११ कात्तिक, काठमाडौं । अरबसागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा/हिमपात बुधबारदेखि रोकिने र विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुन: मौसम खराब हुने मौसमविद्ले जनाएका छन् ।
यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्को भनाइ छ ।
अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादल लागेर धुम्म भएको छ ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने छ । ‘काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने,’ उपाध्यायले फेसबुकमा लेखेका छन् । उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा नै रहने पूर्वानुमान छ ।
तर हाल बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले विहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ ।

‘मोन्था नामक चक्रवात आँधि १३ गते (बिहीबार) साँझ सोझै पर्सा, बारा, रौतहट, सर्लाहीको बाटो हुँदै नेपाल प्रवेश गर्ने देखिन्छ जसले तराईका यी जिल्लाहरु सहित बाग्मतीमा पनि धेरै वर्षा गराउने छ,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘उत्तरमा त्रिशूली र दक्षिणमा नारायणी नदीको पूर्व भाग विहीबारको प्रणालीको इपिसेन्टर हो ।’
यो प्रणाली पर्सा र सर्लाहीको बीच भागबाट नेपाल प्रवेश गर्ने र त्यसको बाटोमा पर्ने भागमा ठूलो पानी पार्ने पूर्वानुमान उनले गरे । ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुने उनको प्रक्षेपण छ ।
यो प्रणाली ठूलो भएकाले त्रिशूली नदीदेखि कर्णाली नदीसम्मको क्षेत्रमा मध्यम असर र कर्णालीदेखि पश्चिमतिर न्यून असर पर्ने पूर्वानुमान छ ।
यी जिल्ला छन् जोखिममा, पदयात्रा स्थगित गर्न सुझाव
यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ ।
उपाध्यायले भने, ‘यीमध्ये कुनै–कुनै जिल्लामा त दुई सय मिलिमिटरसम्म वर्षा हुनसक्छ ।’
गत असोजमा आएको बाढीपहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । वर्षा र पहिरोले पहिल्यै जमिन कमजोर भएकाले सानो पानीले पनि फेरि पहिरो जानसक्ने सम्भावना भएकाले इलामसहितका जिल्लामा उच्च सतर्कता र पूर्वतयारी आवश्यक रहेको मौसमविदहरु बताउँछन् ।
बीपी, पृथ्वी र काठमाडौं-हेटौंडा सडकमा पनि जोखिम
रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुने सुझाव पनि मौसमविदले दिएका छन् ।
पहिरो गइरहने राजमार्ग क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविदको छ । विहीबार मध्याह्नदेखि बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुने उपाध्यायको सुझाव छ ।
‘काठमाडौं उपत्यका र वरपर ७० देखि ८० मिलिमिटरसम्म वर्षाको सम्भावना छ, यसले पहिरो गइरहने राजमार्ग क्षेत्रमा समस्या पार्न सक्छ,’ उनले भने ।
मौसमविद उपाध्यायका अनुसार काठमाडौं उपत्यकाको उच्च भेगमा हिउँ पर्ने सम्भावना भने छैन । ‘कात्तिक महिनाको यो प्रणालीले काठमाडौंका अग्ला डाँडामा हिउँ पार्दैन,’ मौसमविद उपाध्यायले भने ।
प्रतिक्रिया 4