+
+
Shares

चियाबारीको काखमा साहित्यको उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाम नगरपालिकाले आयोजना गरेको पाँचौँ इलाम साहित्य महोत्सव आगामी शुक्रबार र शनिबार इलाममा \'पर्यटनका लागि साहित्य\' नारासहित हुँदैछ।

आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का–झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासी सुस्मित उठेको झैँ
हरियोभरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो

भूपि शेरचनका यी कालजयी हरफहरूले वर्णन गरेझैँ इलामको सुगन्ध साहित्यमार्फत देश विदेशमा फैलाउन ’इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ।

आगामी शुक्रबार र शनिबार ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा महोत्सवको पाँचौँ संस्करण हुन लागेको हो ।

इलाम नगरपालिकाले गठन गरेको नगर साहित्य कला संगीत प्रतिष्ठानले पाँचौ पटक आयोजना गरेको कार्यक्रममा देश विदेशबाट वक्ता, सहजकर्ता र श्रोताको बाक्लो उपस्थिति हुने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

इलामको प्राकृतिक सौन्दर्य, चिया र सूर्योदयको विशिष्ट पहिचानलाई वाङ्मयका माध्यमबाट विश्वस्तरमा प्रवर्धन गर्ने उद्देश्यले यस पटकको मेलालाई थप परिष्कृत बनाइएको थाम्सुहाङले बताए ।

महोत्सवको आकर्षण : विमोचनदेखि विमर्शसम्म

महोत्सवको पहिलो दिन प्रभातफेरीबाट सुरु भई उद्‍घाटन सत्रमा रूपान्तरण हुनेछ । यसमा सगरमाथा आरोही जुनीता सुब्बाको कविता संग्रह विमोचनसँगै विभिन्न सम्मान र पुरस्कार वितरणको कार्यक्रम तय गरिएको छ । यस वर्षको ‘हाङयुग–जुनीत पुरस्कार’ कवि सुन्दर कुरूपलाई प्रदान गरिँदै छ । उद्‍घाटन सत्रको मुख्य आकर्षणका रूपमा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले ‘मुन्धुम र पर्यावरण सङ्कट’ विषयमा विशेष सम्भाषण दिनेछन् ।

साहित्य, इतिहास, पर्यटन र समसामयिक विषयलाई समेट्दै महोत्सवको पहिलो दिन विविध बहस र कार्यक्रमहरू आयोजना हुनेछन् । ‘कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकमा विनोदविक्रम केसी, रमेशचन्द्र अधिकारी, समदर्शी काइला र रिमा केसीबीच छलफल हुनेछ । यस कार्यक्रमको सहजीकरण बालिका थपलियाले गर्नेछिन् ।

‘पर्यटनको वैभव : समृद्धिको आधार’ विषयमा सुशिला सापकोटा, निरज कट्टेल र अमिर राईसँग अनलाइनखबरकर्मी गिरिराज बाँस्कोटाले संवाद गर्नेछन्।

त्यस्तै ‘जराको कुरा : हाम्रो इतिहास चर्चा’ मा मोहन मैनाली र युद्ध वैद्यसँग सुजित मैनालीले इतिहासका गम्भीर पक्षहरूमा बहस गर्नेछन् । ‘आख्यान र उपआख्यान’ सत्रमा केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने र श्याम सिंघकबीच छलफल हुनेछ । यसको सहजीकरण शैलेन्द्र अधिकारीले गर्नेछन्।

पहिलो दिनको साँझलाई गजलमय बनाउन विशेष ‘गजल साँझ’ को आयोजना गरिएको छ । योगनीधि भट्टराई, जिआर न्यौपाने, पवित्रा प्रयत्न, भुइँ मान्छे, लोकेन खतिवडा, सागर बगर, सिन्धु निरौला र महेन्द्र विरहीले चोटिला शेरहरू प्रस्तुत गर्नेछन् । सोही रात चर्चित गायक पुष्पन प्रधानको सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई थप सांगितिक मनोरञ्जन प्रदान गर्नेछ ।

दोस्रो दिन डिजिटल मिडिया र सीमावर्ती साहित्यका विषयमा केन्द्रित रहनेछ । कार्यक्रममा अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतको ‘डिजिटल मासुभात र हामी पत्रकार’ शीर्षकको प्रस्तुति दिनेछन् ।

‘शिक्षा विधेयकको सकस’ विषयमा डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम, टंक गौतमको सहभागीतामा सटेन्द्र जवेगुले सहजीकरण गर्नेछन् भने ‘सीमावर्ती साहित्य’ मा विनिता क्षत्री, कृष्ण बराल र डा. ज्ञानेन्द्र याक्सोसँग डा. हेम भण्डारीले छलफल गर्नेछन् ।

‘कथा : हिमालवारि, हिमालपारि’ सत्रमा सुधीर शर्मा र दीपक सापकोटालगायतको विमर्श रहनेछ । इलामको विकाससम्बन्धी सत्रमा निश्कल राईले ‘सुन्तला र हरित अर्थतन्त्र’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कविता कन्सर्ट र प्रदर्शनी

महोत्सवको समापन सत्रलाई ’कविता कन्सर्ट’ ले विशेष बनाउनेछ, जहाँ देशका विभिन्न कुनाबाट आएका झन्डै तीन दर्जन कविहरूले आफ्ना सिर्जना वाचन गर्नेछन् ।

यस सत्रमा निम्न कविहरूको कविता सुन्न पाइने छ:

विमल वैद्य, गंगा पुर्वाछाने, विनोदविक्रम केसी, देब्रत, गजेन्द्र राई, रुद्र प्रभात, प्रदीप मेन्याङ्बो, विवश वलिभद्र कोईराला, टिक घिमिरे, प्रतिभा पौडेल, कविता राई गाउँले, जमा राई, सिर्जना याता, राजकुमार सुब्बा अनिश्चित, चन्द्र सम्बाहाफे, विराट किराँती, दिपेन्द्र आचार्य, शिव अधिकारी, जयनारायण भटराई, सुमन ल्यागुन, युविर चेम्जोङ, सोम निरौला, जवनहरी शर्मा, तुलसी भटराई, मेघनाथ बन्धु

साहित्यिक बहसका अतिरिक्त महोत्सव स्थलमा फोटो, चित्रकला र पुस्तकको प्रदर्शनीले इलामको सांस्कृतिक र प्राज्ञिक गरिमालाई झल्काउनेछ ।

यस अभियानमा हाङयुग जुनीता फाउन्डेसन र इलाम साहित्य समाजले सह आयोजकको भूमिका निर्वाह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, रेड पाण्डा नेटवर्क र बुद्ध एयर लगायतका संस्थाहरूको सहकार्य रहेको छ ।

इलाम साहित्य महोत्सवले नेपालको पर्यटन र साहित्यलाई जोड्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?