१० फागुन, नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जका अधिकांश शहरी क्षेत्र समेटिएको बाँके क्षेत्र नम्बर २ को निर्वाचन परिमाण सधैं अनिश्चित र रोचक हुन्छ ।
प्रधानमन्त्रीसमेत रहिसकेका नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाले ३ पटक जितेको २ पटक हारेको यही निर्वाचन क्षेत्रबाट हो ।
२०४८ सालपछि भएका आम निर्वाचनहरूमा यो क्षेत्रबाट लगातार दुई पटक कुनै पनि उम्मेदवारले जित निकाल्न सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा. जर्नादन आचार्यका अनुसार, बाँके-२ मा विकास निर्माणका ठूला र महत्वकांक्षी योजनाभन्दा पनि उम्मेदवार हिन्दू, मुस्लिम, पहाडी वा मधेशी को छ भन्नेमा धेरैको चासो हुन्छ ।
यो क्षेत्रमा धर्म र भाषालाई आधार मत दिने उम्मेदवारर छनोट गर्ने अस्थिर मतदाता करिब १५ देखि १८ प्रतिशत रहेको अनुमान डा. आर्चायको छ ।
त्यसैगरी बाँके-२ को शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमध्ये करिब २० प्रतिशत गरिबीको रेखामुनि छन् ।
२०४८ देखि हालसम्म भएका आमनिर्वाचनलाई नजिकबाट नियाल्दै आएका प्रा.डा. आचार्यका अनुसार बाँके-२ का करिब एक चौथाइ अर्थात् २५ प्रतिशत मतदाताले मतदान हुनुभन्दा अघिल्लो दिन मात्रै कुन उम्मेदवारलाई भोट दिने भनेर निर्णय गर्छन् । जसका कारण यो क्षेत्रको निर्वाचन परिमाण सधैं अनिश्चित र रोचक हुन्छ ।
२०४८ सालमा बाँके जिल्लामा कांग्रेसको संगठन र प्रजातान्त्रिक आन्दोलनको विरासत प्रभावशाली थियो । बहुदलीय व्यवस्थापछिको पहिलो आमनिर्वाचनमा सुशील कोइरालाले अत्यधिक मतका साथ जिते ।
तर, त्यसको तीन वर्षपछि २०५१ सालको मध्यावधि निर्वाचनमा राजनीतिक माहोल एकाएक फेरियो । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री कोइराला आफ्नै निर्वाचन क्षेत्रमा राप्रपाका लो प्रोफाइल उम्मेदवार शान्ति शमशेर राणासँग पराजित भए ।
२०५६ सालको निर्वाचनमा अस्थिर मत पुनः कांग्रेसमै फर्कियो । र, दोस्रो पटक सुशील कोइरालाले चुनाव जिते ।
२०६४ सालको निर्वाचनमा मतदाताले मधेश आन्दोलनबाट उदाएको मधेशी जनअधिकार फोरमका उम्मेदवार सर्बदेव ओझालाई रोजे । सुशील कोइराला आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए ।
२०७० मा बाँकेका तिनै अस्थिर मतदाताले त्यही क्षेत्रबाट तेस्रो पटक सुशील कोइरालालाई मत दिए । चुनाव जितेपछि कोइराला प्रधानमन्त्री बने ।
२०७४ को आमनिर्वाचनमा सुशील कोइराल लड्दै आएको क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार नउठाई राप्रपाका ओमप्रकाश आजादलाई सर्मथन गर्यो । तर अस्थिर मतदाताले त्यही क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इस्तियाक राईलाई ठूलो मतान्तरले निर्वाचित गरे ।
२०७९ मा त्यही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका इस्तियाक राई पराजित भए । एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले ठूलो मतान्तरले जिते ।
धवलको जितमा हिन्दू- मुस्लिम फ्याक्टर निर्णायक बन्यो । कतिपय विश्लेषकहरूले त त्यतिबेला धवलले जितेकोभन्दा पनि इस्तियाकलाई हराइएको भनेर टिप्पणी गरेका थिए ।
