+
+
Shares

जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ पुष १७ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेज गरेको छ जसले सबै म्यानपावर कम्पनीलाई श्रमिक पठाउन अनुमति दिएको छ।
  • निर्देशिका खारेजसँगै जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) पनि खारेज भएको र सबै म्यानपावर व्यवसायीले कामदार पठाउन पाउने श्रम मन्त्रालयले जनाएको छ।
  • जापानले सन् २०२७ देखि 'इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट' कार्यक्रम ल्याउने तयारी गरेको र नेपालमा हाल टीआईटीपी अन्तर्गत कामदार पठाउने गरिएको छ।

१७ पुस, काठमाडौं । सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।

निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।

निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी) मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक गइरहेको र त्यसका लागि हालको निर्देशिका आवश्यक नरहेकाले खारेज गरिएको प्रवक्ता घिमिरेले बताए ।

जापानले टीआईटीपी समेत खारेज गरेर सन् २०२७ देखि ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रम ल्याउँदै छ । सोही ईएसडी अन्तर्गत कामदार लैजाने तयारी जापानको छ । तर, नेपालमा हालसम्म पनि जिट्को अन्तर्गत टीआईटीपी मार्फत नै कामदार पठाउने गरिएको छ ।

निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायी मार्फत कामदार पठाउन पाउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका थिए । सोही अनुसार निर्देशिका खारेज गरेर अब सबै म्यानपावर व्यवसायीले सहज कामदार पठाउन पाउने मन्त्रालयले जनाएको छ ।

यसअघि निर्देशिका अनुसार जापानमा कामदार पठाउने म्यानपावरका लागि छुट्टै सूचीकरण हुने गरेको थियो । उनीहरूको नवीकरण समेत वैदेशिक रोजगार विभागमा छुट्टै तरिकाले हुने गरेको थियो ।

अन्य म्यानपावर व्यवसायीको आर्थिक वर्ष सकिए लगत्तै नवीकरण गरिएको थियो । तर, जापानमा कामदार पठाउने म्यानपावर व्यवसायीहरूको भने हालसम्म हुन सकेको थिएन । जसले गर्दा म्यानपावर व्यवसायी निर्देशिका खारेजीको लबिङमा थिए ।

जापान कामदार पठाउने विषयमा निश्चित म्यानपावरको सिन्डिकेट जस्तै थियो । त्यस्तै उनीहरूलाई जिट्को अन्तर्गत लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्थ्यो । त्यसरी कामदार पठाउने श्रमिकको ‘नेपाल जाइका अल्मुनाई एसोसिएसन’ (जान) मार्फत भाषा परीक्षा लिने गरिएको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघ सचिव कुन्छादोर्जे डिम्दोङले जापानले सन् २०१७ मै खारेज गरेको जिट्को मार्फत नै नेपालबाट श्रमिक पठाउने गरिएको बताए । जिट्को खारेज गरेर टीआईटीपी लागु गरी त्यो पनि २०२७ देखि खारेज हुन लागेको तर नेपालमा भने हालसम्म जिट्को मार्फत श्रमिक पठाउने झन्झटिलो प्रक्रिया रहेको उनको भनाइ छ ।

निर्देशिका खारेज भएसँगै सबै व्यवसायीले श्रमिक पठाउन पाउने डिम्दोङको भनाइ छ । निर्देशिका खारेज गरी इजाजतपत्रवाला सम्पूर्ण व्यवसायीले कामदार पठाउन पाउने वातावरण बनाउनुपर्ने माग आफूहरूले राख्दै आएको र अहिले सुनुवाइ भएको उनले बताए ।

विगतमा ४ सय ८२ म्यानपावर कम्पनी जिट्कोमा सूचीकरण भए पनि जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीले लाइसेन्स नै नवीकरण गर्न छाडेका थिए ।

निर्देशिका खारेजीका लागि श्रम मन्त्रालयले कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्को ११ पुसमा बसेको बैठकले उक्त निर्देशिका खारेज गर्ने निर्णय गरेको थियो । खारेजी निर्णयसँगै जिट्को मार्फत जाने श्रमिकलाई लिइने परीक्षाको प्रावधान हटेको श्रम मन्त्रालयले जनाएको छ ।

जापानले विभिन्न माध्यमबाट अभ्यासार्थी तथा दक्ष कामदार लैजाने गरेको छ । जापानी भाषा परीक्षा पास गरेर अभ्यासार्थी कामदार जाने गरेका छन् ।

हाल जिट्को मार्फत जाने अभ्यासार्थी कामदारलाई वैदेशिक रोजगार विभागमा सूचीकृत भएका म्यानपावर कम्पनीले पठाउने गरेका थिए । जापानलाई आवश्यक नै नभएको भाषा परीक्षाका नाममा श्रमिकलाई अनेक दु:ख दिने काम गरिँदै आएको थियो ।

त्यसबाहेक जापानमा व्यक्तिगत श्रम स्वीकृति मार्फत निश्चित सिपयुक्त कामदार (एसएसडब्लू) जाने गरेका छन् । त्यसका लागि केही दिन अगाडि मात्रै जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको थियो ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?