनासा अनगिन्ती भेटिन्छन् ।

पासपोर्ट नवीकरण, कागजी प्रक्रिया, आपतकालीन सहयोग वा अन्य प्रशासनिक सेवाका लागि सम्पर्क गर्न खोज्दा दूतावासको फोन नउठ्ने समस्या रहेको नेपालीहरूले बताउँदै आएका छन् ।

जापानमा नेपालीहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । विद्यार्थी, श्रमिक, व्यवसायी तथा परिवारसहित बसोबास गर्ने नेपालीहरूको संख्या बढे पनि दूतावासको सेवा संरचना भने सोही अनुपातमा विस्तार हुन नसकेको भन्दै आलोचना हुने गरेको छ । विदेशमा रहेका नेपाली नागरिकका लागि दूतावास नै आफ्नो देशको प्रत्यक्ष प्रतिनिधि भएकाले सेवा प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा समुदायको छ ।

पछिल्लो समय नेपालबाट श्रम गर्नकै लागि जापान आउने नेपालीको संख्या बढ्दो छ । जापान श्रम गन्तव्य मुलुक बन्दै गएपनि श्रम सहचारी नहुँदा श्रम स्वीकृति लिएर आउने नेपालीलाई रेखदेख गर्ने कर्मचारी भने श्रम मन्त्रालयले पठाएको छैन ।

तीन जना कर्मचारीले तीन लाखलाई सेवा दिनुपर्ने अवस्था

जापानमा नेपालीको संख्या तीव्र रूपमा बढिरहेको भए पनि राजदूतावासमा आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती देखिएको जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलको भनाइ छ । उनले कर्मचारी अभावका कारण सेवा दिन कठिनाइ भइरहेको बताए ।

उनका अनुसार जापानमा सन् १९६५ मा नेपाली राजदूतावास स्थापना हुँदा यहाँ एक हजारजना पनि नेपाली थिएनन् । तर अहिले नेपालीको संख्या बढेर तीन लाखभन्दा बढी पुगेको छ । ‘नेपालीको संख्या अत्यधिक बढेको छ तर राजदूतावासमा कूटनीतिक कर्मचारीको संख्या भने बढेको छैन,’ उनले भने ।

राजदूतावासमा अहिले पनि तीनजना मात्र कूटनीतिक कर्मचारी रहेको उनले बताए । ‘पहिले पाँच–सय जनाका लागि स्थापना गरिएको संरचनाले अहिले तीन लाखभन्दा बढी नेपालीलाई सेवा दिनुपरेको अवस्था छ,’ उनले भने ।

उनका अनुसार राजदूतावासमा दैनिक ठूलो संख्यामा फोन आउने गरेको छ । ‘दैनिक करिब १२ सय फोन आउँछन्, तर सीमित कर्मचारीका कारण सबै फोन उठाउन सम्भव हुँदैन,’ उनले भने ।

राजदूतावासले पासपोर्ट, प्रमाणीकरण लगायतका विभिन्न सेवा दिइरहे पनि जनशक्ति अभावका कारण कर्मचारीहरूलाई अतिरिक्त समय काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘कहिलेकाहीँ शनिबार पनि कर्मचारीहरू आएर काम गर्नुपर्ने अवस्था हुन्छ,’ उनले भने ।

यस्तै, जापानमा नेपाली कामदारसँग सम्बन्धित कामका लागि श्रम मन्त्रालयको कर्मचारीसमेत आवश्यक भए पनि अहिलेसम्म त्यस्तो व्यवस्था हुन नसकेको पौडेलको भनाइ छ । पछिल्लो समय नेपालबाट श्रम गर्नकै लागि जापान आउने नेपालीको संख्या बढ्दो छ । जापान श्रम गन्तव्य मुलुक बन्दै गएपनि श्रम सहचारी नहुँदा श्रम स्वीकृति लिएर आउने नेपालीलाई रेखदेख गर्ने कर्मचारी भने श्रम मन्त्रालयले पठाएको छैन । श्रम मन्त्रालयले कर्मचारी पठाएको खण्डमा केही सहज हुने पौडेलको भनाइ छ ।

राजदूतावासको सेवा शुल्कबाट अघिल्लो आर्थिक वर्षमा करिब ५४ करोड रुपैयाँ आम्दानी भएको भए पनि कर्मचारी थप्ने विषयमा सरकारले अझै ठोस निर्णय गर्न नसकेको उनले गुनासो गरे ।

‘सम्भवत: सबैभन्दा धेरै राजस्व संकलन गरेर सरकारलाई बुझाउने दूतावास जापान हो । तर, कर्मचारी अभावका कारण सेवा व्यवस्थापन गर्न समस्या झेल्दै आएका छौं,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?