२१ फागुनमा हुने निर्वाचनमा राई हारको बदला लिने तयारीका साथ एमालेको समर्थनमा सूर्य चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् । त्यही क्षेत्रका राप्रपा नेता राणा यो निर्वाचनमा उम्मेदवार नै छैनन् । तर राईलाई यो चुनावमा सुशील कोइरालाका भतिज सुधान्शु कोइराला र रास्वपाका उम्मेदवार विवेक श्रेष्ठ ले चुनौती दिएका छन् ।
प्रा.डा. आचार्यका अनुसार अस्थिर मतदाताको सबैभन्दा ठूलो विशेषता मौनता हो । ती मतदाताहरूको रुझान मतदान हुनुभन्दा अघिल्लो दिन मात्रै सतहमा आउँछ ।
पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा बाँके–२ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, एमाले र रास्वपाबीच नै हुने देखिन्छ । विश्लेषक आचार्यका अनुसार कोइराला परिवारका सदस्य मृदुभाषी युवा उम्मेदवार सुधान्शुलाई कांग्रेसको संगठन, ऐतिहासिक विरासत र स्थानीय तहसम्मको पहुँचले बलियो साथ दिएको छ ।
एमाले उम्मेदवार राईको व्यक्तिगत प्रभाव, सामाजिक सम्बन्ध र स्थानीय स्तरमा विकासप्रेमी नेताको रूपमा स्थापित छविले मतदातालाई उनीतर्फ आकर्षित गर्नसक्ने देखिन्छ ।
देशव्यापी रूपमा चलेको लहरका साथै युवा उम्मेदवार भएका कारण रास्वपाका विवेकका पक्षमा पनि शहरी क्षेत्रका मतदाताको आकर्षण देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २२ वटा वडा र डुडुवा गाउँपालिकाका ६ वटा बडा रहेको बाँकेको क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २९० मतदाता छन् । यो क्षेत्रमा पहाडी, मधेशी र मुस्लिम समुदायको बसोबास छ ।
मुलुक संघीय संरचनामा गएपछि राजनीतिक दृष्टिले पछाडि परेको भए पनि नेपालगञ्ज भौगोलिक दृष्टिले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका जिल्लाहरूको केन्द्रमा पर्छ ।
पश्चिम नेपालको केन्द्रमा भएका कारण नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य क्षेत्र रहेको बाँके-२ को निर्वाचले समग्र पश्चिम क्षेत्रमा एउटा सन्देश दिन सक्छ ।
नेपालगञ्ज बहुभाषा, बहुसंस्कृति र बहुसमुदायको बसोबास भएको नेपालकै प्रमुख शहर हो । यहाँका मतदाताको रुझानले पहाडी, मधेशी र मुस्लिम समुदायको चासोलाई समेत प्रतिनिधित्व गर्छ ।
हरेक चुनावपछि परिवर्तनको आशा राखे पनि नेपालगञ्जले शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका क्षेत्रमा खासै फड्को मार्न सकेको छैन । गरिबी र बेरोजगारीको अवस्थामा खासै सुधार भएको छैन ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट २० जना उम्मेदवार छन् । यसपालि मैदानमा रहेका प्रमुख पार्टीका उम्मेदवारहरूमा गजबको समानता छ । त्यो भनेको अधिकांश उम्मेदवार युवा र नयाँ छन् ।
राप्रपाबाट युवा नेता ऋषिराज देवकोटा र जनता समाजवादी पार्टीबाट नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पद छाडेर उम्मेदवार बनेका कमरुद्दिन राई र नेकपाबाट युवा नेता दिपेन्द्र विष्ट मैदानमा छन् ।
बाँके-२ मा धर्मका आधारमा समेत मतदाताको ध्रुवीकरण हुने गरेको देखिन्छ । विश्व हिन्दू महासंघलगायत हिन्दूवादी संघ-संगठन वा मुस्लिम संघ-संगठनका नाममा धार्मिक मत केन्द्रित हुने क्रम बढेको छ ।
यस पटकको चुनावमा प्राय: सबै पार्टीले आफ्ना उम्मेदवारहरूलाई मैदानमा उतारेका कारण यस पटकको प्रतिस्पर्धा विगतभन्दा फरक र रोचक बनेको छ ।
प्रतिक्रिया 4