श्रीअन्तुको माटोमा जन्मे हुर्केका ३४ वर्षे निस्कल राईलाई कांग्रेसले इलाम क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका निस्कल खासमा शंकरदेव क्याम्पस पढ्दै थिए । नेविसंघको राजनीतिमा सक्रिय थिए ।
सात वर्षअघि आमा बितेपछि वृद्ध पिताजीको सहारा बन्न गाउँ फर्केका निस्कललाई जिल्लाको राजनीतिको रस बस्दै थयो । विद्यार्थी राजनीति छाडेर उनी सिधै मूलधारको राजनीतिमा होमिए ।
कांग्रेसको कोशी प्रदेशका गतिविधिमा सक्रिय हुँदैगर्दा उनलाई विभिनन राष्ट्रिय अन्तर्राष्ट्रिय प्लाटफर्ममा सहभागी हुने मौका जुर्यो । कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयका कार्यक्रम निर्देशक भएर नीति निर्माणमा भूमिका खेलेको अनुभव छ, निस्कलसँग ।

अक्सर वृद्ध वा प्रौढहरूलाई टिकट बाँड्दै आएका कांग्रेसमा जब विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिए, निस्कलका लागि युवा हस्तक्षेपको मौका मिल्यो । जिल्लाका थुप्रै अग्रज आकांक्षीबीच निस्कल यति बेला कांग्रेसको विचार लिएर मतदातासामू पुगिरहेका छन् ।
एमालेका काजीमान कागते, नेकपाका रणबहादुर राईजस्ता खारिएका अनुभवी स्थानीय जनप्रतिनिधि यसपल्ट संघीय उम्मेदवार बनेर आएका छन् । निस्कललाई उनीहरूका बीचमा आफूलाई प्रमाणित गर्नुपर्ने दबाब छ ।
यसका लागि उनले कृषि, पर्यटन, व्यवसायलाई केन्द्रित गरेका योजनाहरू अघि सारेका छन् । अनलाइनखबरसँगको यो वार्तामा निस्कलले साझा गरेका योजनाबारे व्याख्या पनि दिएका छन् ।
‘भूगोलको उम्मेदवार हुनुपर्ने, युवा हुनुपर्ने जुन माग थियो, त्यसलाई पार्टीले सम्बोधन गरेको छ । जेनजीको भावना अनुसार अबको नेतृत्व अघि बढ्छ, मेरो उम्मेदवारी त्यसैको एक दृष्टान्त हो,’ निस्कल भन्छन्, ‘इलाम पहिलेदेखि नै पौरखी र परिश्रमी सीपहरूले भरिएको जिल्ला हो, यसलाई मैले अझै राम्रोसँग इलम गर्न सकिने जिल्लाको रुपमा विकास गर्छु । क्षेत्र १ मा मेरो यसैलाई केन्द्रित गर्ने प्राथमिकता हुन्छ ।’
तस्वीर-भिडियो : कमल प्रसाईं/अनलाइनखबर

प्रतिक्रिया 4