News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडी र अरब सागरमा बनेका दुई न्यूनचापीय प्रणालीको प्रभावले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा हुने सम्भावना छ।
- अरब सागरको प्रणालीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिम भागमा मंगलबारदेखि बुधबारसम्म वर्षा गराउनेछ भने बंगालको प्रणालीले विहीबारदेखि शनिबारसम्म मधेश र कोशी प्रदेशमा वर्षा गराउनेछ।
- यी प्रणालीले पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा हुने र पहिरो जोखिम बढ्ने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपात हुनेछ र प्रदूषणमा कमी आउनेछ।
१० कात्तिक, काठमाडौं । बंगालको खाडी र अरब सागरमा बनेका दुईवटा न्यूनचापीय प्रणालीको प्रभावले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा हुने सम्भावना छ । यसले गत असोजमा पहिरोले क्षतविक्षत भएको कोशी प्रदेशका इलाम लगायतका जिल्लामा बढी असर पर्न सक्ने र धान बालीमा पनि क्षति पुर्याउन सक्ने आशंका छ ।
तर यी मौसमी प्रणालीका सकारात्मक पक्षहरू पनि छन् । ‘यसले आगामी दिनहरूमा हिमाली भेगमा हिमपात हुनेछ र पोहोरजस्तो काला हिमाल देख्नुपर्ने छैन,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, ‘यो प्रणालीले खेतिपातिमा सहयोग पुग्ने र प्रदूषणको मात्रा पनि केही हदसम्म घटाउने छ ।’
यसै सन्दर्भमा मौसमविद सिग्देलसँग बिनोद घिमिरेले गरेको कुराकानीः
नेपालमा पनि असर पर्ने भनिएको मौसमी प्रणाली कस्तो खालको हो ?
अहिले नेपाललाई मुख्यतया दुईवटा मौसमी प्रणालीले प्रभाव पार्दैछन् । एउटा बंगालको खाडीमा विकसित भइरहेको छ, जसलाई ‘मोन्था साइक्लोन’ नाम दिइएको छ । त्यो अहिले भारतको ओडिसा–विशाखापट्नम वरिपरि करिब–करिब तटीय क्षेत्रमा आउन लागेको छ । अर्को प्रणाली अरब सागरमा विकसित भएर भारतको गुजरात साइडतिर प्रवेश गर्न लागेको छ । यी दुवै प्रणालीको असरले यो हप्ता मौसम अलि अनस्टेबल हुने देखिन्छ ।
यसको असर कहिलेदेखि सुरु हुन्छ ? कहाँ–कहाँ कस्तो असर पर्छ ?
विशेष गरी अरब सागरबाट आउने प्रणालीले मंगलबारबाट नै नेपालमा असर पर्ने देखिन्छ । यो प्रणालीले विशेषगरी नेपालको पश्चिमी भूभागहरूमा वर्षा गराउने छ । अझ स्पष्ट रूपमा भन्दा सुदूरपश्चिमलाई केन्द्रित भएर लुम्बिनी प्रदेशको पश्चिम भागसम्म प्रभाव देखिने सम्भावना छ । यसको प्रभाव मंगलबार र बुधबारसम्म हुने देखिन्छ ।
त्यसपछि विहीबारबाट फेरि बे अफ बंगालको प्रणालीले असर गर्छ । यो नर्थवेष्ट मुभ गर्ने अनुमान छ । यसको प्रभाव विहीबार बेलुकाबाट शनिबारसम्म हुने देखिन्छ । यसले नेपालको मध्य भागदेखि पूर्वतिर असर गर्ने देखिन्छ । मुख्य गरी मधेश प्रदेश र कोशी प्रदेशमा सक्रिय रूपमा वर्षा गराउँछ ।
त्यसको केही अंश काठमाडौं उपत्यकासहित बागमती प्रदेशका जिल्लाहरूमा पनि देखिनसक्छ । तर यसको फोकस पूर्वी मधेश र कोशी प्रदेशमा हुन्छ ।
यसरी अरब सागर र बे अफ बंगालका दुई प्रणालीले यो साताभरी नै मौसम प्रतिकूल हुने देखिन्छ ।
यी प्रणाली कति शक्तिशाली छन् ?
यसलाई अझै नजिकबाट अनुगमन आवश्यक छ । किनभने यो बल्ल भारतको तटीय क्षेत्रमा आउँदैछ । भारत प्रवेश गरेपछि त्यसको शक्ति कस्तो हुन्छ, कुन दिशामा, कति गतिमा अघि बढ्छ त्यो हेरेर मात्र नेपालमा पर्न सक्ने आंकलनबारे थप भन्न सकिन्छ । आज बिहानसम्मको स्थिति हेर्दा नेपालमा मध्यमदेखि भारी वर्षासम्मको आंकलन गर्न सकिन्छ ।
यसको असरले मध्यमदेखि भारी वर्षा हुने र बाढी–पहिरोको जोखिम बढाउन सक्ने सम्भावना छ । तर स्पष्ट के भन्न सकिन्छ भने पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा वर्षाको तीव्रता बढी हुने देखिन्छ ।
गत असोजमा मात्रै इलाममा बाढी पहिरोले ठूलो क्षति पुर्यो । अहिले फेरि पूर्वी भूभागमै यो प्रणाली केन्द्रित हुँदा झन् जोखिम बढ्यो होइन ?
विगतमा पहिरोले जमिन कमजोर भइसकेको हुनाले मध्यम वर्षाले पनि पहिरो ल्याउन सक्ने सम्भावना रहन्छ । त्यसैले अलि बढी चनाखो हुनुपर्ने छ । सम्भावित क्षति रोक्न, सवारी आवागमन अवरुद्ध हुन नदिन विशेष तयारी अपनाउँदा राम्रो हुन्छ ।
क्षतिको न्यूनीकरणका लागि कस्तो सावधानी अपनाउनुपर्ला ?
पहिरोको जोखिम भएका क्षेत्रहरू पहिले नै पहिचान भइसकेकाले जिल्ला विपद् संयन्त्रहरू चनाखो हुनुपर्छ र विशेषगरी रातिको समयमा मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सचेत गराउनुपर्छ ।
यस प्रणालीका सकारात्मक असर पनि छन् नि ?
अवश्य छ । उत्तरी क्षेत्रमा यस प्रणालीले हिमपात नै गराउनेछ । हिउँ पर्दा हिमाल सेतै टल्किने भएकाले पोहोरजस्तो काला हिमाल देखिने छैन । हिमाल सेताम्य हुँदा पर्यटकहरू आकर्षित हुनेछन् र पर्यटन क्षेत्र लाभान्वित हुनेछ ।
हिमाल हाम्रो जल प्रणालीको महत्वपूर्ण आधार भएकाले त्यसबाट हुने बहुआयामिक खालका फाइदा छन् । हिमाली र पहाडी क्षेत्रका जलस्रोतहरूलाई मद्दत पुग्नेछ । जमिनमा आद्रता कायम रहनाले यसले कृषि बालीलाई समेत फाइदा हुनेछ । अर्को महत्वपूर्ण फाइदा यसले केही हदसम्म प्रदूषण पनि घटाउने छ ।
मनसुन सकिएलगत्तै विकसित भएका यी दुई प्रणाली सामान्य हुन् कि असामान्य ?
यो समय (अक्टोबर) मा समुद्री तापक्रमको प्रभावले चक्रवातहरू आउनु असामान्य होइन, यो एक सामान्य मौसमी प्रक्रिया नै हो ।
प्रतिक्रिया 4