२२ वैशाख, इलाम । घरदेखि पैदल १५ मिनेटको दूरीमा रहेको गाईगोठमा दीपेश मोदी र उनकी पत्नी सुशिला अधिकारी सधैंझैँ आइतबार बिहान पुगेका थिए । रगतले लत्पतिएको विभत्स अवस्थामा काली गाई लडिरहेको देखेर मोदी दम्पती स्तब्ध भए ।
गोठमा बाँधिएका अन्य ३ गाई र २ वटा बाछाबाछीलाई छोडेर काली गाईको घाँटीका पाँच स्थानमा धारिलो हतियार प्रहार भएको थियो टाउकोमा पनि गहिरो घाउ थियो ।
दीपेशले घरपरिवार र छरछिमेकीलाई खबर गरे । गौहत्या भएको खबरले सूर्योदय नगरपालिका–१, गोर्खे बजार नै स्तब्ध बन्यो । वडा प्रतिनिधि, पालिका र प्रहरीलाई तत्काल खबर गरियो ।
परम्परागत रूपमा गाईपालन गर्दै आएका मोदी परिवारले गाई मृत्युको जुठो बारिरहेका छन् । १३ औं दिनमा सुध्याइँ कार्य गर्ने तयारी गरिएको छ ।
गत वर्ष मात्र सो गाई ७५ हजार रुपैयाँमा खरिद गरेको दीपेशले बताए । साउन महिनामा ब्याउने गाईलाई निर्ममतापूर्वक हत्या गरिएको भन्दै दीपेशले भने, ‘गर्भवती गाईको हत्या गरिएको छ, यो जघन्य अपराधलाई राज्यले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरोस् ।’
आफूलाई हत्याको सन्दर्भमा कसैमाथि पनि शंका नरहेको सुशिला अधिकारीले बताइन् । उनले भनिन्, ‘हत्याको शंका कसैमाथि पनि छैन, तर हत्यारालाई प्रहरीले चाँडोभन्दा चाँडो खोजी गरोस् । हाम्रोमा जस्तो घटना अरूकोमा नदोहोरियोस् ।’
पशु चिकित्सकसहित घटनास्थलमा पुगेर पोस्टमार्टम गरी गाईको सद्गत गरिएको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त कार्यालय प्रमुख जीवनकुमार कार्कीले बताए । गौहत्याको अनुसन्धान तथा अभियुक्त खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
इलामका जिल्ला प्रहरी प्रमुख एसपी कुलदीप चन्दले घटनाबारे सघन अनुसन्धान भइरहेको बताए । उनले भने, ‘गौहत्या अपराध हो । गर्भवती गाईको क्रूरतापूर्वक हत्या भएको छ । अनुसन्धानमा प्रहरीले कुनै पनि कसर बाँकी राख्दैन ।’
सामाजिक सञ्जालमा यतिबेला हत्याको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गाईको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार मनोज अधिकारी फेसबुकमा लेख्छन्, ‘गौहत्यालाई सामान्य रूपमा नलिऔँ, दोषीमाथि तत्काल कारबाही होस् ।’
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता झलनाथ घिमिरे लेख्छन्, ‘आमाको हत्या कदापि स्वीकार्य छैन, गौहत्याको निष्पक्ष छानबिन र कारबाही होस् ।’
प्रतिक्रिया 4