२२ वैशाख, सिरहा । गोलबजार नगरपालिका ६ को वडा कार्यालयले अव आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यस वडाले अब आफ्नै भवनबाट विधिवदरुपमा सेवा प्रवाह गर्ने भएको हो ।
नगरपालिकाको ५० लाख लागतमा निर्माण भएको वडा कार्यालय भवनको आज नगर प्रमुख श्याम कुमार श्रेष्ठ र वडा अध्यक्ष सञ्जित लामाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्नै भवन भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको बताए। उनले भने, पहिले आफ्नै भवन नहुँदा नागरिकलाई सेवा लिन असहज थियो, अब सेवा-सुविधासहितको भवन बनेपछि सहज रूपमा सेवा प्रदान गर्न सकिन्छ ।
साथै उनले भवनका लागि जग्गा उपलब्ध गराउने दाताहरूलाई धन्यवाद व्यक्त गरे।वडा नम्बर–६ का अध्यक्ष संजित लामाले पनि आफ्नै भवन नहुँदा भोग्नुपरेका समस्या स्मरण गर्दै अब सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे ।
आर्थिक वर्ष २०८१/८२ मा नगरस्तरीय बजेटबाट २५ लाख र आर्थिक वर्ष २०८२/८३ मा थप २५ लाख गरी कुल ५० लाख रुपैयाँ विनियोजन गरेर दुई चरणमा भवन निर्माण सम्पन्न गरिएको हो ।
पहिलो चरणमा छत तथा टायलिङको काम गरिएको थियो भने दोस्रो चरणमा रङरोगन, झ्याल–ढोका, प्लास्टर तथा शौचालय निर्माण गरिएको नगरपालिकाले जनाएको छ।भवन तीन कोठे रहेको छ, जसमा एउटा बैठक कक्ष, दुई कार्यकक्ष तथा तीन वटा शौचालय रहेका छन् । साथै, भवन अपाङ्गमैत्री बनाइएको नगरपालिकाका इन्जिनियर जय गणेश सिंहले जानकारी दिए ।
भवन निर्माणका लागि २ कठ्ठा ५ धुर जग्गा मिनकुमार तामाङ र अमरकुमार तामाङले उपलब्ध गराएका हुन् ।
प्रतिक्रिया 4