News Summary
Generated by OK AI. Editorially reviewed.- जापान जाने नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर अत्यधिक ठगीमा पर्ने गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ।
- दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरी व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने सिफारिस गरेको छ।
- वैदेशिक रोजगार विभागले अनुमति नभएका कन्सल्टेन्सीले चर्को शुल्क लिने र झुटा आश्वासन दिने विषयमा सचेत रहन आग्रह गरेको छ।
९ माघ, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली कामदार अत्यधिक ठगीमा पर्ने गरेको पाइएको छ ।
ब्याचलर, कुक तथा सिपयुक्त कामदार लगायत भिसामा व्यक्तिगत श्रम स्वीकृति लिई जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेको पाइएको हो ।
उनीहरूबाट चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी टोकियोस्थित नेपाली दूतावासमा आउने गरेको छ ।
दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गर्दै जापानमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदार अत्यधिक ठगीमा पर्ने गरेको जानकारी गराएको हो । दूतावासले व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने विषयमा विभागलाई पत्राचार गरेको थियो ।
उक्त पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने अत्यधिक ठगीमा पर्ने गरेको उल्लेख छ । विभागले समेत सचेत रहन आग्रह गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन् ।
विभिन्न प्रकारका भिसा तथा रोजगारी सम्बन्धी कागजात बनाइ व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको गुनासो दूतावास र विभागमा पर्ने गरेका छन् ।
वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानुन विपरीत कार्य नगर्न विभागले सचेत गराएको छ । सार्वजनिक सूचना जारी गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने श्रमिकलाई सचेत रहन आग्रह गरेको हो ।
जापान जानेले आफूलाई प्राप्त भएको भिसा प्रकार, सीईओ, करार सम्झौता, रोजगारदाता कम्पनी तथा संस्था सम्बन्धमा आधिकारिक जानकारी प्राप्त गरी श्रम स्वीकृतिका लागि आवेदन गर्न अनुरोध गरेको छ ।
कसैले त्यसरी झुटा आश्वासन दिएर जापानमा वैदेशिक रोजगारीमा पठाइदिने भनी चर्को शुल्क असुल गरे प्रमाण सहित उजुरी गर्न समेत अनुरोध गरेको छ ।
पछिल्लो समयमा ट्रान्स्पोर्ट ड्राइभर क्यान्डिडेट भिसामा व्यक्तिगत श्रम स्वीकृतिका लागि निवेदन पेस हुने गरेको विभागले जनाएको छ । उक्त भिसाको प्रकृति जापानमा ड्राइभिङ लाइसेन्स परीक्षा दिनुपर्ने र परीक्षा पास गरेको अवस्थामा स्वयंले नै रोजगारी तथा रोजगारदाता खोज्नुपर्ने हुन्छ ।
उक्त भिसाबाट जापानको सुनिश्चतता नहुने भएकाले त्यस्तो भिसामा श्रम स्वीकृति जारी नगरिने समेत विभागले जनाएको छ ।
प्रतिक्रिया 4