News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा–नेपाल च्याप्टरले जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरेका छन्।
- २ देखि ५ अप्रिलमा सम्पन्न पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रममा नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद र सहकार्य विस्तार भएको छ।
- नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो।
२३ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा–नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।
२ देखि ५ अप्रिलमा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस कार्यक्रम मार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य राखिएको थियो ।
टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सोही अवसरमा पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् ।
प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, जापानी पर्यटक लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो ।
कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो । उनीहरूसँगको अन्तर्क्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा हेरिटेज टुर्स एन्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेस, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एन्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयु ट्रेकिङ लगायत नेपाली पर्यटन व्यावसायिक कम्पनी सहभागी थिए ।
यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा छ ।
प्रतिक्रिया 4